चित्रकलाको संगीतमय समापन
धरान । कोठाको भित्ताभरि प्रकृति जोगाउन आग्रहसहितको आधुनिक शैलीका चित्र टाँगिएका छन् । कलाकार(चित्रकार)हरुको जमघट भएको कोठामा चार जना कलाकारहरु मादल, बाँसुरी, गिटार बोकेर अघिल्तिर बसे, अनि मिठो धुन निकाल्न थाले ।
संगीतको मिठो धुन निकाल्ने संगीतकर्मीहरु सबै चित्रकलामा सिद्धहस्त कलाकारहरु नै थिए । धराने युवा कलाकार सजन थापा मगरको ग्रिन हर्ट नाम दिइएको तीन दिने चित्रकला प्रर्दशनी समापन अघि युवा कलाकारहरुले चित्रसँग संगीतलाई फ्युजन गराए । जलवायु परिवर्तन र त्यसबाट हुने असरबारे जनचेतना फैलाउन आयोजित चित्रकला प्रर्दशनीलाई नौलो र प्रयोगात्मक बनाउन संगीतसँग फ्युजन गरिएको कलाकार मगरले बताए । ‘समापनलाई औपचारिक नगरि प्रयोगात्मक कार्यक्रम गरौं भनेर संगीतिक प्रस्तुती दिने प्रयास गरेका हौं’–उनले भने ।

चित्रकलाका आफ्ना चेलाहरुले संगीतमा पनि पोख्त देखेपछि युमा फाइन आर्ट एकेडेमीका अध्यक्ष महेन्द्र राईको मुहारमा निक्कै चमक थियो । ‘यतिका बर्ष सँगै हिड्यौं, काम गर्यौं तर, संगीतमा पनि यतिको पोख्त छन् भन्ने थाह थिएन’–खुशी व्यक्त गर्दै उनले भने–‘रंग खेलाउदा खेलाउदै पनि संगीत सृर्जना पनि गर्न सक्ने रहेछन् ।’ कलाकारहरुको प्रस्तुती सुनिसकेपछि विजयपुर एफएमकी स्टेशन मेनेजर हिमाल राईले संगीतको मिठो धुनले चित्रकलालाई झनै सुन्दर बनाएको प्रतिक्रिया दिइन् । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको हस्तकला विभागका प्रमुख एवं प्राज्ञ कर्ण मास्केले धरानमा प्रतिभाशाली युवा कलाकारहरु जन्माउन थालेको बताए ।

Comments
Post a Comment