कलरवले काव्यमय बनायो धरानलाई
धरान । विरामी र चिकित्सकहरुको ओहोरदोहोर भइरहने धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार भने दिनैभरि कवि, साहित्यकारहरुको बाक्लो भीड थियो ।

मान्छे पाइदैन, मान्छेको यस्तो बस्तीमा
हिजो आज यन्त्रआमाहरु घडी पाउँदैछन्....।
वरिष्ठ कवि तुलसी दिवसले यो कविता पढेपछि शुरु भएको काव्य सम्मेलन आगतमा नेपाली कविताको बाटो बिषयक कार्यपत्रमाथि गहन बहस भयो । समालोचक महेश पौड्यालले कार्यपत्र प्रस्तुत गर्दै नेपाली काव्यलाई विश्व साहित्यको स्तरमा पुर्याउन नेपाली मौलिकपन हुनुपर्नेमा जोडदिएका थिए । कवितामा नेपाली कला,सँस्कृति,इतिहास, विम्ब, लोकसँस्कृतिलाई प्रयोग गर्दै पछिल्लो पुस्ता अघिबढेमा विश्व साहित्यमा नेपाली काव्यले ठाउँ लिनसक्ने उनको भनाई थियो । उनको कार्यपत्रमाथि विभिन्न कविहरुले जिज्ञासा राख्दै अन्र्तक्रिया गरेका थिए ।
आगतमा नेपाली कविताको बाटोले तताएको अडिटोरियम हल त्यसपछि भने कवितामय बन्यो । विशेष कविता वाचनमा चन्द्रबीर तुम्बापोले ‘कुम्भकर्ण उर्फ फक्तालुङ’ शिर्षकको कविता वाचन गरेपछि निरन्तर जारी रह्यो । भर्खरै मदन पुरस्कार पाएर चर्चा बटुलीरहेका राजन मुकारुङ, विसे नगर्चीका सर्जक श्रवण मुकारुङ, उपेन्द्र सुब्बा, रमेश क्षितिजसँगै सरस्वती प्रतिक्षा, मुनराज शेर्मा, सरिता तिवारी, मनु मञ्जिल, गण्डकी पुत्र, भूपिन ब्याकुल, सीमा आभाष, ज्योति जंगल, रावत, स्वप्निल स्मृतिलगायत चार दर्जन बढी नेपाली कविहरुले कविता वाचन गरे ।
नेपाली भाषी भारतीय कविहरु सुधीर क्षेत्री, राजा पुनियानी, वासुदेव पुलामी, भुपेन्द्र सुब्बा र भातीय एकेडेमी पुरस्कारबाट सम्मानित युवा कवि मनोज बोगटीले पनि कविता वाचन गरेर माहौललाई कवितामय बनाउन थप योगदान पुर्याए । कार्यक्रममा भर्खरै उपन्यास दमिनी भीरबाट मदन पुरस्कार पाएका साहित्यकार राजन मुकारुङलाई सम्मान पनि गरिएको थियो । उनलाई आयोजक कलरव र सहआयोजक फ्यान क्लबअफ रमेश क्षितिजले सम्मान गरेको हो । कवियित्री कुन्ता शर्माको अध्यक्षतामा भएको काव्य सम्मेलनमा प्रमुख अतिथि साहित्यकार तुलसी दिवस थिए ।

Comments
Post a Comment