पुरानो बजारको बाटो निर्माण अलपत्र

धरान,चैत २२ । दोस्रो पटक म्याद थप गरिएको समय घर्कन लाग्दा पनि ठेकेदारले धरानको वडा २ र ३ मा पर्ने पुरानो बजारको बाटो निर्माण कार्य सकेको छैन । सिंहदेवी चोकदेखि चीनीया चोकस्थित मस्जिदसम्मको कुल ४ सय ३७ मिटर बाटो निर्माणको ठेक्का पाएको देव एण्ड सागर भुमी जेभीले चैत अन्तिमसम्म निर्माण कार्य सक्नुपर्ने म्याद छ । तर, चैत तेस्रो सातासम्म पनि कम्पनीले निर्माण कार्य सकेको छैन ।
यो बाटो विराटनगरस्थित शहरी विकास तथा भवन निर्माण विभागबाट १ करोड ६५ लाखमा उक्त कम्पनीले ठेक्का पाएको थियो । गत आर्थिक बर्ष(असार मसान्त २०७४)भित्रै निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तोकिएको समयमा काम पुरा गर्न नसकेपछि विभागबाट पुष मसान्तसम्मको थप ६ महिना समय पाएको थियो । उक्त समयभित्र पनि काम नसकेपछि विभागले पुनः दोस्रो पटक चैत मसान्तभित्र काम सक्ने गरि ३ महिना म्याद थपेको थियो । दोस्रो पटक थपिएको समय पनि सकिन लागेको छ । तर, सडक निर्माणको काम भने अलपत्र छ । अनेक वहाना देखाउदै ठेकेदार कम्पनीले निर्माण कार्य ढिलासुस्ती गर्दा स्थानीयबासीले सास्ती भोग्नुपरिरहेको छ ।
दुवैतर्फ ड्रेनसहित ५० फिट सडक बनाउने भन्दै स्थानीयको घर, पुरानो ड्रेन भत्काइएको थियो । ठेकेदारले समयमा काम सम्पन्न नगर्दा स्थानीयहरु रुष्ट छन् भने चौबिसै घण्टा धुलो खानुपर्दा स्वास्थ्यमा असर परेको गुनासो गर्छन् । ‘यो बाटोमा धेरै व्यापार व्यावसायी छौं, दिउँसो त धुलो उडेर बसिनसक्नु हुन्छ,’वडा २ का कपडा व्यापारी राजेश अग्रवाल भन्छन्,‘एक बर्षअघि नै बनिसक्नुपर्ने बाटो अहिलेसम्म बनेन, एक दिन काम गर्यो भने १५ दिन अड्किन्छ ।’ ठाउँ ठाउँमा ड्रेनमा स्लाब नहाल्दा पनि यात्रुलाई समस्या भएको उनी बताउछन् ।
बाटो ठेक्का लगाउने विभागले ठेकेदारलाई कडाई गर्न नसक्दा निर्माणमा लापरवाही र ढिलासुस्ती भएको स्थानीयहरु बताउछन् । ‘हामीले विभागको डिई, ठेकेदार पक्षलाई पटक पटक छिटो काम सक्न दबाब दियौं । थोरै काम गरेजस्तो गर्छन्, फेरी रोकिन्छ,’धरान २ का रमेश राईले भने,‘दश दिनअघि गिट्टी थुपारेर फेरि गायब भए । हाम्रो भनाई बाटो पुरा होस भन्ने हो, तर सबै पन्छिने कुरा मात्र गर्छन् ।’ धरान उपमहानगरपालिकाले पनि विभागले ठेक्का लगाएको भन्दै पन्छिने गरेको छ । यद्यपी, कार्यपालिका सदस्य कैलाश अग्रवालको संयोजकत्वमा अनुगमन समिति गठन गरेको थियो । यो समितिले प्रभावकारीरुपमा दबाब दिएर काम गराउन सकेको छैन ।
जनताको घर भत्काएर ४ सय ३७ मिटर बाटो बनाउने भनिएपनि अहिले मात्र २ सय ६० मिटर कालोपत्रे गर्न लागेकोमा स्थानीयबासीसँगै जनप्रतिनिधिहरु पनि असन्तुष्ट छन् । वडा ३ का अध्यक्ष आशाबहादुर श्रेष्ठ विभागले कडा अनुगमन नगर्दा र ठेकेदारले निर्माण कार्यमा ढिलासुस्ती गर्दा जनताले दुःख पाएको बताउछन् । ‘लापरवाही भइरहेको छ, छिटो काम नसक्दा सबैलाई दुःख छ । हामीले कति समस्या समाधान गरिदियौं, तर ठेकेदार काम गर्न आउदैनन्,’अध्यक्ष श्रेष्ठले भने । ठेकेदार सुभम बोहरा भने आफ्नो कारणले नभै ठेक्का सम्झौतामा नभएको खानेपानीको पाइपलाइन, विजुली र टेलिफोनको पोलको कारणले निर्माण कार्य ढिलाई भएको बताउछन् । ‘खानेपानीको पाइप, विजुली र टेलिफोनको पोल हटाउने काम हाम्रो स्टिमेट र ठेक्कामा थिएन । त्यसले गर्दा हामीलाई कामै गर्न सहज नभएको हो,’ठेकेदार बोहरा भन्छन्,‘त्यो समस्या हल हुने हो भने हामी १० दिनमा काम सक्छौं ।’ विभागका डिई श्याम किसोर सिंहले पनि खानेपानीको च्याम्बर, पाइपलाइन, विजुली र टेलिफोनको पोल सम्बन्धित कार्यालयले चाडै व्यवस्थापन नगर्दा काममा ढिलासुस्ती भएको बताए ।
....................................................................

स्टिमेटमै त्रुटी, पिच आधा मात्र हुने 

सिंहदेवी चोकदेखि मस्जिदसम्म ४ सय ३७ मिटर दुवैतर्फ ड्रेनसहित पक्की सडक बनाउने ठेक्का देव एण्ड सागर भुमी जेभीले पाएको थियो । तर, अहिले ठेकेदार भने २ सय ७१ मिटर मात्र सडक पिच गर्ने बताउदै आएको छ । ठेकेदार बोहराका अनुसार शहरी विकास तथा भवन निर्माण विभागबाट सडक मापदण्डभन्दा कामको क्वान्टिटी र मेटरियल ठेक्का लगाएको कारण सम्झौताभन्दा आधा मात्र सडक पिच हुने भएको हो । ‘हामी ४ सय ३७ मिटर ड्रेन बनाउछांै, त्यसमाथि स्लाब राख्छौं, तर बाटो पिक २ सय ७१ मिटर मात्र गछांै,’बोहराले भने,‘सम्झौताको क्वान्टिटी अनुसार त २ सय ६० मिटर मात्र पिच गर्ने हो, तर ११ मिटर धेरै गरिदिदैछौं, यो हाम्रो गल्ती होइन, विभागले नै त्यतिकै ठेक्का निकालेको थियो ।’
विभागका डिई श्यामकिसोर सिंहको भनाईमा प्राविधिकले ५.५ मिटर चौडाई मात्र मानेर स्टिमेट गरेको थियो । पछि, काम शुरु हुदा स्थानीयबासीले पुरा चौडा(११ मिटर) सडक पिच हुनुपर्ने अडान राखेपछि पिचको लम्बाई घट्न पुगेको सिंहले बताए । यो ठेकेदारले २ सय ७१ मिटर सडक पिच गरेपछि बाँकी रहेको बाटो पनि पिच गर्न नयाँ टेण्डर आह्वान गरिसकेको उनले बताए । ‘अहिलेको ठेकेदारले जतिसम्म पिच गर्छ, त्योभन्दा बाँकी रहेको बाटो पनि पिच गर्न टेण्डर खुलाइसकेका छौं, सबै पिच गछौं,’उनले भने ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे