खास जोगाउन एमाले र एमाओवादीलाई चुनौती

धरान । ०६४ को पहिलो संविधानसभाको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार मनोजकुमार मेन्याङ्बोले जित्ने सबैको अनुमान थियो । स्थानीय निर्वाचनमा जितेर एक पटक धरान नगरपालिकामा उपमेयर र मेयरसमेत भइसकेका उनी एमालेका वलिया उम्मेदवार मानिन्थे ।
तर, संविधानसभा निर्वाचनको मतपरिणाममा भने निर्वाचनअघि धेरैले नाम नसुनेका एमाओवादी उम्मेदवारले जित हासिल गर्दै सुनसरी १ मा एमालेको जग भत्काएको थियो । पहिलो संविधानसभा निर्वाचनमा कस्ले जित्ला भन्ने अनुमान लगाउने अवस्था रहेपनि नयाँ संविधानसभा निर्वाचन आउन एक महिना भन्दा कम समय बाँकी हँुदा भने त्यस्तो अवस्था छैन । मंसिर ४ गतेको संविधानसभा निर्वाचनमा कुन पार्टीको उम्मेदवारले बाजी मार्ला भनेर अहिलेसम्म कसैले अनुमान लगाउन सकेका छैनन् ।
सुनसरी १ मा यही पार्टीले जित्छ भन्ने अवस्था नरहेपनि अघिल्लो पटकको संविधानसभा निर्वाचनमा झै नेकपा(एमाले) र एकीकृत माओवादी आफ्नो उम्मेदवारलाई जिताउन कम्मर कसेर चुनावी दौडमा छ । सुनसरी १ मा अहिलेसम्म कुनै पनि निर्वाचन नजितेको नेपाली कांग्रेस पनि यसपाली वलियो अवस्थामा देखिएको छ । तर, पहिचानको मुद्दा उठाएर राजनैतिक रंगमञ्चमा उदाएको नयाँ पार्टी संघीय समाजवादी पार्टीले सुनसरी १ मा जनमत ल्यायो भने पनि आश्चर्य भने हुनेछैन । चुनावी मैदानमा थुप्रै दलहरु भएपनि चुनावी मतपरिणम प्रभावित पार्ने अवस्था भने छैन ।
सुनसरी क्षेत्र नं १ मा नेकपा एमालेको पकड वलियो रहदै आएको छ । प्रजातन्त्र पूर्नस्थापनापछि ०४८ सालको पहिलो आमनिर्वाचनमा तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले जितेका थिए भने ०५१ को मध्यावधि निर्वाचनमा लिला श्रेष्ठ सुब्बा र ०५६ मा कुन्ता शर्माले सुनसरी १ मा चुनाव जितेका थिए । तर, ०६४ सालको संविधानसभा निर्वाचनमा भने आश्चर्यजनकरुपमा एमाले उम्मेदवार मनोजकुमार मेन्याङ्वो एकीकृत माओवादीका उम्मेदवार किरणकुमार राईबाट भारी मतले पराजित भएका थिए ।
यसपटक भने एकीकृत माओवादीलाई अहिले अघिल्लो संविधानसभा निर्वाचनमा जस्तो सहज भने छैन । पार्टी विभाजन भएछि यसक्षेत्रमा प्रभाव पार्ने कतिपय नेता, कार्यकर्ताहरु नेकपा–माओवादीमा गएका छन् । अघिल्लो निर्वाचनमा जितेका पूर्व सभासद राईसमेत हाल नेकपा–माओवादीतिर लागेका छन् । तर एकीकृत माओवादी भने पार्टी विभाजनले भने संविधासभा निर्वाचनको परिणाममा ठुलो असर नपर्ने दाबी गर्छ । ‘थोरै साथीहरुले मात्रै पार्टी छोडेका छन्’–एमाओवादीका कोचिला राज्य समिति सदस्य तथा सुनसरी १ नम्बर क्षेत्रीय संयोजक अशोक राईले भने–‘तर, जतिले पार्टी छोडे, त्यो भन्दा धेरै हाम्रो पार्टीमा प्रवेश गरेका छन् ।’
एमाले भने सुनसरी १ मा निर्णायक मत रहेको भुमिहिन सुकुम्बासीहरुको समर्थन पाएर अघिल्लो निर्वाचनमा गुमेको क्षेत्रमा पुनः पडक जमाउन चाहन्छ । ‘एमाओवादीले झुटो आश्वासन बाँडेर धोका दिएको’ भन्ने भुमिहिन सुकुम्बासीहरुको भावनालाई एमाले चुनावमा उपयोग गर्न चाहन्छ । ‘उनीहरु(एमाओवादी)ले सुकुमबासीहरुलाई धेरै वाचा गरे’–एमाले जिल्ला कमिटि सदस्य खम्बासिंह गुरुङले भने–‘तर, उनीहरुले बाँडेको आश्वासन पुरा गर्न सकेनन्, त्यसैले मतदाताहरु फेरि पनि हाम्रै पक्षमा आएका छन् ।’
०६४ को संविधानसभा निर्वाचनमा अन्तरघात व्यहोरेको नेपाली कांग्रेस भने यसपटक धेरै आशावादी छ । अघिल्लो निर्वाचनमा संस्थापन र देउवा धारका स्थानीय नेताहरुको विभाजनले पनि कांग्रेस हारमा भुमिका खेलेको थियो । ‘पहिलाको जस्तो अहिले दुई धार छैन, यहाँ कांग्रेस एकढिक्का भइसकेको छ’–कांग्रेस जिल्ला सहसचिव विकास आचार्यले भने–‘संघीय समाजवादी पार्टीले एमालेको भोट काट्छ, धोका दिने एमाओवादीलाई जनतालाई फेरि पनि मौका दिने मुडमा छैनन् ।’
.............
सुनसरी १ मा प्रत्येक निर्वाचनमा भुमिहिन सुकुम्बासीहरुको मत निर्णायक हुनेगर्छ । त्यसैले, यसपटक पनि प्रमुख दलहरु चुनाव जित्नकै लागि भुमिहिन सुकुम्बासीहरुको समर्थन बटुल्न भरमग्दुर प्रयास गरिरहेका छन् ।
तेह्रथुम जानेक्रम एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बिहिबार धरानमा आयोजित चुनावी आमसभालाई केही समय सम्बोधन गर्दै भुमिहिन सुकुम्बासीहरुको मन जित्न प्रयास गरे । ‘भुमिहिन सुकुम्बासीहरुलाई जग्गा धनीपुर्जा दिनेछौं’–भानुचौकमा आयोजित सभामा दाहालले भने–‘यदि त्यसो हुन सकेन भने हामी उहाँहरुलाई रोजगारीको अवसर उपलब्ध गराउनेछौं ।’
दलहरु दिनरात भुमिहिन सुकुम्बासीहरुलाई फकाउने प्रयास गरिरहेपनि उनीहरुले कसलाई समर्थन गर्ने भनेर निर्णय गरिसकेका छैनन् । ‘जुन पार्टीले भुमिहिन सुकुम्बासीहरुलाई जग्गा धनीपुर्जा दिलाउने प्रतिवद्धता गर्छ, उसैले हाम्रो समर्थन पाउछ’–नेपाल बसोबास बस्ती संरक्षण समाजको पूर्वाञ्चल क्षेत्रीय सचिव कुमार कार्कीले भने–‘तर, विगतमा जस्तो मौखिक आश्वासनको भरमा होइन, हामी दलहरुबाट लिखित प्रतिवद्धता नै चाहन्छौं, चुनाव अघि पुरा गर्न सकिने हाम्रो माग पुरा हुनुपर्छ र पछि पुरा गर्न सकिने मागप्रति लिखित प्रतिवद्धता चाहिन्छ ।’ सुनसरी क्षेत्र नम्बर १ को कुल मतदाता ६५ हजार ७ सय ९५ मध्ये धरान र पाँचकन्या क्षेत्रमा एक तिहाई मतदाता भुमिहिन सुकुम्बासीहरु रहेको कार्कीको दाबी छ । समाजले समर्थन गरेको दललाई नै बहुसंख्यक भुमिहिन सुकुम्बासीहरुले मत दिने गरेका छन् ।
विगत १५ बर्षदेखि धरान १३, स्थित अनाम वस्तीमा रहदै आएका ६० बर्षीय हरिबहादुर भण्डारीलाई पार्टीको उम्मेदवारबारे जानकारी नभएपनि उनी चुनावमा भने कुनै एउटा दललाई अवश्य भोट हाल्नेछन् । ‘भोट हाल्ने अधिकार मेरो हो’–भण्डारी भन्छन्–‘हामी छरछिमेकी र सँंस्थासँग सरसल्लाह गछौं, र एकमतले भोट हाल्छौं ।’ बृद्ध भण्डारीको झै यहाँका अधिकांश भुमिहिन सुकुम्बासीहरुको सोचाई हुन्छ । कुनै एक पार्टीमा आवद्ध नहुने उनीहरुले कस्लाई भोट हाल्ने भनेर निक्यौल गरेका हुदैनन् । सुकुम्बासीहरुको संस्था नेपाल बासोबास बस्ती संरक्षण समाजको निर्णयबाट उनीहरु प्रभावित हुने गर्छन् । भुमिहिन सुकुम्बासी क्षेत्रमा राजनैतिक दलको संगठनहरु भएपनि सुकुम्बासीहरुमा त्यसको प्रभाव न्युन छ ।
................
आदिबासी जनजाति समुदायको घनत्व रहकेो यो क्षेत्रमा जातीय पक्षले पनि चुनावी परिणाममा प्रभाव पर्ने गर्छ । त्यही पक्षलाई मध्यनजर गर्दै यहाँ मुख्य राजनीतिक दलहरुले आदिबासी जनजाति समुदायकै उम्मेदवार उठाएका छन् । एकीकृत माओवादीले पार्टी केन्द्रीय सदस्य मुक्सामहाङ मेन्याङ्बो(मुकेश)लाई उम्मेदवार बनाएको छ भने एमालेले कृष्णकुमार राईले टिकट दिएको छ । नेपाली कांग्रेसले चन्द्रप्रसाद श्रेष्ठलाई उम्मेदवार छानेको छ भने संघीय समाजवादी पार्टीले ध्यानबहादुर राईलाई सुनसरी १ मा उम्मेदवार उठाएको छ ।
धरानमा सबैभन्दा धेरै जनसंख्यामा रहेको राई जातिको साझा संस्था किरात राई यायोक्खाले संघीय समाजवादी पार्टीलाई सर्मथन गर्ने सम्भावना देखिन्छ । किनकि, यायोक्खाका अधिकांश मुख्य पदाधिकारीहरु समाजवादी पार्टीमा आवद्ध छन् । तर, राई पछिको धेरै जनसंख्या रहेको नेवार र लिम्बू जातिको साझा जातीय संस्थाहरुले भने अहिलेसम्म तटस्थ छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे