पुर्वबाट राजधानी जाने वैकल्पिक राजमार्गको तयारी

धरान । उदयपुर गाईघाटका व्यावसायी ओमभक्त मैनालीले गाईघाट–रामपुर रुटको कच्ची बाटोमा ०५५ सालदेखि गाडी सञ्चालनमा ल्याएका थिए । वितेका सत्र बर्षमा यो कच्ची बाटोमा कुनै परिवर्तन आएन । सरकार, सरोकारवाला निकायले चतरा–कटारी सडकखण्डको यो बाटो स्तरोन्नति गर्न चासो देलान् भन्ने आशा पनि मैनालीलाई कहिल्यै पनि लागेन ।
समय सधै एकनासको हुदैन । मधेशी मोर्चाको आन्दोलनले झण्डै तीन महिनादेखि पुर्वपश्चिम महेन्द्र राजमार्ग असुरक्षित बनेपछि भने अहिले राज्यको ध्यान यो वैकल्पिक मार्गले तानेको छ । सरकारी निकायले यो वैकल्पिक मार्गलाई स्तरोन्नति गर्न उच्च प्राथमिकता दिएपछि भने यातायात व्यावसायी मैनालीमा यतिबेला आशा जाँगेको छ । ‘मैले यो बाटोमा गाडी चलाउन थालेको सत्र बर्ष भइसक्यो, अवस्था खासै परिवर्तन आएको छैन । सरकार होस वा सडक विभाग, कसैको पनि चासो यो बाटोमा परेन’–गाईघाटस्थित हिमाली यातायात व्यावसायी संघका महसचिवसमेत रहेका उनले भने–‘बल्ल यो सडक सबैको चासोमा परेको छ, अब अवस्था सुधार हुन्छ र चाडै सहजरुपमा गाडी चलाउन पाइन्छ कि भन्ने आश जागेको छ ।’
मैनालीले भने जस्तै कोशी ब्यारेजको विकल्पमा सुनसरीको चतरा र मैनामनीस्थित सप्तकोशी नदीमा पक्की पुल बनेपछि भने यो सडक खण्डले सरकारी निकायको ध्यान खिचेको छ । करोडौंको पुललाई सदुपयोग गर्नेबारे सडक विभागले योजना बनाउदै गर्दा मधेश आन्दोलनले महेन्द्र राजमार्ग ठप्प बनेपछि विभागका अधिकारीहरु वैकल्पिक मार्गको स्तरोन्नति गर्न र सहजरुपमा पुर्व पश्चिम यातायात सञ्चालन गर्न तातिएका छन् । यसले बर्षाैदेखि राज्यबाट उपेक्षित भएको महसुस गरिरहेका उदयपुरबासीहरु भने हर्षित छन् । तर, महेन्द्र राजमार्ग सुचारु भएलगत्तै यो बाटो पुनः ओझेलमा पो पर्ने हो कि भन्ने त्रास पनि छ । ‘राज्यले वेवास्ता गरिदिदा अहिले धेरै सास्ती पाइरहेका छौं, यो बाटो पहिल्यै स्तरोन्नति गरिदिए अहिले यस्तो अवस्था आउने थिएन’–गाईघाटका यातायात व्यावसायी एवं हिमाली संघका अध्यक्ष प्रेमकुमार राईले भने–‘हामी साथ दिन तयार छौं, सरकारले यो बाटोलाई प्राथमिकता दिओस् ।’
उदयपुरका यातायात व्यावसायी, उद्योगी एवं सर्वसाधारणमा त्यसै आशा जागेको भने होइन । व्यावहारिकरुपमा नै सडक विभागले सुनसरीको धरानदेखि उदयपुर, कटारीसम्मको वैकल्पिक सडक स्तरोन्नति गर्न चासो र पहल गरेपछि स्थानीयबासी खुशी छन् । दशैंअघि पुर्वाञ्चल क्षेत्रीय प्रशासकसहित पुर्वाञ्चल क्षेत्रीय सडक निर्देशक, सुनसरी उद्योग वाणिज्य संघ, यातायात व्यावसायीहरु स्थललगत निरीक्षणमा गएको थियो । लगत्तै, सिण्डिकेटको समस्या सुल्झाउदै उक्त टोलीले बस तथा साना सवारी साधानहरु यो बाटोबाट सुचारु गराएको थियो । अहिले पुर्वी नाका काकडभिटादेखि गाईघाटसम्म निर्वाधरुपमा बस तथा साना सावरी सञ्चालन भइरहेको छ भने गाईघाटबाट कटारी, घुर्मी हुदै राजधानीतर्फ पनि गाडीहरु गइरहेको छ ।
पुनः क्षेत्रीय सडक निर्देशक शिवहरी सापकोटासहित पुर्वका उद्योगी एवं यातायात व्यावसायीहरु बाटो निरीक्षण गर्दै गाईघाटसम्म पुगे, र उद्योगी, यातायात व्यावसायीसँग छलफल पनि गरेका छन् । ‘पहिलो चरणमा निरीक्षणमा गएपछि खराब ठाउँमा मर्मत गरेर जसरी भएपनि यातायात सुचारु गर्न सफल भएका थियौं, सिण्डिकेटको समस्या पनि छलफल गरेर समाधान गर्यौं’–सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठले भने–‘तर, यात्रुबाहक बस र साना गाडी मात्रै चलिरहेको छ । मालवाहक ठुला सवारीलाई चलाउन सम्भव छ कि छैन । के गर्दा सुचारु हुन्छ भनेर स्थानीय र सरोकारवालासँग छलफल गर्न पनि गएका थियौं, सडक विभाग पनि सकरात्मक छ, स्थानीयहरु पनि धेरै उत्साहित छन् ।’ स्थलगत अनुगमनमा गएको टोलीले बेल्टार र गाईघाटमा सडकको स्तरोन्नति र सम्भावनाबारे स्थानीय यातायात व्यावसायी, उद्योगी व्यावसायीहरुसँग अन्र्तक्रिया गरेको थियो । स्थानीयले पुर्व १ नम्बर प्रदेशको लागि यो सडक महत्वपुर्ण हुने भन्दै यसलाई उच्च प्राथमिकता दिन सरकारसँग आग्रहसमेत गरे ।
सरकारले धरानदेखि चतरा हुदै उदयपुरको बेल्टार, गाईघाट, कटारी हुदै सिन्धुलीबाट हेटौडा निस्कने वैकल्पिक राजमार्गको अवधारणा अघि सारेको छ । यही अवधारणाअनुरुप ट्रयाक खोल्ने काम शुरु भएको झण्डै आधा दशक बितेपनि सुस्त गतिमा छ । कोशी पुल बनेपनि सडकको सञ्जाल मैनामनि हुदै बसाहाबाट दक्षिणतर्फ फत्तेपुर हुदै कञ्चनपुर निकालेर पुनः महेन्द्र राजमार्गमा नै जोड्न प्राथमिकता दिएर यो रुटलाई विकल्पकोरुपमा विकास गर्न चासो दिइएको थिएन । सुनसरीको नडाहादेखि कञ्चनपुरसम्मको ६२ किलोमिटर सडक पक्की गर्न ठेक्का लागेर काम पनि शुरु भइसकेको छ । तर, कोशीमा पुल निर्माण सम्पन्न भएपछि भने यो वैकल्पिक सडकको प्रेसर बढेको पुर्वाञ्चल क्षेत्रीय सडक निर्देशक शिवहरी सापकोटाले बताए ।
उनका अनुसार धरानलाई जिरो मानेर चतरा र बराहक्षेत्रसम्मको सडक कलोपत्रे गर्न ठेक्का लागिसकेको छ भने नहाडादेखि बसाहासम्मको सडकको पनि ठेक्का भइसकेको छ । बहासादेखि पश्चिमको बाटो स्तरोन्नति गर्न विभागले नै प्रस्ताव पेश गर्न निर्देशन दिइसकेको उनले खुलाए । ‘बसाहा पश्चिमको बाटोबारे विभाग महानिर्देशकबाट आवश्यक प्रस्ताव पेश गर्न निर्देशन भएको छ, हामी तत्काल र दिर्घकालीन योजनासहित २ वटा प्रस्ताव तयारीमा छांै । स्टिमेट पनि हुदैछ, यो सडक स्तरोन्नति गर्न र सहजरुपमा यतायात सञ्चालन गर्न दत्तचित्त भएर लागेका छांै’–सापकोटाले भने । यो सडक भविष्यमा कटारीबाट सिधा सिन्धुली हुदै हेटौडा निस्कने हो । तत्काललाई भने सहजताको लागि गाईघाटबाट कटारी निस्केर घुर्मी हुदै खुर्कोट पुगेर बीपी राजमार्ग हुदै राजधानी पुग्न उपभोग भइरहेको छ ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे