युवा संघको कार्यकर्ता पक्राउले तनाव

धरान । युवा संघका एक कार्यकर्ता पक्राउ परेको बिषयमा मंगलबार इलाका प्रहरी कार्यालयमा दिनभर एमाले नेता, कार्यकर्ताहरुको भीड लाग्यो ।
डाइस खेलाएको आरोपमा पक्राउ परेका वालकको बिषयमा बुझ्न पुगेका युवा संघका नगर उपाध्यक्ष कर्ण लिम्बूलाई प्रहरीले पक्राउ गरेपछि मंगलबार दिनभरजसो प्रहरी कार्यालय तनावपुर्ण रह्यो । विना कारण कार्यकर्ता पक्राउ गरेको भन्दै एमाले जिल्ला तहका नेता एवं कार्यकर्ताहरु प्रहरी कार्यालय पुगेका थिए । एमाले नेता, कार्याकर्ताहरुको भिड लागेपछि प्रहरीले मुख्य गेटबाट प्रवेशमा कडाई गरेको थियो । घटनाबारे जानकारी लिन पुगेको पत्रकारहरुलाईसमेत प्रहरीले मुलगेटबाट भित्र प्रवेश गर्न दिएन ।
प्रहरी कार्यालयभित्र नेता र प्रहरीबीच वार्ता भइरहदा मुलगेट बाहिर भने एमालेका स्थानीय नेता, कार्यकर्ताहरुले प्रहरीले ज्यादती गरेको भन्दै घेराउ गरेका थिए । प्रहरीले मुलगेट भित्र स्थानीय नेता, कार्यकर्ताहरुलाई प्रवेश गर्न नदिएकोमा आक्रोश पनि व्यक्त गरिरहेका थिए । डाइस खेलाएको घटनामा एक वालक पक्राउ परेको बिषयमा प्रहरी कार्यालय पुगेका संघका नगर उपाध्यक्ष लिम्बू र प्रहरी निरीक्षक मुकुन्द रिजालबीच बिहान विवाद भएको थियो । प्रहरी निरीक्षक रिजालसँग चर्काचर्की परेपछि लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
हिरासतमा लिम्बूलाई हात र खुट्टा दुवैमा बाँधेर यातनापुर्वक राखिएको भन्दै एमाले नेता, कार्यकर्ताहरु आक्रोशति थिए । ‘डाइस खेलाएको आरोपमा बालक पक्राउ परेको बिषयमा बुझ्न आउदा प्रहरी निरीक्षकसँग भनाभन भएछ, त्यतिमा नै प्रहरीले हातकडी लगाएर हिरासतमा राख्नु उचित हो ?’–एमाले नगर उपाध्यक्ष नारायण सुवेदीले भने । हिरासतमा राखिएका कार्यकर्तालाई भेट्न नदिएर प्रहरीले ज्यादती गरेको उनको आरोप थियो ।
डिएसपी टेकबहादुर तामाङले भने प्रहरी निरीक्षक रिजालसँग चर्काचर्की परेपछि केहीबेर उनलाई हिरासतमा लिइएको स्वीकारे । तर, हिरासतमा राख्दा लिम्बू उत्तेजित भएर अनियन्त्रित बनेपछि बाध्य भएर हातकडी लगाउनुपरेको डिएसपी तामाङले बताए । ‘डाइस खेलाउदा थुनिएको बारे कुरा गर्न आउदा कडा खालको प्रस्तुती देखाएपछि समस्या भएको हो, पछि उनको व्यहावहार अनियन्त्रित हुनथालेपछि नियन्त्रणमा लिन हतकडी लगाउनु परेको हो’–डिएसपी तामाङको भनाई थियो । वार्ता भइरहदा पत्रकारलाई प्रवेश नदिएको बारेमा भने उनले सामान्य घटना भएकोले सार्वजनिक गर्न नठानेको उनको भनाई थियो ।
पत्रकारसहित स्थानीय नेता, कार्याकर्तालाई मुलगेटभित्र प्रवेश गर्न नदिएपछि एमाले जिल्ला सचिव मोतिराज सुनुवार, अञ्चल सल्लाहकार कमिटिका उपाध्यक्ष कृष्णकुमार राई, जिल्ला कमिटि सदस्यहरु मिन सुब्बा, प्रदिप भण्डारी, जयकुमार राई, नगर अध्यक्ष तारा सुब्बा, युवा संघका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज ज्ञानदिप लिम्बूसँग भने डिएसपी तामाङले वार्ता गरेका थिए । करिब अढाई घण्टा लामो वार्तापछि भविष्यमा यस्तो घटना हुन नदिने प्रहरी प्रतिवद्धता पछि सहमति भएको युवा संघका केन्द्रीय सदस्य ज्ञानदिप लिम्बूले बताए । ‘प्रहरीबाट भविष्यमा यस्तो घटना हुन नदिने प्रतिवद्धता भएको छ, र यो घटनामा प्रहरीले गल्ती भएको पनि स्वीकार गर्यो’–उनले भने । डिएसपी तामाङले पनि प्रहरी कर्मचारीबाट कमीकमजोरी भएको देखिएमा सच्चाएर अघि बढ्ने बताए । 

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे