बगरकोटमा फुड फेस्टिवल (फोटोफिचर)

धरान,चैत २७ । सेकुवा, सुकुटी र तोम्बाको लागि चर्चित धरान १५ स्थित बगरकोटमा मंगलबारदेखि प्रथम बगरकोट फुड फेस्टिवल(खाना उत्सव) शुरु भएको छ । सेउती खोला किनारमा आयोजित उद्घाटन समारोहमा बिशेष अतिथि एवं कार्यपालिका सदस्य तथा वडा १५ का अध्यक्ष नरेश इवारमले पानसमा दिप बालेर उत्सवको उद्घाटन गरेका थिए । चैत २९ गतेसम्म सञ्चालन हुने उत्सव बगरकोट सेकुवा व्यावसायी समितिले आयोजना गरेको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष इवारमले जननिवार्चित स्थानीय सरकारले जनताको हरेक समस्याहरुलाई समाधान गर्न केन्द्रीत रहेको उल्लेख गर्दै पर्यटन विकास र प्रर्वद्धनमा पनि गम्भीरतापुर्वक लागिपरेको धारणा राखे । जनताको धेरै चाहनाहरु भएकोले प्राथमिकताको आधारमा पुरा गर्दै जाने उनको भनाई थियो । ‘पर्यटन विकासको बिषय स्थानीय सरकारको कार्यक्षेत्रमा पर्छ, धरान सरकारले पनि पर्यटनको विकास र प्रर्वद्धनलाई प्राथमिकतामा राखेको छ,’उनले भने,‘बगरकोट धरानको प्रमुख पर्यटकीय गन्तव्य बनिसकेको छ, यो क्षेत्रलाई व्यवस्थितरुपमा अघि बढाउनुपर्छ ।’
उत्सव अवधिभर अन्य दिनको भन्दा सर्वसुलभ मुल्यमा परिवकारहरु उपलब्ध गराउने पनि आयोजक समितिका अध्यक्ष हरि राईले जानकारी दिए । मंगलबार बिहानै बगरकोटमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । आन्तरिक पर्यटन प्रर्वद्धन तथा होटल व्यावसायको उचित व्यावस्थापन गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको मुल संयोजक डेबिट सुब्बाले बताए । ‘बगरकोट क्षेत्र व्यावसायिक र पर्यटकीय गन्तव्यकोरुपमा विकास होस । स्थानीय समुदाय र पर्यटकहरुबीचमा सम्बन्ध सुमधुर बनोस भन्ने हाम्रो चाहना हो,’उनले भने ।
उत्सवको अवसरमा नै बगरकोटलाई सुरक्षित र धुवाँरहित बनाउन अभियान पनि थालिएको आयोजक संस्थाको भनाई छ । त्यसको लागि आधुनिक प्रविधिको चुला प्रयोगमा ल्याउन सबै व्यावसायीहरुसँग सहकार्य, समन्वय गरिने इभेन्ट मेनेजर निश्चल पलिखेले बताए । कार्यक्रम आयोजना गर्न एउटा स्टेज निर्माण भएपनि त्यसले सडक अवरुद्ध हुने छैन भने अन्य उत्सवहरुमा जस्तो स्टलहरु पनि छैनन् । तर, बगरकोटका सबै होटल तथा रेष्टुरेष्टहरुले आफ्नो रेष्टुरेष्टहरु आकर्षकढंगले सजाएका छन् ।
उद्घाटन समारोहमा बोल्दै होटल एशोसिएशन अफ धरानका अध्यक्ष सुवर्ण श्रेष्ठले उत्सवले बगरकोटको मात्र नभई धरानको पर्यटन प्रर्वद्धनमा योगदान पुग्ने चर्चा गरे । पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले प्रहरी प्रशासनले ११ बजेपछि बगरकोटको होटलहरु बन्द गराएकोप्रति टिप्पणी गर्दै सुरक्षा दिएर रातभरि खुलाउनुपर्ने बताए । संघीय प्रहरी इकाई धरानका डिएसपी भिम दाहालले सुरक्षा संवेदनशील बिषय भएको उल्लेख गर्दै व्यावासायीहरुसँग छलफल गरेर नै क्षमताअनुसार ११ बजे समय तोकिएको बताए । व्यावसायीहरुले व्यावस्थापन गर्न तयार भए प्रहरीले रातभर सुरक्षा दिन तयार भएको उनले बताए ।
भानुचोकदेखि करिब २ किलोमिटर पुर्वको सेउती खोला किनारमा बसेको सुकुम्बासी बस्ती हो बगरकोट । अचेल त्यही सुकुम्बासी वस्ती बगरकोट धरानको पर्यटकीय गन्तव्यमा रुपान्तरण भएको छ । यहाँ थुप्रै होटल, रेष्टुरेष्टहरु खुलेका छन् । जहाँ सांगीतिक महोलसँगै खानपानको सुविधा हुन्छ । त्यसैले हरेक साँझ साथीभाई, परिवार र आफन्तसँग धरानेहरु रमाउन पुग्छन् । सेकुवा, तोम्बा र सुकुटी बगरकोटको बिशेष परिकार हो ।
..........................................

कन्सर्ट, फेशन, नृत्य र डिजेइङ

फेस्टिबलको उद्घाटनको रातमा चर्चित गायक कमल खत्रीको प्रस्तुतीसँगै स्थानीय कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरे भने फेशन शो पनि आयोजना भयो । आन्तरिक पर्यटक बनेर पुगेका ग्राहकहरु मात्र होइन, स्थानीय बासिन्दाहरुले पनि भरपुर मनोरजन लिए ।
गायक कमल खत्रीले जाउला रेलैमा..बोलको गीतबाट आफ्नो प्रस्तुती शुरु गरेका थिए । धरानमा पनि उनका फ्यानहरु थुप्रै छन् । खत्रीले गाउने हरेक गीतहरु उनका प्रसंसकहरुले सँगै गाइदिन्छन् । जस्तो कि मंगलबार पनि रात बित्यो.., आत्मामा.., माया लै लै.., गल्ती मेरो छैन.., झ्यालैमा..जस्ता चर्चित गीतहरु प्रस्तुत गरिरहदा धराने युवायुवतीहरुले उनीसँग गाइदिएन । त्यति मात्र कहाँ हो र, नाचेर पनि रमाए ।
उनको प्रस्तुतीअघि फेशन शो पनि आयोजना भएको थियो । कोरियोग्राफ कुन्नी लिम्बूले एक दर्जन स्थानीय मोडलहरुलाई र्याम्पमा उतारेकी थिइन् । यस्तै, गरिमा डान्स सेन्टरका कलकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने धरान १५ का स्मरण राईले पनि आकर्षक नृत्य प्रस्तुत गरेर दर्शकहरुको मन जिते । गायक खत्रीको प्रस्तुती पछि भने राती ११ बजेसम्म आधाघण्टा डिजे नेक्स्ट स्याडोले धराने युवायुवतीहरुलाई नचाएका थिए । ‘बगरकोट सधै यस्तै हो, तर फेस्टिबलको कारणले झनै उत्साह थपिएको छ, सबैले चासो दिएका छन्,’आयोजक समितिका अध्यक्ष हरि राईले भने,‘हामीले यसैबेला सरसफाई कार्यक्रम, रक्तादान पनि गर्यौं । व्यावसायी र समुदायबीचमा सम्बन्ध सुधारको प्रयत्न गरेका छौं ।’











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे