सहमतिपछि सुनसरीका एम्बुलेन्सहरु सुचारु

धरान । असुरक्षाको कारण देखाउदै तीन दिनदेखि सेवा ठप्प बनाएका सुनसरीका एम्बुलेन्स चालकहरुले मंगलबार साँझदेखि सेवा सुचारु गरेका छन् । नेपाल रेडक्रस सोसाइटी सुनसरीको पहलमा आयोजित सर्वपक्षीय छलफलमा मुलुकको बिषम परिस्थितिमा भएको र मागप्रति प्रहरी प्रशासन, नागरिक समाजले गम्भीररुपमा चासो लिएपछि चालकहरु सेवा सुचारु गर्न सहमत भएका हुन् ।
चौबिसै घण्टा निर्वाध सेवा सञ्चालन गर्नुपर्ने एम्बुलेन्सहरुले असुरक्षाको कारण देखाउदै तीन दिनदेखि सेवा ठप्प बनाएका थिए । मधेशी मोर्चाका कार्यकर्ताहरुले दुहबी र विराटनगरमा विरामी बोकेको एम्बुलेन्समाथि आक्रमण गरेर चालकलाई मरणासन्न हुने गरी कुटपिट गरेपछि सुनसरी, मोरङ र झापाका एम्बुलेन्सहरुले सेवा ठप्प बनाएका थिए । धरान १ स्थित रेडक्रस भवनमा आयोजित सर्वपक्षीय छलफलमा एम्बुलेन्स चालक संघले आक्रमण गर्नेमाथि कडा कारबाही हुनुपर्ने, घाइते चालकलाई क्षतिपुर्तिसहित उपचार खर्चको व्यवस्था गर्नुपर्ने, निर्वाधरुपमा एम्बुलेन्स आवागमन गर्न पाउने वातावरण बनाउनुपर्ने, इन्धन आवश्यकताअनुसार उपलब्ध गराउनुपर्नेलगायत ६ बुँदे माग प्रस्तुत गरेको थियो ।
‘घाइते चालकको स्वास्थ्य उपचारको लागि सम्बन्धित निकायमा सिफारिश गर्ने, सुरक्षाको लागि एम्बुलेन्स चालकहरुले नजिकको सुरक्षा निकायलाई जानकारी गराउने र आफ्ठ्यारो स्थानमा स्कर्टिङ गरिदिने सहमति भएको छ’–रेडक्रसका जिल्ला सभापति उमेश थापाले भने–‘इन्धन सहजतारुपमा उपलब्ध गराउन एउटा संयन्त्र बनाएर सहजीकरण गरिनेछ ।’ उनका अनुसार संयन्त्रमा रेडक्रस, प्रशासन र चालक संघका प्रतिनिधि रहनेछन् र मापदण्ड तयार गरेर त्यसैअनुसार कार्यान्वयन हुनेछ । धरानमा ट्राफिक प्रहरीले र इटहरी, इनरुवाको लागि रेडक्रसले एम्बुलेन्सलाई इन्धन उपलब्धताको जिम्मा लिने पनि सहमति भएको छ ।

                                            दोहोरो मारमा परेको गुनासो

एम्बुलेन्स चालकहरुले आफुहरु आन्दोलनकारी र इन्धन अभावमा मानवीय कर्तव्यको दोहारो मारमा परेको गुनासो पोखेका छन् । मधेशी मोर्चाको कार्यकर्ताहरुबाट असुरक्षासँगै इन्धन अभावले एम्बुलेन्स चलाउन नसक्दा विरामीका आफन्तजनबाट पनि उतिकै मारमा परेको उनीहरुको गुनासो छ । ‘विरामी लिएर जादा आन्दोलनकारीले कुट्ला भन्ने डर छ, अर्कोतर्फ डिजेल नभएर विरामी लैजान सक्दिन भन्दा विरामीको आफन्तले कुट्ला भन्ने डर छ । हामी त दोहोरो चेपुवामा छौं’–एम्बुलेन्स चालक संघका अध्यक्ष रामनारायण मण्डलले भने–‘हाम्रो सुरक्षा भएन, अत्यावश्यक सेवा भनिएपनि एम्बुलेन्सलाई सहजरुपमा डिजेल दिइदैन, अनि कसरी चलाउन सक्छौं ?’
एम्बुुलेन्स चालकहरुले प्रहरी प्रशासनकै अघि आक्रमण हुदा पनि मुकदर्शक बस्ने गरेको भन्दै आक्रोश पोखे । साथै, डिजेल थाप्नको लागि विरामी बोकेर प्रशासनको सिफारिश लिन धाउनु पर्ने हुदा धेरै झण्झट हुने गरेको र विरामीको ज्यानै पनि जोखिममा पर्ने चालकहरुले बताए । ‘विरामी बोकेको एम्बुलेन्सलाई मात्रै डिजेल दिने भन्छ, विरामीलाई एम्बुलेन्समा राखेर अस्पताल तिर लैजानु कि तेलको सिफारिश लिन दौडधुप गर्नु ? त्यही बीचमा विरामी मर्यो भने को जिम्मेवारी हुने ?’–अर्का चालक किरण मगरले भने–‘राती १२, १ बजेतिर विरामीको फोन आउछ, त्यति बेला सिफारिश कहाँबाट पाउने ? कार्यालय त बन्द हुन्छ । अनि, तेल छैन भन्दा विरामीका आफन्तले उल्टै धम्की दिन्छन् ।’


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे