ग्याँसको विकल्पमा बायो बिक्रेट

धरान । भारतीय नाकाबन्दीले सर्वत्र ग्याँसको हाहाकार मच्चिदा पनि धरान ८, दुर्गापथका गोपाल श्रेष्ठ भने डिलरमा ग्याँस आयो कि आएन भनेर कुनै सरोकार राख्दैनन् । विगत एक दशकदेखि उनी आफै वायो बिक्रेट उत्पादन गरिरहेका छन् र, उनको घरमा त्यसैबाट खाना पाक्छ ।
भारतको नाकाबन्दीले ग्याँस नपाएर अरु छटपटिरहदा उनको परिवारलाई भने कुनै चिन्ता छैन । ‘घरमा खाना पकाउन ग्याँस छ कि छैन भन्ने कुनै समस्या छैन । हामी ग्याँस नै चलाउदैनौं, त्यसैले ग्याँस चाहिन्छ भन्ने पनि छैन’–उनी निर्धक्क भन्छन् । धरान ८ स्थित लांघाली सामुदायिक वन समुहमा ०६२ सालदेखि वैकल्पिक उर्जाकोरुपमा वायो बिक्रेट(वनस्पति कोइला) उत्पादन शुरु भएको थियो । उनी शुरुवातदेखि नै बिक्रेट उत्पादनमा संलग्न छन् । बिक्रेट उत्पादनलाई निरन्तरता दिइरहदा उनको घरमा पनि शुरु गरेदेखि नै बिक्रेटबाट चुलो बल्न थालेको श्रेष्ठ बताउछन् । उनी लांघाली वन समुहको वन विकास तथा वातावरण उपसमिति संयोजक पनि हुन् ।
पछिल्लो समय भारतको नाकाबन्दीले नेपालमा ग्याँसको चरम अभाव छ । सरकार र ग्याँस व्यावसायीले सर्वसाधारण उपभोक्ताहरुलाई आवश्यकता वमोजिम ग्याँस उपलब्ध गराउन सकेको छैन । ग्याँस नपाएर छटपटिएका उपभोक्तालाई बायो बिक्रेट उपयुक्त विकल्प भएको श्रेष्ठको भनाई छ । ‘ग्याँस पाएन भनेर किन चिन्ता लिनुहुन्छ । वायो बिक्रेट लगेर आरामले खाना पकाउदा भैगयो नि’–उनले भने–‘नाकाबन्दीले ग्याँस पाउन छोडेपछि माग बढेको छ, तर हामीले नै उत्पादन गर्न सकेको छैनौं ।’
उनका अनुसार ठुलो र सानो गरी दुई किसिमको बिक्रेट उत्पादन हुन्छ । ठुलो बिक्रेट कम्तीमा २ घण्टा बल्छ भने सानो डेढ घण्टा मजाले बल्छ । परिवार संख्या अनुसार यो समयभित्र ठुलो र सानो बिक्रेटले भात, दाल र तरकारी पकाउन सकिन्छ । यहाँको उत्पादनले धरानकै माग थेग्न गाह्रो छ । धरानबाहेक इटहरी, विराटनगर, दमक, धनकुटातिरबाट पनि माग भइरहेको छ । भर्खर काठमाण्डौंबाट एक ट्रक(करिब ५ हजार पिस) बिक्रेटको माग भएको छ । ‘त्यत्रो संख्यामा पठाउन सक्दैनौं, हामीसँग त्यतिको स्टक पनि छैन र ढुवानीमा पनि समस्या छ’–श्रेष्ठले भने । उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि बिक्रेट धेरै नै खपत हुने गरेको छ । हिटरबाट भन्दा बिक्रेटको तापले साना बच्चालाई सेकाउदा धेरै फाइदा हुने भन्दै प्रतिष्ठानबाट धेरै नै अर्डर आउने गरेको हो ।
वायो बिक्रेटको लागि फलामको छुुट्टै चुला तयार गरिएको हुन्छ । त्यहाँ बिक्रेटसँगै तीन सय रुपैयामा चुला पनि उपलब्ध हुन्छ । ठुलो साइजको एक पिस बिक्रेटलाई बीस र सानोलाई अठार रुपैया तिरे पुग्छ । हिउँद(जाडो याम)मा बिक्रेटको खपत धेरै हुन्छ । वनस्पतिबाट तयार गरिने भएकोले बिक्रेटले स्वास्थ्यलाई हानी पनि नहुने बिक्रेट उत्पादक रनमाया पाख्रिनले बताइन् । उनी पनि लांघाली वनमा शुरुदेखि नै श्रेष्ठसँगै बिक्रेट उत्पादनमा संलग्न छिन् । ‘बिक्रेटलाई दाउरामा जसरी फुकीरहन पदैन, एकपटक सल्काएपछि वलिरहन्छ । धुवा हुदैन, ठुलो आवाज पनि आउदैन । ग्याँसजस्तो पडकिन्छ भन्ने डर पनि हुदैन’–बिक्रेटको फाइदाबारे पाख्रिनले भनिन्–‘ग्याँस नभएर होला दशैंमा धेरै नै बिक्री भयो ।’ उनका अनुसार असोजदेखि चैत महिनासम्म बिक्रेटको अत्यधिक माग हुन्छ, र यही समयमा उत्पादन पनि बढी हुन्छ ।
बिक्रेट बनाउन कच्चा पदार्थको धेरै समस्या पनि छैन । वनमा फालिने वा सडेर खेर गइरहेको वनमारा, झिक्राझाक्रीहरुलाई पोलेर निस्किएको कोइलाबाट बिक्रेट तयार गरिन्छ । वन समुहलाई तालिमसँगै लघु उद्यम विकास कार्यक्रमले बिक्रेटको फर्मा र कोइला पोल्ने मेशिन अनुदान दिएको छ । वनमारा, झिक्रा संकलन गरेर सुकाउने र उत्पादन हुदासम्म तीन दिन समय लाग्छ । तीन दिनमा ६ सय अर्थात सरदर दैनिक २ सय पिस बिक्रेट उत्पादन हुन्छ । शुरुवातमा वन समुहका थुप्रैले तालिम लिएका थिए । उनीहरुले समुह बनाएर उत्पादन र बिक्री गर्ने गरेपछि धेरै जनाले छोडे । ती मध्ये श्रेष्ठ र पाख्रिनले मात्रै निरन्तरता दिएका छन् भने सिजनमा उनीहरुले दर्जन बढीलाई रोजगारी दिन्छन् । बिक्रेट बिक्री भएवापत १० प्रतिशत रकम दुवै जनाले वन समुहलाई बुझाउछन् । यहाँबाहेक चतरा, भरौल, इलाममा पनि बिक्रेट उत्पादन हुने गरेको दुवैको भनाई छ ।
                                                      लगानी नहुदा समस्या

वायो बिक्रेटको माग अत्यधिक भएपनि आर्थिक अभावले उत्पादन बढाउन नसकिएको श्रेष्ठको भनाई छ । लगानी बढाउन सके रोजगारीको थप अवसर सृर्जना हुने र उत्पादन पनि वृद्धि हुनेछ । ‘कतैबाट ऋण लगानी भइदिए उद्यमलाई व्यवस्थितरुपमा अघि बढाउन सक्थ्यौं । माग अनुसार उत्पादन बढाउथ्यौं र थप रोजगारी पनि सृर्जना हुनेथियो’–श्रेष्ठले भने ।
उत्पादन थालेको शुरुवाती समयबाहेक वायो बिक्रेटको मार्केटिङ गर्नु नपरेको उत्पादनमा संलग्नद्धयको भनाई छ । ग्याँसमा परर्भिर हुनुभन्दा खेर गइरहेको वनस्पतिलाई प्रयोग गरेर बिक्रेट उत्पादन गर्ने र उपभोग गर्न सरकारले पनि प्रोत्साहन दिनुपर्ने उनीहरुको धारणा छ । ‘हामीले मार्केटिङ गर्नुपरेको छैन, फोन गरेर नै कति लिन आउछन्, कतिले मगाउछन्’–पाख्रिनले भनिन्–‘सरकारले पनि यस्तो उत्पादनलाई प्रोत्साहन दिनुपर्छ ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे