बीपीको सर्जरी विभाग प्रमुखको कार्यकक्षमा ताला

को सर्जरी विभाग प्रमुख सि.एस.अग्रवालको कार्यालयमा ताला लागेको छ ।
प्रतिष्ठानको कर्मचारी कल्याण समाजले बुधबार अग्रवालको कार्यालयसँगै उनले पेइङमा जाँच गर्ने कोठामा पनि ताला लगाउदै प्रवेश निषेध गरिएको जनाएको छ । यस्तै, डा.अग्रवाललाई कारबाहीस्वरुप समाजले दैनिक कार्यमा पनि प्रतिबन्ध लगाएको घोषणा गरेको छ । समाजका प्रतिनिधिहरु दन्तचिकित्सा शिक्षक कल्याण समाजको अध्यक्षसमेत रहेका डा.अग्रवालको कार्यकक्षमा ताला लगाउन पुग्दा उनी भने थिएनन् । उनी केही दिनदेखि विदा लिएर भारत गएको बुझिएको छ । समाजले दुई पटक अनुगमन गर्दा डा.अग्रवालले विरामीहरुलाई जाँच गर्न बाहिरका क्लिनिक एवं जाँच केन्द्रमा पठाएको भेटिएपछि समाजले असोज १५ गतेभित्र कारबाही गर्न अस्पताल प्रशासनलाई अल्टिमेटम दिएको थियो ।
अल्टिमेटमभित्र प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएपछि समाज आफैले कारबाहीमा उत्रन बाध्य भएको महासचिव वेदुकाकुमारी पुलामीले बताइन् । ‘कर्मचारी कल्याण समाज र प्रतिष्ठान प्रशासनले पटक पटक अपिल, सचेतना गर्दा पनि विरामीहरुलाई प्रतिष्ठान बाहिर खोलिएको सेन्टरहरुमा पठाउन नछाडेपछि हामीले प्रशासनलाई कारबाहीको अल्टिमेटम दिएका थियौं’–महासचिव पुलामीले भनिन्–‘तरपनि, निजउपर कुनै कारबाही नभएकोले समाजको निर्णयअनुसार नै कार्यकक्षमा तालाबन्दी गरेर दैनिक कार्यमा र कार्यालय प्रवेशमा निषेध गरेका हौं ।’ डा.अग्रवाललाई निलम्बर गरेर उनले बाहिर पठाएको विरामीहरुको छानबीन गरि त्यसको दोब्बार रकम असुल गर्नुपर्ने र थप कडा प्रशासनिक एवं विभागीय कारबाही नगरेसम्म उनीमाथि भएको कारबाही फुकुवा नहुने उनले बताइन् ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा.बीपी दासले तालाबन्दीले द्धन्द निम्त्याउने भन्दै यसलाई छलफलको माध्यमबाट समाधान गरिनुपर्ने प्रतिक्रिया दिए । समाजको अल्टिमेटमबारे अनभिज्ञता प्रकट गर्दै उनले प्रतिष्ठान पनि विरामीको जाँचहरु बाहिर पठाउन पुर्णरुपमा प्रतिबन्ध लगाउन प्रयासरत रहेको उनले बताए । ‘हाम्रो नीति पनि यहाँबाट जाँचहरु बाहिर जानै नदिने भन्ने हो, अहिले धेरै हदसम्म यो क्रम रोकिएको छ’–उपकुलपति दासले भने–‘दुवै पक्षको कुरा सुन्नुपर्छ, यसबारेमा समाजसँग छलफल गछौं ।’ यस्तै, अस्पताल निर्देशक डा.अरविन्द सिन्हाले जाँचहरु बाहिर पठाएको भन्ने बिषयमा अन्तरिकरुपमा अनुगमन र छानबीन भइरहेको दाबी गरे । कोही विरामीले डाक्टरले बाहिर जाँच गर्न पठाएको बारेमा लिखितरुपमा उजुरी दिएमा कारबाही गर्ने उनको भनाई थियो ।

Comments
Post a Comment