संघीयताको प्रतिफल दिने बेला आयोः मुख्यमन्त्री राई


धरान,चैत २३ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुक संघीयतामा गइसकेकोले अब जनतालाई संघीयताको प्रतिफल दिने बेला आएको बताएका छन् ।
शुक्रबार धरान १०, सैनिक भवनमा भोजपुर सुनसरी सेवा समाजको दोस्रो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले अब जनतालाई घरआँगनमा अधिकारसँगै विकास र समृद्धि आएको महसुस गराउनुपर्ने बेला भएको धारणा राखे । संघीयताको मर्मअनुसार स्थानीय, प्रदेश र संघीय तिनै तहको सरकार पनि गठन भइसकेको उल्लेख गर्दै मुख्यमन्त्री राईलले भने,‘सबै जाति, वर्ग, समुदाय र क्षेत्रलाई पहिचान, प्रतिनिधित्व, पहुँच र अधिकार दिलाउन संघीयता ल्याएका हौं । अब संघीयताको प्रतिफल जनतालाई दिने बेला भएको छ, किन संघीयतामा आयौं भनेर महसुस गराउनुपर्छ ।’

मुख्यमन्त्री राईले संघीय संरचनाको जगमा नयाँ नेपाल उभिएको तर्क गर्दै अब एक मात्र एजेण्डा विकास र समृद्धि भएको पनि बताए । मुलुकको मुल कानुन(संविधान) बनिसकेको र ३ वटा तहको सरकार पनि गठन भइसकेको भन्दै मुख्यमन्त्री राईले सबैको एक मात्र मिशन विकास र समृद्धि भएको उल्लेख गरे । संविधानमा कमीकमजोरी वा त्रुटी भएमा सच्याउने ढोका पनि खुला राखिएको उनको भनाई थियो । ‘नयाँ नेपाल भनेको शान्त, समृद्ध, सुशासनयुक्त र भ्रष्टचार मुक्त हुनेछ । अबको एक मात्र एजेण्डा र मिशन भनेको विकास र समृद्धि मात्र हो,’मुख्यमन्त्री राईले जोडदिदै भने,‘जनतालाई समृद्ध र खुशी बनाउने महान यात्राको थालनी भइसकेको छ ।’
तीन तहमा सरकार गठन भएपनि कानुनको अभावमा केही जटिलता र संक्रमणकाल जस्तो देखिएपनि सबै सरकारले कानुन निर्माणलाई प्रमुख कार्यभार मानेर अघि बढिरहेकोले यो परिस्थिति लामो समय नरहने मुख्यमन्त्री राईको भनाई थियो । प्रदेश १ को सरकारले पनि कानुन निर्माणसँगै प्रदेशको समग्र विकासको लागि कृर्षि, पर्यटन, जलस्रोत, उद्योग, खेलकुदलगायतलाई प्राथमिकतामा राखेर विकासको खाका तयार गर्न जुटेको उनले बताए । ‘प्रदेश १ लाई धनी, सुशी र समृद्ध कसरी बनाउने भनेर विज्ञहरुको टोली तयार गरेका छौं,’मुख्यमन्त्री राईले भने,‘विज्ञको यो टोलीले प्रदेश १ को विकासको खाका, रोडम्याप बनाएर प्रस्तुत गर्नेछ ।’
चालु आर्थिक बर्षको लागि सानो आकारमा १ अर्ब २ करोडको बजेट सरकारले ल्याउने तयारी गरिरहेको पनि मुख्यमन्त्री राईको भनाई थियो । आगामी आर्थिक बर्षको लागि भने ठुलो आकारको बजेट, नीति तथा कार्यक्रम प्रदेश सरकारले ल्याउने उनले बताए । ‘चालु आर्थिक बर्षमा १ सय २ करोडको संक्षिप्त बजेटको तयारी छ, अर्को आर्थिक बर्षमा स्रोतको पहिचान र बाँटफाट पनि भइसक्ने हुनाले त्यसबेला ठुलो बजेट हुन्छ,’उनले भने ।
सोही कार्यक्रममा प्रदेश सभामुख प्रदिपकुमार भण्डारीले आफ्नो जन्मथलोलाई सम्झेर सुनसरीमा बसोबास गरिरहेकाहरुले संस्था स्थापना गरेकोमा खुशी व्यक्त गरे । साथै, उनले आफ्नो जन्मथलोको विकास, भविष्य निर्माणसँगै प्रदेशको विकासमा योगदान पुर्याउन पनि समाजका नेतृत्वहरुसँग आग्रह गरेका थिए । ‘भोजपुरमा जन्मिएर अहिले सुनसरीमा बस्दै आउनुभएकाहरुले आफ्नो जन्मथलोको विकासको लागि संगठित हुनुभएको छ, यो ज्यादै खुशीको कुरा हो । आफ्नो जन्मथलोसँगै सुन्दर, समृद्ध प्रदेश बनाउन योगदान पुर्याउनुपर्छ,’उनले भने ।
..........................................

                    ‘विकासमा भोजपुर पछाडि’

मुख्यमन्त्री राईले राजनीतिक, सामाजिक, गीत, संगीत, साहित्य हरेक क्षेत्रमा भोजपुरेहरुको उपस्थिति र नेतृत्व प्रभावकारी भएपनि विकासको दृष्टिकोणले भने भोजपुर जिल्ला निक्कै पछाडि रहेको पनि बताए । यसको खास कारणमा भोजपुर जताततै नदीले घेरिनु र हिमाल, पहाडसँग नजोडिनु रहेको पनि उनको भनाई थियो । ‘राज्यको सबै क्षेत्रमा हामी भोजपुरेहरुको महत्वपुर्ण, प्रभावकारी र अग्रपंक्तिमा नेतृत्व छ, तर विकासको दृष्टिमा भोजपुर पछाडि छ,’उनले भने,‘यसको खास कारणमा जताततै नदीले घोरिएको, हिमाल र पहाडले नछोएको कारणले हो, म २०५६ मा सांसदमा निवार्चित भएपछि मात्र भोजपुरमा लेगुवा हुदै सडकले जोडिएको थियो ।’
अहिले भोजपुरमा सडक सञ्जाल बढाउदै, स्तरोन्नती गर्दै विकास र समृद्धिमा तीब्र प्रतिस्पर्धामा उतार्न जोडदिएको पनि मुख्यमन्त्री राईले बताए । आफ्नो जन्मथलोको विकासको लागि सुनसरीमा भएका भोजपुरेहरुको एकताप्रति खुशी व्यक्त गर्दै उनले तीन तहको सरकारको विकासको खाकामा एकाकार भएर अघि बढ्न आग्रह गरेका थिए । दोस्रो कार्यकालको लागि राष्ट्रपति चुनिएकी विद्यादेवी भण्डारीको जन्मथलो भोजपुर हो भने मुख्यमन्त्री राई आफै पनि भोजपुरबाट प्रदेश सांसदमा निवार्चित भएर मुख्यमन्त्री भएका हुन् ।
सोही कार्यक्रममा प्रदेश मुख्यमन्त्री राई, सभामुख भण्डारी, प्रदेश सांसद सावित्री जोशी श्रेष्ठलगायत प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा निवार्चित भोजपुर जन्मघर भई सुनसरीका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । मुख्यमन्त्री राईलाई समाजका अध्यक्ष नन्दप्रसाद श्रेष्ठ, उपाध्यक्ष निर्मला राईले टोपी र सम्मानपत्र प्रदान गरेका थिए भने सभामुख, सांसद, विभिन्न नगर तथा गाउँपालिकाका वडाअध्यक्ष, कार्यपालिका सदस्य एवं वडा सदस्य, जग्गादाता माया राईलाई मुख्यमन्त्री राई र अध्यक्ष श्रेष्ठले सम्मान पत्र प्रदान गरेका थिए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे