तीनजुरेदेखि पाथीभारासम्म ट्रेकिङ रुटको खोजी

धरान,चैत २८ । पर्यटनको प्रचुर सम्भावना बोकेको प्रदेश नं १ मा पर्यटन प्रर्वद्धन र विकासको लागि पदमार्ग खोजी गर्न पर्यटनकर्मीसहितको एक टोली सात दिने पदयात्रामा निस्किएका छन् ।
ताप्लेजुङ सरोकार केन्द्र काठमाण्डौंको नेतृत्वमा राजधानीबाट पर्यटन व्यावसायीहरुसहित ५६ जना पदयात्री टोली मंगलबार धरान हुदै तेह्रथुमतिर लागेका छन् । धरानबाट पनि टोलीमा दर्जनजति पदयात्रीहरु थपिएका छन् । तीनजुरे, गुफा पाथीभारा पदयात्रा महोत्सव नाम दिइएको यो पदयात्राबाट प्रदेश १ को पर्यटनमा राजधानीका पर्यटन व्यावसायीहरुको पनि नजर पर्ने भन्दै स्थानीय पर्यटनकर्मीहरु उत्साहित छन् । यो पदयात्री टोलीमा नेपालको पर्यटनसम्बद्ध सरकारी निकाय पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, ट्राभल एण्ड टुरिष्ट एशोसिएशनलगायतका नेतृत्वको पनि सहभागीता छ । त्यसैले भविष्यमा विदेशी पर्यटकहरु राजधानीका पर्यटन व्यावसायीहरुमार्फत प्याकेजमा पुर्वको गन्तव्यमा आउनसक्ने भन्दै यताका व्यावसायीहरु खुशी भएका हुन् । पदमार्गको खोजीमा हिडेका पदयात्रीहरुलाई मंगलबार धरानस्थित ताप्लेजुङ सुनसरी सरोकार समाजले घण्टाघर परिसरमा स्वागत तथा विदाई कार्यक्रम गरेको थियो ।
आयोजक संस्थाका अनुसार पदयात्री टोली मंगलबार तेह्रथुमको वसन्तपुरमा बास बस्नेछ भने बुधबार बिहान टुटेदेउरालीबाट पैदल यात्रा प्रारम्भ गर्नेछन् । पुर्वको प्रमुख धार्मिक पर्यटकीय गन्तव्य रहेको ताप्लेजुङको पाथीभारा मन्दिरमा विर्तामोड हुदै मात्र पर्यटकहरु पुग्ने गरेका छन् । यो पदयात्राको उद्देश्य धरान, धनकुटा हुदै तेह्रथुम, संखुवासभाको पर्यटकीय गन्तव्यहरु हुदै पाथीभारा दर्शन गर्न पर्यटकहरुलाई लैजाने रुटको खोजी गर्नु भएको केन्द्रका उपाध्यक्ष एवं पदयात्रा महोत्सवका नेतृत्वकर्ता चित्रगुप्त साँवाले बताए । ‘धरानको रुट भएर जादा भेडेटार, हिले, वसन्तपुर हुदै गुराँसको बगैचा टिएमजेमा रमाउदै पाथीभारा पुग्न सकिन्छ । यो रुटमा प्राकृतिक मनोरम दृष्य, हिमाल हेर्दै पदयात्रा गर्न सकिने रुट छ,’साँवाले भने,‘त्यसैले पाथीभाराबाट ताप्लेजुङले मात्र होइन, सुनसरी धनकुटा, तेह्रथुम, संखुवासभाले पनि पर्यटनको माध्यमबाट फाइदा लिनसकौं, र समग्र प्रदेश १ को पर्यटकीय विकास होस भनेर यो कार्यक्रम गरिएको हो ।’
पदयात्री टोली टुटेदेउरालीबाट तीनजुरे, चौकी, मंगलबारे, लामपोखरी, गुफापोखरी, ताप्लेजुङको फेदी हुदै पाथीभारा देवीको मन्दिरमा पुग्नेछन् । वसन्तपुरबाट सांसद, जनप्रतिनिधिहरु पनि मिसिनेछन् भने बैशाख १ गते नयाँ बर्ष पाथीभारा डाँडामा मनाउन पदयात्रीहरु पुग्ने आयोजकको भनाई छ । टिएमजे(तीनजुरे–मिल्के–जलजले) क्षेत्र गुराँसको राजधानीकोरुपमा विश्वप्रसिद्ध छ । विश्वमा पाइने ४५ प्रजातिका गुराँसमध्ये नेपालमा ३२ प्रजातिका पाइन्छन् । ती टिएमजेमा छन् । पदयात्रीहरुको स्वागत एवं विदाई गर्दै धरानका पुर्वमेयर तथा ताप्लेजुङ सुनसरी सरोकार समाज धरानका अध्यक्ष मनोज कुमार मेन्याङबोले प्रदेशको पर्यटन प्रर्वद्धन र विकासको लागि यस प्रकारको कार्यक्रम निरन्तर भइरहनुपर्ने बताए । ‘यो पदयात्राले गुराँसको राजधानी टिएमजे, पाथीभाराको महत्वलाई मात्र उजागर गर्दैन, त्यो बीचमा पर्ने सबै पर्यटकीय क्षेत्रहरुको पनि पहिचान र उजागर गर्छ,’उनले भने,‘त्यसैले यस्तो प्रकारको कार्यक्रम निरन्तर भइरहनुपर्छ, र सबैले साथ, सहयोग गरेमा पर्यटनको विकास हुन्छ ।’

सेक्ष ट्राभलिङसम्बद्ध पर्यटनकर्मी वासुदेव वराल नाटा, टानजस्ता नेपालको पर्यटनको नेतृत्वकर्ताहरु नै पदयात्रामा सहभागी भएकोले भविष्यमा विदेशीहरु पनि पुर्वको ट्रेकिङमा आउने ढोका खुल्नसक्ने भन्दै खुशी व्यक्त गर्छन् । तर, त्यसको लागि यो पदयात्रामा ती व्यावसायी एवं नेतृत्वहरुले सुखद अनुभूति गर्नुपर्ने पनि उनको मान्यता छ । ‘उहाँहरुले पदयात्रामा न्यायो आतिथ्यता पाएमा र सुखद अनुभूति गरेमा अवश्य पनि पुर्वमा बाह्य पर्यटकहरु प्याकेजमा आउने बाटोको ढोका खुल्नेछ,’वरालले उत्साहित हुदै भने,‘अहिलेसम्म काठमाण्डौंले पुर्वको प्योजक बनाएन, विदेशी पर्यटक ल्याएन भन्यांै, अब त्यस्तो अवस्था रहदैन भनेर अपेक्षा राख्छु ।’ पछिल्लो समय आफ्नो मातृभुमी, जन्मथलो सम्झेर गाउँमा फर्कने, घुम्न जाने क्रम बढेको यसले ग्रामिण पर्यटनको प्रर्वद्धन र विकासमा महत्वपुर्ण टेवा पुर्याएको वरालले बताए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे