सुनसरी र मोरङमा रगत अभाव

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार राती शल्यक्रियाबाट बच्चा जन्माएकी टाँडी ४, मोरङकी २३ बर्षीय भीमा राईलाई ५ पिन्ट रगत चाहियो । चिकित्सकले तत्काल ‘एबि पोजेटिभ’ रगत जोहो गर्नु भनेपछि उनका आफन्त एवं छिमेकीहरु ब्लड बैंक पुगे ।
ब्लड बैंकबाट मात्रै २ पिन्ट रगत भेटियो । सबैतिर सम्पर्क र सोधीखोजी गर्दा पनि एबि पोजेटिभ रगत एवं दाता नभेटिएपछि भीमाका आफन्तहरुले गाउँले छिमेकीलाई गुर्हानु पर्यो । राती नै एम्बुलेन्समा हालेर थप ३ जना छिमेकी युवा टाँडीबाट रगत दिन धरान आइपुगे । ‘विराटनगरमा खोज्यौं, धरानमा चिनेजानेको सबैतिर भन्यौं तर एबि पोजेटिभ भेटिएन’–भीमाका छिमेकी लेनिन राईले भने–‘कतैबाट नभएपछि गाउँमा सम्पर्क गर्यौं, बल्ला फेला पर्यो, र तीन जना भाईलाई एम्बुलेन्सबाट ल्यायौं ।’
भीमाका आफन्तजनहरुले जस्तै अहिले बीपी प्रतिष्ठानमा उपचार गर्न आएका सर्वसाधारणहरुले रगतको जोहो गर्न सास्ती भोग्नु परिरहेको छ । चाडपर्व शुरु भएपछि सामाजिक संघसंस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गर्न छाडेपछि रक्त सञ्चार केन्द्र(ब्लड बैंक)मा रगत अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाले बीपी प्रतिष्ठानमा सञ्चालन गरेको ब्लड बैंकमा एबि पोजेटिभ र बि पोजेटिभको स्टक छैन भने ए पोजेटिभ र ओ पोजेटिभ रगतको स्टक पनि सकिन लागेको छ । ‘अहिले ए पोजेटिभ र ओ पोजेटिभ १५ पिन्ट जति मात्रै छ, यसले एक दिन पनि थेग्न सकिन्न’–ब्लड बैंकका प्राविधिक सोमनाथ भण्डारीले भने–‘दशैंको फुलपतीदेखि कहिकतै पनि ब्लड डोनेशन भएको छैन, चाडपर्व शुरु भएकोले पनि छठ पर्वसम्म यस्तै अवस्था होलाजस्तो छ ।’
रगत अभाव हुन थालेपछि रगत खोज्दै आउने विरामीका आफन्तहरुलाई विराटनगरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रमा बुझ्न वा आफै आवश्यक ग्रुपको दाता खोज्नुपर्छ भन्दै ब्लड बैंकले फर्काउने गरेको छ । रगत अभावको कारण दुर्घटनाका गम्भीर घाइते,डेलिभरी, डाइलाइसिस र शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई समस्या भोग्नुपरिरहेको छ । ‘रक्तदान कार्यक्रमहरु नभइदिदा यस्तो समस्या भएको हो, सामाजिक संघसंस्थाहरुलाई रक्तदान कार्यक्रम गरिदिन आग्रह गर्दछौं’–रेडक्रस सुनसरी शाखाका मन्त्री मुकुल कायस्थले भने ।
बीपी प्रतिष्ठानस्थित ब्लड बैंकमा दैनिक ४० देखि ५० पिन्ट रगत खपत हुने गरेको छ । यहाँको माग भने दैनिक ७० देखि ८० पिन्ट रहेको ब्लड बैंकले जनाएको छ । बैंकका अनुसार ए पोजेटिभ र ओ पोजेटिभ रगत बढी खपत हुने गरेको छ । बीपी प्रतिष्ठानअन्र्तगत पनि ब्लड बैंक सञ्चालनमा रहेपनि त्यहाँ रगत संकलन भने हुदैन । ‘यहाँ रगत संकलन हुदैन, रगतमा हुने कम्पोनेन्ट(त्तत्व)हरु छुट्याउने काम मात्रै हुन्छ’–प्रतिष्ठानमातहतको ब्लड बैंकका इञ्चार्ज जितेन्द्र शर्माले भने ।
....
                 क्षेत्रीय रक्तसञ्चारमा पनि अभाव

विराटनगरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रमा पनि ए पोजेटिभ र बि पोजेटिभ रगत सकिनै लागेको केन्द्रले जनाएको छ । बुधबार दिउँसोसम्म केन्द्रमा ओ पोजेटिभ ५० पिन्ट जति भएपनि ए पोजेटिभ र बि पोजेटिभ ५÷५ पिन्ट मात्रै रहेको प्राविधिक जितेन्द्र देवले जानकारी दिए ।
उनका अनुसार ५ दिनअघिसम्म धरानबाट माग हुने गरेकोले त्यहाँ पनि रगत पठाउने गरिएको थियो । ‘स्टकमा नरहेपछि अहिले विरामीका आफन्तहरुबाट नै फ्रेस रगत उपलब्ध गराइरहेका छौं’–देवले भने–‘अन्य संघसंस्था र युथ फर ब्लडका युवाहरुलाई पनि भनेर रगतको जोहो गरिदिइरहेका छौं ।’ अत्यधिक रगत खपत हुने भएकोले क्षेत्रीय रक्तसञ्चार केन्द्रले नोबेल मेडिकल कलेजमा पनि शाखा खोलेको छ । त्यहाँको अवस्था पनि उस्तै रहेको केन्द्रले जनायो ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे