बीपीमा वाल रोगको छुट्टै आकस्मिक कक्ष

धरान । गुणस्तरीय एवं सहजरुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले बीपी कोइराला स्वास्थ्य विज्ञात प्रतिष्ठानले बुधबारदेखि बाल रोग विभागमा छुट्टै आकस्मिक कक्ष सञ्चालनमा ल्याएको छ ।
अत्याधुनिक उपकरणहरु जडित सुविधा सम्पन्न वाल रोग आकस्मिक कक्ष सञ्चालनमा आउनुलाई प्रतिष्ठानले स्वास्थ्य उपचारमा ठुलो उपलब्धी मानेको छ । राजधानीस्थित कान्ति वाल अस्पताल पछि सबैभन्दा सुविधा सम्पन्न र धेरै शैया भएको वाल रोगको आकस्मिक कक्ष बीपी प्रतिष्ठानमा भएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा.बलभन्द्रप्रसाद दासले बुधबार एक समारोहबीच बाल रोगको आकस्मिक कक्ष उद्घाटन गरेका थिए ।
प्रतिष्ठानका अस्पताल निर्देशक डा.अरबिन्द सिन्हाका अनुसार १६ शैयाको बाल रोग आकस्मिक कक्ष सञ्चालनमा आएको हो । यो आकस्मिक कक्षमा फोटो थेरापीसमेत गर्न सकिने ५ वटा वार्मर, इन्क्युबेटर, मल्टि च्यानल मनिटर, इसिजी, डि फ्रिक्यिुलेटर, सिरिञ्ज पम्प, पोर्टेवल अल्ट्रासाउण्डलगायत अत्यावश्यक उपकरणहरु पनि थपिएको निर्देशक सिन्हाले जानकारी दिए । ‘कान्ति वाल अस्पताल पछिको सबैभन्दा ठुलो र धेरै वेड भएको वाल रोग आकस्मिक कक्ष यही हो, स्वास्थ्य उपचार क्षेत्रमा यो ठुलो उपलब्धी हो’–अस्पताल निर्देशक डा.सिन्हाले भने । यसअघिको बच्चाको नर्सरी वार्डलाई दुई तीन महिनाभित्र सघन उपचार कक्षमा विकास गरिने पनि उनले प्रतिवद्धता जनाए ।
वाल रोग विभागका अनुसार आकस्मिक कक्षमा शुरुमा रिसेप्सनमा बच्चाको प्रारम्भिक जाँच गरिन्छ र उनलाई आकस्मिक कक्ष, पिआइसियु वा एनआइसियु कहाँ राखेर उपचार गर्ने भनेर निक्यौल गरिन्छ । रिसेप्सनमा ट्रियास पद्दती लागु गर्नेबारे पनि आवश्यक गृहकार्य भइरहेको विभागको भनाई छ । वाल रोग विभागमा हाल १० जना हाउस अफिसर थपिएका छन् भने ७ जना फ्याकल्टी चिकित्सक, ४ जना सिनियर रेसिडेन्ट, २० भन्दा बढी जुनियर रेसिडेन्टहरु कार्यरत थिए । ‘दशैंपछि बालरोगको आकस्मिक कक्ष क्षेत्रमा नै चौबिसै घण्टा सेवा दिने गरि छुट्टै ल्याब र विल काउण्टरको पनि व्यावस्था गर्नेछौं’–अस्पताल निर्देशक डा.सिन्हाले भने–‘यसले सर्वसाधारण विरामीलाई थप राहत दिनेछ र उपचार पनि छिटो छरितो भएको महसुस हुनेछ ।’
यसअघि एउटै मात्र आकस्मिक कक्ष हुदा विरामीको चाप र सिमित स्रोत साधानले गर्दा विरामीहरुले प्रभावकारीरुपमा उपचार सेवा पाउन सकेका थिएनन् । उक्त आकस्मिक कक्षमा ३० देखि ४० प्रतिशतसम्म वच्च रोगका विरामीहरु हुने गरेको प्रतिष्ठानको भनाई छ । वाल रोगको आकस्मिक कक्ष छुट्टै भएपछि पहिलाको आकस्मिक कक्षमा विरामीको चाप कम हुने र उपचार सेवा पनि प्रभावकारी हुने वाल रोग विभागका प्रमुख डा.गौरीशंकर अग्रवालले बताए । ‘उपचार छिटो छरितो र सहज हुन्छ, आकस्मिक कक्षमा तत्कालै विरामी वच्चाले बिशेषज्ञ चिकित्सकको सेवा पाउछन्’–उनले भने । उपकुलपति डा.दासले प्रतिष्ठानको सेवा विस्तार एवं सुधार कार्यक्रमअन्र्तगत वाल रोगको आकस्मिक कक्ष सञ्चालनमा ल्याएको बताए । ‘बच्चाको छुट्टै आकस्मिक कक्ष भएपछि विरामी चाप कम हुन्छ र उपचार सेवा प्रभावकारी हुन्छ’–उनले भने ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे