कुम्भ मेला लगाउन टाइगर्स पीडितलाई धम्की दिएको गुनासो
धरान । मधेशी मुक्ति टाइगर्स नामको भुमिगत सशस्त्र समुहको ज्यादतीले विस्थापित भएर हाल बराहक्षेत्र १ चतरामा बस्दै आएका पीडितहरुलाई जग्गा खाली गर्न वालसन्तले धम्की दिएको गुनासो गरेका छन् ।

०६४ सालमा समितिका अध्यक्ष तामाङसहित करिब डेढसय घरपरिवार हरिपुरबाट विस्थापित भएका थिए । ती मध्ये ५८ घरपरिवार संगठित भएर सुनसरीको उत्तरी क्षेत्रमा पर्ने बांगे र चतरामा आएर विस्थापितहरु बसेका थिए । हरिपुरबाट विस्थापित हुदा एक घरले कम्तीमा पनि एक विघा जमिन छाड्नुपरेको थियो । संगठित भएका ५८ परिवारमध्ये ४२ घरपरिवारलाई जिल्ला प्रशासन कार्यालयले नै बराहक्षेत्र १, चतरास्थित सिँचाई आयोजनाको करिब ४ विघा क्षेत्रफलमा बसाएको थियो । ‘पुरानो घाउ निको भएकै छैन, अब फेरि घरबार छोड्नुपर्छ कि भनेर मानसिक त्रास बढेको छ’–अर्का पीडित विजय लिम्बूले भने–‘बल्ल बल्ल दुःख गरेर सानो घरटहरा बनाएका छौं, फेरि केटाकेटी, बुढाबुढी लिएर कहाँ भौतारिनु ?’ वालसन्तले पहुँचको भरमा सर्वसाधारण जनतालाई लखेटेर घरबारविहिन बनाउन खोजेको उनले बताए ।
वृहत महाकुम्भ मेला आयोजक समितिका उपसंयोजक दलबहादुर पौडेलले वालसन्तले धम्की दिएकोबारेमा आफुलाई कुनै जानकारी नभएको बताए । कुम्भ मेलामा आउने यातायातको साधन राख्न ठाउँ आवश्यक भएपनि वस्ती उठाउन लागेको भन्ने आरोप गलत भएको उनले दाबी गरे । ‘यसबारेमा समितिले कसैलाई उठाउने भनेको छैन, हामीले त वस्तीको अघि र पछि खाली रहेको जग्गामा पो यातायात विसौनी राख्ने भनेर ठाँउ हेरेका हौं’–पौडेलले भने–‘वालसन्तबाट पनि धम्की दिएको जस्तो लाग्दैन, स्थानीय सबैले सहयोग गर्नुपर्छ भन्ने चाहि हाम्रो भनाई हो ।’ वालसन्तसँग सम्पर्कको लागि पटक पटक प्रयास गरेपनि सफल हुन सकेन ।
Comments
Post a Comment