बलात्कारविरुद्ध सडकमा उत्रिए विद्यार्थीहरु(फोटोफिचर)


धरान,चैत २४ । पछिल्लो समय बलात्कार एवं महिला हिंसाको घटना बृद्धि हुदै गएको भन्दै धरानका विभिन्न कलेजका विद्यार्थीहरुले बलात्कारविरुद्ध सडकमा उत्रिएका छन् ।
विद्यार्थीहरुले बलात्कारीलाई फाँसी दिन माग गर्दै शनिबार धरानमा दबाब एवं चेतनामुलक र्याली निकालेका हुन् । उनीहरुले बलात्कार र हिंसाबाट आफ्नै छोरीचेलीहरु असुरक्षित भएको भन्दै पुरुषले नै महिलाको सुरक्षामा जिम्मेवार बन्नुपर्नेमा जोडदिए । धरान १४ विजयपुरस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका विद्यार्थीहरुको नेतृत्वमा बलात्कार र हिंसाविरुद्ध र्याली निस्केको हो । बलात्कारीलाई कडा कारबाहीको लागि दबाबमुलक निकालिएको र्यालीमा धरानको विरेन्द्र मेमोरियल कलेज र धरान उच्चमाविका विद्यार्थीहरु पनि सहभागी थिए ।
बलात्कारविरुद्ध र्यालीमा सहभागी धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदी(बीचमा साडी लगाएकी) ।
र्याली प्रविधि क्याम्पसबाट शुरु भएको थियो । लक्ष्मी चोक, छाताचोक हुदै भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा पुगेर र्याली कोणसभामा परिणत भएको थियो । र्यालीमा विद्यार्थीहरुसँगै धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीसहित महिला अधिकारकर्मीहरु पनि सहभागी थिए । कोणसभालाई सम्बोधन गर्दै उपमेयर भण्डारीले आफ्नै दाजुभाई, बुबा, सुरक्षाको जिम्मेवारी पाएको प्रहरीबाट बलात्कृत भइरहेको भन्दै कहीकतै पनि महिलाहरु सुरक्षित नभएको धारणा राखिन् । अब छोरी बचाउ अभियानको आवश्यकता भइसकेको भन्दै उनले यो अभियानमा पुरुषहरुको पनि सक्रियता र साथको खाँचो रहेको उपमेयर भण्डारीको भनाई थियो । ‘तपाई हाम्रो छोरी चेलीलाई सुरक्षित बनाउन अभियान गर्नुपर्छ । विद्यार्थीहरु जाग्नु भएको छ, यो जागरण देशभर हुनुपर्छ । महिलालाई सुरक्षित बनाउने जिम्मा पुरुष दाजुभाईको पनि हो,’उपमेयर भण्डारीले भनिन् ।

महिलालाई सम्मानको भाव र नजरले हेर्न सबै पुरुषहरुलाई आग्रह गरेकी उपमेयर भण्डारीले नजन्मदै छोरीको गर्भमा भ्रुण हत्या गर्ने प्रवृत्तिप्रति पनि चिन्ता जताइन् । उनले भनिन्,‘छोरीमाथि जन्मनै नपाई हिंसा हुन्छ, गर्भमा छोरी भएको थाह पाएपछि गर्भमा नै भ्रुण हत्या गरिन्छ, यो परिपाटीको अन्त्य हुनुपर्छ । यसमा पुरुष दाजुभाईहरुले साथ दिनुपर्छ,’उनले भनिन् । सोही कोणसभामा बोल्दै प्रविधि क्याम्पसका स्ववियु सभापति सौरव सञ्जेलले महिलालाई समान व्यावहार र सम्मान गर्नुपर्ने धारणा राखे । ‘समाजमा परिवर्तन ल्याउनुपर्छ, हामी पुरुष युवाहरु त्यसको लागि तयार हुनुपर्छ,’उनले भने । स्ववियुकी कोषाध्यक्ष पुजा डाँगीले एउटी महिला बलात्कृत हुदा मानसिक, शारीरिकरुपमा उनी मात्र नभई पुरा परिवार नै समाजको अघि पीडित हुने बताइन् । ‘पीडक खलेआम घुमिरहेका हुन्छन्, तर पीडित र उसको परिवार भने समाजको अघि खुलेर हिड्न सक्दैनन्, पीडामाथि पीडा महिलामाथि थपिन्छ,’उनले भनिन् ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे