खानेपानी वितरणमा ढिलाई :ठेकेदार र कन्सल्टेन्टको लापरवाही,आयोजनाको डिजाइनमै त्रुटी !


धरान,चैत २० । खानेपानी आयोजनको विवादित पञ्चकञ्या सब–सिस्टमबाहेक अन्य ४ वटा सिस्टमको काम सकेर पानी वितरण गर्न ढिलाई हुनुमा परामर्शदाता(कन्सल्टेन्ट) कम्पनी र ठेकेदारको लापरवाही भएको पाइएको छ ।
आयोजनाको सर्वे, डिजाइन र अनुगमनको लागि करोडौं भुक्तानी पाएको बिल्डिङ डिजाइन अथोरिटी(बिडिए) र ठेकेदार कम्पनी ताञ्जिन–तुदी जेभीको लापरवाहीले गर्दा कुनै विवाद र अवरोध नभएको अन्य ४ वटा सिस्टम सञ्चालन हुन नसकेको हो । परामर्शदार्ताले सर्वे डिजाइन वमोजिमको आवश्यक सामानहरुबारे बिओक्यु(बिल अफ क्वान्टिटी) मा नसमेट्दा पञ्चकन्याबाहेक अन्य सिस्टम सञ्चालन हुन ढिलाई भएको हो । ठेकेदारले पनि बिओक्युमा छुटेको सामान खरीदको स्वीकृती लिन र सम्बन्धित कम्पनीबाट मगाउन ढिलाई गरेको पाइएको छ । यद्यपी, काम ढिलाई हुनुमा भने दुवै पक्षले एकअर्कालाई आरोप प्रत्यारोप गर्ने गरेको छ ।
परामर्शदाताले बिओक्युमा डिजाइनअनुसारको कपलिंक र स्टिल नटबोल्ट छुटाउदा अहिले भुमिगत पानी उत्पादन भएर पनि ती दुवै सिस्टम सञ्चालन हुन नसकेको पाइएको हो । ती सामान बिओक्युमा छुटेकै कारण अहिले भुमिगत पानीलाई पिण्डेश्वर र सुम्निमा सिस्टममार्फत उपभोक्तालाई वितरण गर्न आयोजनाले सकेको छैन । ‘कन्सल्टेन्टको डिजाइनमा छ, तर बिओक्युमा ती सामान छैन । यसैले काम अड्किएको छ,’कन्ट्रयाक्ट मेनेजर अशोक अधिकारीले भने,‘कन्सल्टेन्टले डिजाइन गरेको हो, त्यसैले कुन सामान र कस्तो सामान चाहिने हो भनेर उसले बिओक्युमा राखेको हुनुपर्छ ।’ कन्सल्टेन्टले आयोजनाको लागि चाहिने सामाग्रीहरु बिओक्यु(बिलअफ क्वान्टिटी)मा समेटेको हुन्छ । त्यसैको आधारमा हिसाब गरेर ठेकेदारले टेण्डर हाल्छ, र ठेक्का पाएपछि उसले ती समानहरु मगाउछ । ‘तर, बिओक्युमै नभएपछि त समस्या हुने भैहाल्यो । कन्सल्टेन्टले समयमै हेर्नुपर्ने थियो,’अधिकारीले भने ।
बिओक्युमा छुटेको कपलिंक र स्टिल नटबोल्ट नहुदा बुस्टर पम्प चल्न सकेन । जसले गर्दा जंगलको भुमिगत पानीलाई पिण्डेश्वर र सुम्निमा सबसिस्टमको टंकीसम्म आयोजनाले पुर्याउन सकेन । ठेकेदारले पनि यो सामान बिओक्युमा छुटेको भनेर नोभेम्बरमा मात्र कन्सल्टेन्टलाई जानकारी गरायो । कन्सल्टेन्टले डिसेम्बर १२ मा खरीद गर्ने स्वीकृति दियो । ती सामानहरु पनि कम्पनीमा नयाँ उत्पादन गर्नुपर्ने हुनाले ३ महिना समय लाग्ने ठेकेदारको भनाई थियो । जसअनुसार मार्च १२ भित्र सामान आइसक्नुपर्ने थियो । ‘अहिलेसम्म आएको छैन, ठेकेदारको कारण ढिलाई भएको हो । हामीले त कम्पनीमा मान्छे पठाएर भएपनि लिएर आउनु भनेका थियौं,’बिडिएका टिम लिडर मुरारीलाल चौधरीले भने,‘बिओक्युमा छुटेको भनेर कन्ट्याक्टरले ९ महिना पहिल्यै भेरिएशन हुदा थाह पाउनुपर्ने थियो, तर ४ महिनाअघि मात्र हामीलाई भन्यो ।’
बिओक्युमा ती सामान नछुटेको भए जंगलको बुस्टर पम्प सञ्चालनमा आउथ्यो । त्यहाँबाट ९ लाख लिटर रिजर्ब वेयर भएको पिण्डेश्वर सबसिस्टमको टंकी र संस्थानको सुम्निमा सिस्टमको ३० लाख लिटर क्षमताको टंकीमा पानी पुग्थ्यो । जसले गर्दा अहिले सुख्खा याममा धरानबासीले भोगिरहेको पानी संकटबाट राहत पाउथे । पिण्डेश्वरको टंकीले वडा नं १५ लाख पानी वितरण हुन्थ्यो भने खानेपानी संस्थानले त्यो वडामा वितरण गर्दै आएको पानी अन्यत्र डाइभर्ट गरेर वितरण गर्नसक्थ्यो । यस्तै, सुम्निमा सिस्टमको टंकीले बाँकी वडालाई वितरण गथ्र्यो । ‘आयोजनाको त्यो २ वटा सिस्टम चलेको भए अहिले यतिसारो हाहाकार हुनेथिएन, हामीलाई समस्या भनेकै फागुनदेखि जेठसम्म त हो । त्यसपछि ८ महिना जति त सर्दु खर्दुकै स्रोतले पुग्छ,’संस्थानका प्रमुख रामकुमार श्रेष्ठले भने ।
आयोजनाको विवाद वडा नं १४ लाई वितरण हुने पञ्चकन्या सबसिस्टमको रिजर्ब वेयर निर्माणमा मात्र हो । अन्य सबसिस्टमहरु रेल्वे, पिण्डेश्वर, फुस्रे र सुम्निमाको निर्माण कार्यमा कुनै विवाद र अवरोध थिएन । फुस्रेमा अधिकांश काम सकिएपनि रेपिड स्याण्ड फिल्टर तयार भइसकेको छैन । रेल्वे सब सिस्टम सञ्चालनमा आएपनि अलग्गै सिस्टम भएकोले त्यसबाट नयाँ उपभोक्ताहरु मात्र लाभान्वित छन् । सुम्निमा सबसिस्टमको लागि नयाँ रिजर्ब वेयर बनाउनुपर्ने नभई संस्थानकै साविकको टंकी उपयोग गर्ने हो । आयोजनाको डिजाइनअनुसार वडा नं १३ र १४ लाई सर्दु र सर्दुको पानी मात्र वितरण गर्ने हो भने रेल्वे सबसिस्टमलाई कुम्भीआहालको बोरिङको पानी मात्र वितरण गर्ने हो । ‘यसमा आयोजना कार्यान्वयन ईकाईल ढिलाई गरेको होइन । कुन कुन समान कहाँ र कुन बेला चाहिन्छ भनेर कन्सल्टेन्टले हेर्ने हो । हामीले नै थाह पाउने हो भने त कन्सल्टेन्ट राख्नु पर्ने नै थिएन,’आयोजना प्रमुख राजु पोख्रेलले भने,‘कन्ट्याक्टरले समान ल्याउछु भनेको समय पनि बितिसकेको छ ।’
...........................................................................................

आयोजनाको डिजाइनमै त्रुटी !

ठेकेदार कम्पनीका अनुसार हालसम्म डिजाइनमा उल्लेख भएको भन्दा २० किलोमिटर बढी बाटोमा पाइप बिछ्याउनुपरेको छ । कन्सल्टेन्टले सर्वे र डिजाइनको क्रममा थुप्रै बाटो छुटाएको कारणले पनि अहिले काम थपिएको ठेकेदार कम्पनीको दाबी छ । ‘पहिला ठिक ढंगले सर्वे गरेन, र डाटा पनि सहीरुपमा आएन । यसले डिजाइनमा पनि त्रुटी हुनगयो,’ठेकेदारको एक प्राविधिकले भने,‘नयाँ बस्ती बसेको हो भने त्यहाँ नयाँ बाटो खुल्छ । त्यो छुट्नु अलग भयो तर डिजाइनमा त पुरानै बाटोहरु छुटेको छ । यसले पनि काम लम्बिएको छ ।’ डिजाइन बाहेकको बाटो अझै दोब्बार हुने ती प्राविधिक बताउछन् ।
आयोजना, उपमहानगरपालिकाले खानेपानी संस्थानसँग समन्वय नगरी वा सहकार्य नगरी सर्वे, डिजाइन र काम अघि बढाउदा धेरै समस्या भइरहेको ठेकेदार कम्पनीको भनाई छ । सर्वे गर्दा खानेपानीको पाइपलाइन छ भन्ने अनुमान गरिएको तर अहिले फिल्डमा त्यस्तो नभएको ठेकेदारका प्राविधिक बताउछन् । ‘हामीलाई त जति छिटो काम सकियो, त्यति फाइदा हो नि । समय थप हुदा हामीलाई पैसा थपिदैन । तर, कन्सल्टेन्टको समय थपिदा उनीहरुको त जागिर लम्बिन्छ नि, खर्च त्यता बढ्ने हो,’प्राविधिकले भने ।
कन्सल्टेन्ट बिडिएका टिम लिडर चौधरी भने सर्वे र डिजाइनमा त्रुटी नभएको दाबी गर्छन् । फिल्डमा काम गर्ने क्रममा कति कुरा सर्वे र डिजाइनभन्दा फरक हुने गरेको उनी बताउछन् । ‘पहिला सर्वे गर्दा वस्ती थिएन, बाटो पनि सानो मात्र थियो । अहिले त्यहाँ पाइप विछ्याउनुपर्ने भयो, र डिजाइनभन्दा फरक भयो,’चौधरीले भने,‘साइट अवस्थाअनुसार कति कुरा थपिन्छ नि ।’ डिजाइनमा नभएको २० फुटेभन्दा सानो पिच दुवैतिर पाइप राख्नुपर्ने भए पुरै पक्की गर्ने नगरपालिकाको निर्णयले पनि लागतखर्च बढाएको उनले बताए ।
आयोजना प्रमुख पोख्रेलका अनुसार आयोजनाको सन् २०११ मा सर्वे र २०१२ मा डिजाइन भएको हुनाले त्यसयता धेरै नयाँ बाटो र सडक खुलेको कारण पनि डिजाइन बाहेक पाइपलाइन राख्नु पर्दा समय र खर्च बढेको हो । ‘सर्वे र डिजाइनपछिको ७ बर्षमा ३० किलोमिटरजति बाटो वृद्धि भयो, त्यहाँ पनि पाइप राख्नुपर्यो । २० फिट मुनिको ६० वटा जति बाटो पिच गर्नुपर्यो,’उनले भने । अब भने नयाँ सडक खुलेमा तत्काल पाइपलाइन नबिछ्याउने र पछि खानेपानी बोर्डले नै वितरण गर्ने निर्णय गर्न आवश्यक भएको उनले बताए । संस्थान बोर्डमा हस्तान्तरण नहुदा पनि आयोजना र संस्थानको वितरण प्रणालीलाई जोड्न बाधा पुगिरहेको उनको भनाई छ ।
..............................................

६ महिना म्याद थप्न माग

सन् २०१७ जुलाईभित्र काम सम्पन्न गर्ने लक्ष्य लिएर एसियाली विकास बैंक(एडिबि)बाट २२ मिलियन डलर ऋण तथा अनुदानमा आयोजना शुरु भएको थियोे । तोकिएको समयमा काम पुरा नभएपछि थप भएको ९ महिनाको समयावधि पनि आइतबार (१ अप्रिल २०१८)मा सकिएको छ ।
म्याद सकिएपनि काम सन्पन्न नभएपछि ठेकेदार पक्षले ६ महिना समय थप्न माग गरेको छ भने सो मागवमोजिम कन्सल्टेन्ट बिडिएले आयोजना कार्यान्वयन इकाई(पिआइयु)मा सिफारिश गरिसकेको छ । ‘थप समय आज(आइतबार) सकिन्छ । काम नसकिएकोले समय थप्नुपर्नेछ,’आयोजना प्रमुख पोख्रेलले भने,‘कन्ट्रयाक्टरले ६ महिना समय मागेको छ, हामीले नगरपालिकामार्फत सरकारमा पठाउछौं ।’
.....................................................

‘क्राइसिस म्यानेजमेन्ट’ गरिदै

बुस्टर पम्प चलाउन नपाउदा सुम्निमा र पिण्डेश्वर सबसिस्टम चलाउन नसकेपनि आयोजनाले बिहिबार रातीदेखि क्राइसिस म्यानेजमेन्ट गर्न भन्दै जंगलस्थित संस्थानको टंकीमा पानी हाल्न थालेको छ । संस्थानको एउटा वेलको पम्प बिग्रदा पानी उत्पादन कम भएपछि संकट टार्न आयोजनाले वाइपास गरेर पानीलाई संस्थानको टंकीमा खसाएको हो । यसले गर्दा एउटा वेल नचल्दा पनि संस्थानको वितरण क्षमतालाई ३ दिनदेखि कमी हुन दिएको छैन । ‘क्राइसिस मेनेज गर्न ३ दिनदेखि हामीले पानी संस्थानलाई दिइरहेका छौं, यसले थोरै भएपनि राहत पुग्छ,’आयोजना प्रमुख पोख्रेलले भने । संस्थानका प्रमुख रामकुमार श्रेष्ठले भने आयोजनाको पानी संस्थानको टंकीमा हाल्दा १० प्रतिशतको हाराहारीमा राहत पुगेको बताए । संस्थान आफैले पनि बिग्रेको वेल मर्मत गरिरहेको उनको भनाई थियो । ‘धरानलाई पानी समस्या हुने नै खडेरीमा हो, आयोजनाले पिण्डेश्वर र सुम्निमा सिस्टम चाडो चलाए समस्या टर्नेथियो,’उनले भने ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे