एमाले माओवादी घरदैलोमा, कांग्रेस आन्तरिक भेटघाटमा

धरान । ‘लौ है, भोट माग्दै आयौं है हजुरहरुको घरमा’–एक हुल एमाले नेता, कार्यकर्ताहरु धरान १७ को सुकुम्बासी क्षेत्र साउने बस्तीको एक घरमा पस्दै भने ।
घरबाट फुत्त बाहिर निस्किएकी महिलाले आक्रोश मिश्रित स्वरमा भनिन्–‘भोट हाल्दा के हुन्छ नि ?’
‘संविधान बन्छ, नेपालको संविधान ।’–एक नेताले भने ।
‘बन्छ संविधान ! पहिला पनि त्यसै भने, केही भएन’–ती महिलाले भनिन् ।
‘यसपाली बन्छ बन्छ, तपाईलाई चाहि के चाहियो नि ?’–अर्का नेताले सोधे ।
‘मलाई शान्ति चाहियो, अरु केही परेन । हाम्रो(सुकुम्बासी) अधिकार चाहियो’–जवाफमा ती महिलाले भनिन् । ‘यसपाली संविधान पनि बन्छ र शान्ति पनि छाउँछ’–उनलाई सम्झाउदै एमाले नेताले भने ।
यो संवाद दोस्रो संविधानसभाको निर्वाचनकोलागि चुनावी अभियानमा हिडेको एमाले नेता,कार्यकर्ता र धरान १७, साउने बस्तीकी संगीता श्रेष्ठबीच शुक्रबार मध्यान्हको हो । मंसिर ४ गते तोकिएको निर्वाचनमा मतदातालाई आकर्षित गर्न अहिले दलहरु विभिन्न तौरतरिका अपनाइरहेका छन् । त्यसमध्ये प्रभावकारी मानिएको घरदैलो अभियानमा राजनैतिक दलहरुले मतदाताहरुबाट यस्तै आक्रोशपुर्ण प्रश्नको जवाफ दिनुपरिरहेको छ । ‘हामी जनताको घरमा पुग्दा मिश्रित प्रतिक्रिया पाइराखेका छौं’–एमालेको सुनसरी क्षेत्र नम्बर १ निर्वाचन परिचालन कमिटिको सचिवालय सदस्य हर्कजंग एभेङले भने–‘कतिले विकास चाहियो भन्छन्, कतिले शान्ति र संविधान भन्छन् । पहिला जितेको दलले अनावश्यक आश्वासन बाडेर पुरा नगरेकोले कतिपयले आक्रोश पनि पोख्छन् ।’
सुनसरी क्षेत्र नम्बर १ मा पकड जमाउन अहिले एमाले र  एमाओवादी चुनावी अभियानको क्रममा घरदैलो अभियानमा ब्यस्त छ भने नेपाली कांग्रेसका नेता,कार्यकर्ताहरु भरपर्दा मतदाताहरुसँग आन्तरिक भेटघाटमा ब्यस्त छ । एमालेले बिहिबारदेखि धरान १७ को आधारभुत बस्ती(सुकुम्बासी क्षेत्र)बाट घरदैलो अभियान थालेको छ भने एकीकृत माओवादीले असोज २४ गते वृहत मोटरसाइकल र्याली निकालेर घरदैलो अभियानको शुरुवात गरेको थियो । कांग्रेसले भने कार्तिक ४ गतेसम्म आन्तरिक भेटघाट गर्ने र त्यसपछि मात्रै घरदैलो एवं चोकहरुमा कोणसभाको थालनी गर्ने जनाएको छ । एमालेबाट पञ्चायतकालमा दुई पटक सहायकमन्त्रीसमेत भइसकेका बौद्धिक क्षेत्रमा पकड भएका नेता कृष्णकुमार राईलाई टिकट दिएको छ भने एमाओवादीले युवा नेता तथा पार्टी केन्द्रीय सदस्य मुक्साहाङ मेन्याङ्वोलाई उठाएको छ । यस्तै, कांग्रेसले ०५६ सालको आमनिर्वाचनमा एमाले उम्मेद्वारसँग पराजित भएका चन्द्रप्रसाद श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
सुनसरीको क्षेत्र नम्बर १ मा प्रजातन्त्र पूर्नस्थापनापछिको तीन निवर्चानमा लगातार एमालेले जित हासिल गरेको थियो । तर, अघिल्लो पटकको संविधानसभाको चुनावमा भने माओवादीले बाजी मारेको थियो । यसपाली जितेर एमाले आफ्नो पुरानो विरासत फर्काउन चाहन्छ भने एमाओवादी अघिल्लो पटकको क्षेत्र सुरक्षित राख्न चाहन्छ । कांग्रेस भने एमाले र माओवादीबाट जनता दिक्क भइसकेकोले जनविश्वास कांग्रेसतर्फ मोडिएको आकलन गर्दै आन्तरिक रणनीति तयारी र भेटघाटमा ब्यस्त छ ।
एमालेको निर्वाचन परिचालन मुल कमिटिअन्र्तगत प्रचारप्रसार उपसमिति सचिवालय सदस्य नारायण सुवेदीका अनुसार सुनसरी क्षेत्रनम्बर १ का अघिल्लो पटकको हारबाट पाठ सिक्दै जनताको भावना, चाहना बुझ्न घरदैलो अभियान चालिएको बताउछन् । चुनावी अभियानको लागि एक हजार एक सय एक्काइस सदस्यीय मुल कमिटि र त्यसअन्र्तगत १८ सदस्यीय उपकमिटि गठन गरेर अभियान तीब्र बनाइएको उनले बताए । ‘वडा वडामा निवर्चान प्रचारप्रसार समिति गठन र सम्पर्क कार्यालयको उद्घाटन गरिरहेका छौं’–उनले भने–‘आधारभुत बस्तीलाई प्राथमिकता दिएका छौं, केन्द्रीय कमिटिको चुनावी घोषणापत्रसँगै स्थानीयस्तरको एजेण्डालाई सम्बोधन गर्दै प्रतिवद्धता पत्र पनि आजै प्रेसमा गइसकेको छ ।’ उनले सम्बृद्ध धरान बनाउने पार्टीको २० बर्षे दुरदृष्टि पनि चाडै सार्वजनिक गर्ने तयारी रहेको बताए ।
एमाओवादी पनि अघिल्लो पटकको जितलाई कायम राख्न घरदैलो अभियानका साथै पार्टी, मोर्चा र जनवर्गीय संगठनहरुको आन्तरिक वैठक जारी राखेको छ । वैचारिकरुपमा मुख्य प्रतिस्र्धी मानिएको एमालेबाट सुनसरी क्षेत्र नम्बर १ खोसेको कारणले पनि एमाओवादीले यो क्षेत्रलाई यति संवेदनशील तथा महत्वकोरुपमा लिएको छ भने असोज ७ गते पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा क्षेत्रीयस्तरको आमसभा गर्ने तयारी गरिरहेको छ । निर्वाचन क्षेत्रमा २५ वटा बुथ कमिटि तयार गरेर घरदैलोमा नेता, कार्यकर्तालाई परिचालन गरिएको निर्वाचन परिचालान मुल कमिटिका सहसंयोजक अशोक राईले बताए । ‘हामी तेस्रो चरणको चुनावी अभियानमा छौं, यो पहिला पनि जितेको क्षेत्र हो र यो पटक जितेर हामी सुरक्षित गछौं’–एमाओवादीका उम्मेदवार मुक्साहाङ मेन्याङवोले भने–‘जनआन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्दैं संविधान लेखन पहिलो प्राथमिकतामा छ, त्यसबाहेक स्थानीय एजेण्डाहरुलाई पनि प्रथामिकता दिएका छौं ।’
एमाले र एमाओवादी घरदैलो कार्यक्रममा जुटिसक्दा पनि कांग्रेस भने धेरै मतदाताहरुलाई प्रभाव पार्न सक्ने खास खास मतदाताहरुसँग मात्रै आन्तरिक भेटघाट गरिरहेको छ । यो क्रम कार्तिक ४ गतेसम्म जारी रहने र त्यसपछि मात्रै घरदैलोमा जुट्ने निर्वाचन परिचालन मुल कमिटिका सचिव तथा प्रचार प्रसार कमिटिका संयोजक सुजेन्द्र गोले तामाङले बताए । ‘४ गतेसम्म हामी खास खास मतदाताहरुसँग आन्तरिक भेटघाट गछौं, अहिले दशैंको शुभकामनासहित घरघरमा अपिल पनि पुर्याइरहेका छौं’–उनले भने–‘धरान र पाँचकन्याको प्रत्येक वडामा सम्पर्क कार्यालय खडा गरिरहका छौं, ४ गतेपछि भानुचौकमा कोणसभा गरेर घरदैलो र चोक चोकमा कोणसभा कार्यक्रमको शुरुवात गर्नेछौं ।’ पटक पटकको निर्वाचनमा जनताले अन्य दललाई जिताएपछि कुनै उपलब्धी हासिल नभएकोले निराश बनेको जनताको मन अहिले कांग्रेसमा अडेको उनको जिकिर छ । ‘कांग्रेसको जित्ने आधार नै अहिले जनताको विश्वास हो, कांग्रेसप्रति जनताको अपेक्षा र विश्वास बढीरहेको छ’–उनले भने ।
यो क्षेत्रमा ०४८ को संसदीय निर्वाचनमा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी, ०५१ को मध्यावधि निर्वाचनमा स्वर्गीय लिला श्रेष्ठ सुब्बा र ०५६ को आमनिर्वाचनमा कुन्ता शर्माले जितेका थिइन् भने अघिल्लो संविधानसभा निर्वाचनमा एमाओवादीका किरणकुमार राईले जितेका थिए । एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी र लिला श्रेष्ठ सुब्बाको देहान्त भइसकेको छ भने कुन्ता शर्मा एमाओवादी हुदै अहिले किरण वैद्यको नेकपा–माओवादीमा छिन् । पूर्वसभासद किरणकुमार पनि पार्टी फुटपछि वैद्यतिर छन् । 

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे