दुबईबाट आएको ५ दिनमै सम्पत्ति कुम्ल्याएर श्रीमति हिडेपछि...
![]() |
सम्पत्ति लिएर फरार विष्णुकी पत्नी टिका र उनको प्रेमी । |
मोरङको पुर्वी दक्षिणी पटियापाटाकी टिका प्रधानसँग उनको ११ बर्षअघि बिहे भएको थियो । बिहे अघि नै ५ बर्ष दुबई बसेका विष्णु बिहेपछि पनि रोजगारमा गएका थिए । बेला बेला घर आउथे । एक छोरा र छोरी भइसकेको थियो । सन्तान पढाउनलाई ठिंगाबारीबाट श्रीमतिलाई धरान १५ मा डेरामा राखेका थिए । श्रीमतिले पसल गर्ने भनेपछि शिक्षा सदन स्कुलअघि कस्मेटिक पसलमा पनि लगानी गरिदिएका थिए ।
पछिल्लो समय विष्णु छुट्टी लिएर घर नआएको ५ बर्ष भएको थियो । बीचमा नआउनुमा पनि कारण छ, श्रीमतिले नै उनलाई अब घर बनाउनुपर्छ, एकैचोटी राम्रो कमाई गरेर मात्र आउनु भनेकी थिइन् । त्यसैले उनी ५ बर्षसम्म विदा नलिई काममा घोटिए । मेहनतको कमाईले डेरा नजिकै घडेरी किनेका थिए, त्यो पनि श्रीमतिको नाममा थियो । उनी ५ बर्ष पुरा बसेर गत फागुन ७ गते घर फिरे । उनी घर आएको ५ दिन मात्र भएको थियो । फागुन १२ गते जेठानको छोरीको बिहे खाएर ससुरालीबाट धरान आएका थिए । श्रीमतिलाई कस्मेटिक पसलमा छोडेर डेरा गएका उनले त्यसदिन पछि श्रीमतिलाई भेटेका छैनन् ।
खासमा उनको श्रीमति पुर्वप्रेमी मणीराम राईसँग पोइल हिडेछन् । श्रीमति मात्र गएको भए त उनले वास्ता गर्ने थिएनन् सायद । विदेशमा दुःख, मेहनत गरी उनले कमाएको सारा सम्पत्ति लिएर श्रीमति गायब भइन् । अहिले १० बर्षको छोरा र ६ बर्षकी छोरीसहित विष्णु धरान ११ मा डेरा सरेका छन् । साथमा एक पैसा छैन, आफन्तसँग ऋण सापटी र सहयोग लिएर बसेका छन् । विचल्ली पारेर हिड्ने श्रीमतिको खोजी गर्न उनी चारैतिर भौतारिए । प्रहरीमा पनि निवेदन दिए, कतै फेला परेको छैन । ‘अहिलेसम्म कमाएर जोडेको सुनको गरगहना, काचो सुन र पैसा सबै बोकेर हिडेछ । सबै हिसाब गर्दा ९० लाख जति हुन्छ, बैंक खाताबाट पनि सबै पैसा झिकेको रहेछ,’निराश हुदै विष्णुले भने,‘उनीहरुले पहिल्यै त्यो दिन भाग्ने योजना बनाएको रहेछ ।’
![]() |
सम्पत्तिसहित फरार श्रीमतिको खोजीमा भौतारिएका विष्णु श्रेष्ठ । |
सबैतिर खोजी गर्ने क्रममा विष्णुले नै पत्ता लगाए, श्रीमतिले माइतीमा गएर अविवाहित बनेर मोरङको रंगेलीबाट नयाँ नागरिकता निकालेको रहेछ । द्धन्दको समयमा आक्रमणमा परेको रंगेली प्रशासनमा पुरानो अभिलेख नभएको मौका छोपेर नयाँ नागरिकता बनाएको भेटेको विष्णुले बताए । नयाँ नागरिकता र पासपोर्ट बनाएर उनीहरु विदेश जान लागेको वा गएको उनलाई आशंका छ । प्रहरीले आफ्नो निवेदनलाई गम्भीरतापुर्वक नलिएको उनको गुनासो गर्दै उनी सञ्चारकर्मीलाई मद्दत माग्दै भौतारिरहेका छन् । श्रीमतिका पुर्वप्रेमी मणीराम पुर्वमाओवादी लडाकु हुन् । लडाकु समायोजन हुदा नेपाली सेनामा गएका उनी अहिले जमदार पोष्टमा छन् । उनको परिवार पनि सुनसरीको इटहरीमा छन् । मणीरामको पत्नीले प्रहरीमा उजुरी दिइसकेको विष्णुले जानकारी दिए । ‘पहिला आमाको नाममा पैसा पठाउथे, बिहे भएर नानी भएपछि पढाउन धरान आयौं । त्यसपछि आमाले नै बुहारीलाई पठाउने गर भन्नुभयो, र सबै पैसा उसैलाई पठाउथे,’विष्णुले भने,‘मसँग अहिले केही छैन, जिरोमा छु । आफन्तसँग सापट लिएर घर चलाउदैछु, नानीहरुको स्कुल फि तिदैछु । भेटेर सम्पत्ति फिर्ता लिन पाए मात्र पनि हुन्थ्यो ।’
..................................................................‘पारिवारिक विखण्डन भयावह’
प्रहरीमा श्रीमति हराएको वा सम्पत्ति लिएर गायब भएको ठाडो निवेदन, जाहेरी लिएर पुग्ने विष्णु एक्ला भने होइनन् । इलाका प्रहरी कार्यालय धरानको महिला तथा बालबालिका सेलमा यस्ता निवेदनको चाङ छ । सेलकी प्रमुख एवं असई यज्ञकुमारी सुवेदीका अनुसार चालु आर्थिक बर्षमा सेलमा १ सय ९१ वटा महिला, बालबच्चा हराएको निवेदन दर्ता भएको छ । ती मध्ये ८० प्रतिशत निवेदन महिला हराएको भन्ने छन् । ‘त्यो सबै श्रीमान् वैदेशिक रोजगारीमा भएको र श्रीमति अर्कैसँग हिडेको हुन्छ,’उनले भनिन्,‘श्रीमानले दुःख गरि कमाएको सम्पत्ति लिएर हिडेको थुप्रै घटनाहरु छन् ।’डिएसपी रामेश्वर पौडेल वैदेशिक रोजगारीले अर्थतन्त्रमा टेवा पुगिरहे पनि नेपाली समाजमा पारीवारिक विखण्डनको भयावह अवस्था सृर्जना हुदैगरेकोमा चिन्ता व्यक्त गर्छन् । श्रीमान् विदेश भए श्रीमति पोइल जाने, श्रीमति विदेश भए श्रीमानले अर्की बिहे गर्ने प्रवृत्तिले परिवार टुट्दै गएको र यसको असर तिनीहरुको सन्ततीहरुले भोगीरहेको डिएसपी पौडेल बताउछन् । ‘पारीवारिक विखण्डनको डरलाग्दो अवस्था छ, आमाबुबाबीचमा सम्बन्ध विच्छेद हुने र यसले परिवार, बालबच्चालाई मानसिक पीडा पुग्छ । बच्चाले अभिभावकत्व नपाएपछि विस्तारै तिनीहरु कुलतमा फस्छन्,’उनले भने,‘सरकारले पनि युवाहरुलाई विदेश पठाउदा पैसा आएको मात्र देख्छ । यदि स्वदेशमा रोजगारी सृर्जना गर्ने, देशमै श्रम गर्न नलजाउने र आत्मनिर्भर हुनेतर्फ ध्यान नदिने हो भने अवस्था झनै खराब हुन्छ ।’
..................................................................
Comments
Post a Comment