डा.अग्रवाललाई कारबाहीको सहमतिपछि ताला खुल्यो

धरान । विरामीलाई स्वास्थ्य परीक्षण गर्न बाहिर पठाउने सर्जरी विभाग प्रमुख डा. सि.एस.(चन्द्रशेखर) अग्रवाललाई छानबीन गरेर कारबाही गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यावस्थापनले प्रतिवद्धता जनाएपछि सर्जरी विभागमा लागेको ताला खुलेको छ ।
कर्मचारी कल्याण समाज र प्रतिष्ठान पदाधिकारीबीच शनिबार भएको वार्तामा व्यावस्थापनले समिति गठन गरेर छानबिन भइरहेको र प्रतिवेदनको आधारमा कारबाही गर्ने सहमति जनाएपछि समाजले सर्जरी विभागमा लगाएको ताला खुलेको हो । समाजले दुई पटक अनुगमन गर्दा डा.अग्रवालले विरामीलाई प्रतिष्ठान बाहिर जाँच गर्न पठाएको भेटिएपछि कारबाहीको माग गर्दै समाजले गत बुधबार सर्जरी विभागमा ताला लगाएको थियो । त्यसअघि, डा.अग्रवाललाई कारबाही गर्न अल्टिमेटम दिएपनि व्यावस्थापनले कारबाही नगरेको भन्दै समाजले उनको कार्यकक्षमा ताला लगाएको थियो ।
‘व्यावस्थापनले एउटा समिति बनाएर छानबीन प्रक्रिया अघि बढाइसकेको रहेछ, त्यसैको आधारमा कारबाही गर्ने सहमति भयो’–कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र गोले तामाङले भने–‘सहमति पछि सर्जरी विभागको ताला पनि खोल्यौं ।’ समाजले कारबाहीको अल्टिमेटम दिएलगत्तै प्रतिष्ठान व्यावस्थापनले सहायक अस्पताल निर्देशक डा.गुरु खनालको संयोजकत्वमा एक समिति गठन गरेर डा.अग्रवालको बिषयमा छानबीन गरिरहेको व्यावस्थापनले वार्तामा जानकारी गराएको थियो । गत भदौ १ गतेदेखि विरामीको जाँच बाहिर पठाउन प्रतिबन्ध लगाएको समाजले त्यसयता डा. अग्रवालले कति विरामी बाहिर पठायो भनेर पत्ता लगाएर दोसब्बार रकम असुल गर्न र पद घटुवा गरी कारबाही गर्न माग गरेको छ ।
कमीशनको लोभमा प्रतिष्ठानमा उपचारमा आएका विरामीलाई बाहिर स्वास्थ्य परीक्षण गर्न नपठाउन आग्रह गर्दै कर्मचारी समाजले गत भदौ १ गतेदेखि प्रतिबन्ध लगाएको घोषणा गरेको थियो । कमिशनको लोभमा चिकित्सकहरुले विरामी जाँच गर्न अन्यत्र पठाउदा प्रतिष्ठानको आम्दानी बाहिरिएको र आर्थिकरुपमा धरासायी बन्दै गएको समाजको भनाई छ । प्रतिष्ठानमा सम्पूर्ण ल्याव टेष्ट, इको, इन्डोस्कोपी, सि.टि.स्क्यान, अल्ट्रासाउण्ड तथा एक्स रेलगायत सेवाहरु उपलब्ध भएपनि चिकित्सकहरुले विभिन्न वहानामा विरामीहरुलाई अन्यत्र जाँचको लागि पठाउने गरेका छन् । ती सेन्टरहरुमा विरामी जाँचमा पठाएवापत चिकित्सकहरुले एकमुष्ट कमिशन पाउने गरेको आरोप छ ।
यसैगरि, सो वार्तामा प्रतिष्ठनमा सञ्चालन भइरहेको पेइङ क्लिनिक बिहान ८ बजेदेखि बेलुकी ५ बजेभित्र सञ्चालन नगर्न तथा बिहान ८ बजेअघि र बेलुकी ५ बजेपछिको अवधिमा मात्रै निर्धाण गर्नेबारे पनि सहमति भएको  छ । यस्तै, पेइङको समयमा विलकाउण्टर, ल्याब, रेडियोलोजीलगायत प्रतिष्ठानको सेवा पनि सञ्चालन गर्नेमा सहमति बनेको छ । पेइङ सेवाको समय निर्धारण, विल काउण्टर, ल्याब सञ्चालन गर्नेबारेमा निर्देशिका तयार गरेर त्यसैवमोजिम व्यवस्थित गर्ने सहमति भएको अध्यक्ष तामाङले जानकारी दिए । ‘अहिले पेइङमा डाक्टरको मनपरी रहेछ, कोही डक्टर राती ७ बजेतिर आउने र त्यतिबेला बीपीको ल्याब, रेडियोलोजी सेवा बन्द भइसक्ने भएकोले बाहिरै पठाउदो रहेछ’–उनले भने–‘त्यसैले पेइङ सेवालाई पनि व्यवस्थित बनाउन निर्देशिका तयार गर्ने सहमति भएको छ ।’
सोही वार्तामा सरकारले चालु आर्थिक बर्षलेखि लागु हुने गरी वृद्धि गरेको १८ प्रतिशत तलब र एक हजार भत्ता वृद्धि गरी उपलब्ध गराउन दशैं अगावै समिति गठन गरी गृहकार्य शुरु गर्ने पनि सहमति भएको छ भने सिनेट(सञ्चालक परिषद)को निर्णय बमोजिम प्रतिष्ठानमा कर्मचारी कल्याण समाज, शिक्षक कल्याण समाज र विद्यार्थी कल्याण समाज नामको पेशागत संगठनलाई मात्र मान्यता दिने पनि सहमति भएको छ । वार्तामा व्यावस्थापनको तर्फबाट उपकुलपति डा.बीपी दास, शिक्षाध्यक्ष डा.बिक्रम श्रेष्ठ र अस्पताल निर्देशक डा.अरविन्द सिन्हा सहभागी थिए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे