साइकलमा पहाड छिचोल्दै धराने युवाहरु(फोटोफिचर)

धरान । भारतीय नाकाबन्दीले इन्धन अभाव चर्किएपछि युवाहरुलाई मोटरसाइकल गुडाउन निकै सकस परिरहेको छ । यतिबेला उनीहरुको ध्यान कुन दिन पेट्रोल बाडिने हो, र रातभरी लाइनमा बस्नु पर्ने हो भन्नेतिरै केन्द्रीत छ । अपवादमा, यहाँका केही यस्ता युवाहरु छन्, जसलाई न इन्धन अभावले पीडा दिएको छ, न उनीहरुलाई रातभर लाइनमा उभिनुपर्ने बाध्यता छ ।
साइकलप्रेमी धराने युवाहरुलाई भारतीय नाकाबन्दीले पटक्कै छोएको छैन भन्दा पनि हुन्छ । हिजोआज मोटरसाइकलमा लामो यात्रा सम्भव छैन । यहाँका साइकले युवाहरु भने भर्खर पुर्वी पहाडका ८ जिल्ला एक साता घुमेर फर्किएका छन् । त्यसक्रममा उनीहरुले साइकलबाटै पहाडी जिल्ला तेह्रथुम, संखुवासभा, ताप्लेजुङ छिचोल्दै पाँचथर, इलाम, धनकुटा र मोरङको उत्तरी भेग हुदै पुनः सुनसरी(धरान) आइपुगे । स्थानीय युवाहरु धरानबाट कार्तिक १२ गते प्रस्थान गरेर १९ गते साँझ घर आइपुगेका हुन् । ‘पेट्रोल नपाउदैमा यात्रा रोकिदैन, विकल्पमा साइकल छदैछ’–साइकल यात्री देवेन्द्र थेगिम भन्छन्–‘साइकल पर्यटनलाई गाउँघर, कुनाकाप्चासम्म पुर्याउन र साइक्लिङको नयाँ रुट खोजी पनि गएका थियौं ।’
थेगिमले धरानमा फन राइड गर्न थालेको अढाई बर्ष पुगिसक्यो । बेला बखत लामो रुटमा घुम्न निस्किएकै थिए । तर, यसपालीको जतिको रमाइलो अनुभव भएको थिएन । उनकै शब्दमा ग्रामिण जनजीवनसँग साक्षात्कार, प्रकृतिसँग घुलमिल हुन पाउनु साइक्लिङको फाइदा र रमाइलो पक्ष हो । यात्राको क्रममा युवाहरु झण्डै ४० हजार रुपैया खर्च पनि गरे । भुकम्प र नाकाबन्दीले खस्कदै ग्रामिण पर्यटनलाई थोरै भएपनि टेवा पुगेको उनको धारणा छ । ‘ग्रामिण सडकको ट्रयाक जताततै खुलेको रहेछ, त्यसले साइक्लिङ गर्न सजिलो छ । हामी जहाँ पुग्यौं, स्थानीय र प्रहरी प्रशासनबाट पनि राम्रो रेस्पोन्स पायौं’–उनी थप्छन्–‘यो रुटमा प्याकेजकोरुपमा साइक्लिङ जान उपयक्त पनि छ । यसले पुर्वको पर्यटनमा नयाँ आयाम थपिन्छ ।’
साइकले टोलीमा थेगिमसँगै राइडर्स एण्ड एमटिबि जोनका प्रोपाइटर फरेन्द्र लिम्बु, विवेक चौधरी, किरण राई, सन्तोष लिम्बु र सरोज लिम्बु पनि थिए । पहिलो दिन तेह्रथुमको चित्रेसम्म गाडीमा पुगेपछि त्यहाँबाट उनीहरुको निरन्तर साइकल यात्रा शुरु भएको थियो । गुराँसको राजधानी टिएमजे हुदै उनीहरुले पहिलो दिन यात्रालाई संखुवासभाको नुनगाढी गाविसस्थित गुफापोखरीमा बिसाएका थिए । २ हजार ८ सय ९० मिटरमा अवस्थित गुफापोखरी चर्चित पर्यटकीय गन्तव्य हो । दोस्रो दिन साँघु, ढुंगेसाघु हुदै ताप्लेजुङको दोभानमा टोलीको बास भयो । तेस्रो दिन फुङलिङ, सुकेटार हुदै सानोफेदीमा रोकिए । चौथो दिन पाथीभारा देवीको दर्शन र कञ्चनजंघा हिमश्रृंखलालाई अवलोकन गरेर पाँचथरको कावेलीमा टोलीको बास भएको थियो ।
पाँचौ दिन पौवाभञ्ज्याङ, राँके हुदै पाँचथरको रविमा बास बसे भने छैटौ दिन इलामको बाँझो गाविस, धनकुटाको ६ नम्बर बुधबारे ह्ुदै सम्मेवामा बास बसेका थिए । जहाँबाट युवाहरुले मोरङ जिल्लाको उत्तरी भेगलाई पनि छुदै फर्किए । सातौं दिन राजरानी, डाँडाबजार, नाम्जे, भेडेटार हुदै धरान आइपुगे । ‘जति मास्तिर गयौं, मौसम–रुखबिरुवा बेग्लै । मान्छेका रुपरंग, लवाईखवाई बेग्लै । मकालु र कञ्चनजंघा रेञ्जलाई नजिकबाट नियाल्यौं’–राइडर्स एण्ड एमटिबि जोनका फरेन्द्र लिम्बुले थपे–‘यो रुटमा प्याकेजको रुपमा लैजानसक्छौं । पर्यटकलाई आरामले हिडाउनुपर्छ, १५ दिनको प्याकेज हुन्छ ।’ यसअघि उनी गुफापोखरी पुगेर चैनपुर हुदै फर्किएका थिए । तर, हाई अल्टिच्युटमा यसपाली साइकल यात्राको अनुभव अविष्मरणीय भएको उनले बताए ।
पछिल्लो समय धराने युवाहरुमा साइकल मोह बढ्दो छ । उनीहरु धरानलाई हब बनाएर पुर्वमा साहसिक खेल साइकल पर्यटनलाई प्रर्वद्धन एवं विकास गर्न सकिने बताउछन् । धरानमा खुलेका माउण्टेन बाइक शोरुमहरुले साइकल बिक्रीसँगै प्याकेज बनाएर धरान आसपासमा घुम्न लैजाने पनि गरेका छन् । ‘साइकल पर्यटनको मात्रे कुरा छैन, अहिले भारतको नाकाबन्दीले चरम इन्धन अभाव छ । उहाँहरुको यो यात्राले मोटरसाइकल, इन्धनको विकल्पमा साइकल प्रयोग गर्न प्रेरणा पनि मिल्छ’–धरानका साइक्लिष्ट श्याम तामाङ खुशी हुदै भन्छन् ।















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे