आचारसंहिता उल्लंघनमा मुख्य दल अघि, आयोग सक्रिय


धरान । निर्वाचन आचारसंहिता विपरित सार्वजनिकस्थलहरुमा टाँगिएको ब्यानर र पर्चाहरुलाई हटाउन निर्वाचन आयोगले दलहरुलाई आग्रह गरेपनि अटेर गरेपछि आयोग आफैले हटाउन थालेको छ ।
आचारसंहिता उल्लंघन गर्दै दलहरुले जथाभावी पर्चा टाँस्ने र ब्यानर राख्न थालेपछि आयोगले सम्बन्धित दल तथा उम्मेदवारहरुलाई हटाउन आग्रह गरेपनि टेरेका थिएनन् । आयोगले निर्देशन दिएपछि मंगलबार प्रहरीले सुनसरी क्षेत्र नम्बर १ मा पर्ने धरानमा आचारसंहिता विपरीत दलहरुको पर्चा, ब्यानर हटाउन थालिसकेको छ । त्यसअघि, सोमबार प्रहरीले सनुसरी २ मा पर्ने इटहरी क्षेत्रबाट पनि पर्चा, ब्यानरहरु हटाएको थियो ।
विभिन्न दलहरुले आचारसंहिता विपरीतको माइकिङलाई पनि प्रहरीले प्रतिबन्ध लगाउन थालेको छ । ‘आयोगबाट कडा निर्देशन आएकोले निर्वाचन आचारसंहिता विपरीत टाँगिएको ब्यानर, पम्प्लेटलाई हटाउदैछौं’–इलाका प्रहरी कार्यालय, धरानका प्रहरी निरीक्षक मुकुन्द रिजालले भने । प्रहरी निरीक्षक रिजालका अनुसार मंगलबार तीनकुनेदेखि धरानको मुख्य बजार भानुचौक क्षेत्रदेखि जिरो प्वाइन्ट, चतरालाइन, बीपी प्रतिष्ठानअघि आचारसंहिता विपरीत राखिएको ब्यानर, पर्चा निकालिएको छ । ‘माइकिङ गर्नलाई पनि निषेध गरिएको छ, पहिलो पटक भेटिदा सम्झाएर पठाउछौं र दोस्रो पटक भेटे माइक जफत गरेर राख्छौं’–रिजालले भने ।
आचारसंहिताविपरीत पर्चा टाँस्ने, ब्यानर राख्ने र माइकिङ गर्नेमा ठुला भनिएका दलहरु एमाओवादी, कांग्रेस, एमाले नै बढी देखिएको छ । दलहरुले आचारसंहिता विपरीत पर्चा, पम्प्लेटहरु विद्यालयको मुलगेटमा पनि टाँगेको भेटिएको प्रहरीले जनाएको छ । निर्वाचन आयोगले आचारसंहिता विपरीतका ब्यानर र पोष्टरहरु हटाउन सचेत गराउदा पनि ती दलहरुले अटेर गरेपछि आयोग आफै अघि बढेको हो । मुल कानुन बनाउन जाने उम्मेद्वारहरुले नै कतिपय ठाउँमा कानुन(निर्वाचन आचारसंहिता) उल्लंघन गरिरहेको जिल्ला निर्वाचन कार्यालयका अनुगमन अधिकृत यादव दुलालले बताए । ‘देशको मुल कानुन बनाउन जाने उम्मेदवारहरु कानुनको पालना गर्न जिम्मेवार हुनुपर्छ’–उनले भने ।
संविधानसभा सदस्य निर्वाचन आचारसंहिता ०७० को परिच्छेद २ मा राजनीतिक दल, उम्मेदवार र राजनीतिक दल तथा उम्मेदवारसँग सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणबारे चुनाव प्रचार प्रसारसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ । आचारसंहिताअनुसार धार्मिक, पुरात्तात्विक वा ऐतिहासिक भवन, स्मारकस्थल वा सरकारी वा सार्वजनिक भवन र शैक्षिक संस्थाको भित्ता वा पर्खालमा कुनै पनि किसिमको पर्चा टाँस्न मिल्दैन । यस्तै, भित्ते लेखन गर्न, तुल ब्यानर प्रयोग गर्न वा गराउन पनि आचारसंहिताले निषेध गरेको छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे