शिवजट्टा हाइकिङ(फोटोफिचर)
साथीभाई, आफन्तजनसँग रमाइलो भेटघाट । दशमीको दिन मान्यजनको हातबाट टिका लगाएर आर्शिवाद थाप्ने अनि मिठो परिकार खाने चाड हो दशैं । मधेश आन्दोलन र भरतको अघोषित नाकाबन्दीले यसपालीको दशंैमा सदा झै सबैतिर हर्ष र उल्लास छाएन । इन्धन नभएर सवारी गुडाउन समस्या । ग्याँस नपाएर खाना पकाउनै समस्या । तर, समस्या समस्यैबीचमा पनि दशैं आयो, गयो ।
दशैं हिन्दु धर्मावलम्बीको चाड । म परे किराती । तरपनि हामी घरमा टिका लगाउछौं । मान्यजनकोमा आर्शिवाद थाप्न जान्छौं । यसले नाता, सम्बन्धलाई अझ प्रगाढ बनाउछ । दशैं वहिष्कार गर्ने जनजातिहरुको आफ्नै तर्क होला तर म सद्भावको रुपमा पनि दशैंमा टिका थाप्छु । बहुल समाजमा एक समुदायले अर्को समुदायको भाषा, धर्म, सँँस्कृतिका सम्मान गरेमात्र हाम्रो राष्ट्रियता र एकता वलियो वन्छ ।
दशैंमा भेटघाट, रमाइलोसँगै खानपिन पनि अधिक हुन्छ । माछा, मासु र मदिरा पिएर रमाइलो गर्ने चलन छ । स्वास्थ्यप्रति जति नै सचेत भएपनि चाडपर्वमा साथीभाई, आफन्तजनको आग्रह टार्न सकिन्न । यसले दशैं विदाको छोटो समयमा नै शरीरलाई असहज बनाइदिन्छ, पेट(ज्यान) झनै लागेजस्तो । भएको पनि त्यही हो । खायो, रमाइलो गर्यो, यताउता डुल्यो, केही पुस्तक पढ्यो, बस काम नै त्यति । दशैं विदाको सदुपयोग गर्दै नजिकको गन्तव्यमा हाइकिङ जाने इच्छा थियो । साथीभाईसँग सल्लाह गरेपनि साइत जुर्न सकेको थिएन । कोजाग्रत पुर्णिमाको अघिल्लो रात घरमा साथीभाई तास खेलेर रमाईलो गरिरहदा हाईकिङ जाने सल्लाह भयो । सबैको सहमतिमा हाईकिङको गन्तव्य बन्यो, शिवजट्टा झरना ।
शिवजट्टा पहिला पाँचकन्या गाविसमा थियो । झण्डै दुई बर्षअघि पाँचकन्या धरानमा गाभिएपछि अहिले धरान उपमहानगरपालिकाको २१ नम्बर वडामा पर्छ । धरान बजारबाट करिब ५ किलोमिटर उत्तर पुर्वमा अवस्थित छ । झरना नजिकै शिवालय छ । कच्ची बाटो बनेपनि शिवजट्टासम्मै भने छोएको छैन । थोरै पैदल हिड्नुपर्छ । पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना भएर पनि ओझेलमा परेको ठाउँ हो शिवजट्टा । यसको प्रचार, प्रर्वद्धन र विकासमा कसैको पनि ध्यान पुगेको छैन । शिवजट्टाको झरनाबारे धेरै सुनेपनि तीन बर्षअघि मात्र दशैंको बेला धराने साइक्लिष्टहरुको साथमा साइक्लिङ गर्दै पुगेको थिए । शहरी जीवन, धुवाधुलोबाट टाढा । प्रकृतिको काखमा पुग्दा त्यतिबेला आनन्द लागेको थियो । यसपाली पैदल यात्रामा पटक जान लागेको । कार्तिक ९ गते(सोमबार) धरान १३ स्थित अमरहाटमा भेला भएर पाइला चाल्दा साढे एघार बजिसकेको थियो ।


बाटोमा हिड्दै गर्दा एक ठाउँमा भिरपटी अजिबको आवाज सुनेँ । आवाज सुन्नेबित्तिकै भने, ‘सर्पले भ्यागुतो समातेछ ।’ तर कसैले पत्याएनन् । सबैले कुनै चराको आवाज होला भने । मलाई भने विश्वास थियो, त्यो आवाज सर्पले निल्दै गरेको भ्यागुताको पीडा हो । आवाज आएतिर नियालेर हेरे, केही घस्रिएजस्तो देखे । सबै साथीभाईलाई देखाउदै भने, लौ त्यहाँ हेर त । नभन्दै एउटा सानो सर्पको मुखमा भ्यागुतो च्यापेको प्रष्टै देखियो । नेशनल जिओग्राफीमा मात्रै देखिने भैm दृष्य थियो । कोही भन्दै थिए, फोटो खिचौ फोटो खिचौ । सबै जना छक्कै पर्दै मलाई सर्प विज्ञ पो भन्न थाले । म के को सर्प विज्ञ हुनु नि । सानोमा झापाको जलथलमा जन्मेर हुर्किएको । त्यहाँ घर नजिकै खेत, पैनीतिर यसैगरि सर्पले भ्यागुतो खाएको देखेको । त्यो बेला भ्यागुतोको पीडादायी आवाज मेरो कान हुदै मन मस्तिष्कमा गढेर बसेको छ । त्यो आवाज सुनेभने लाग्छ, एउटा भ्यागुतो सर्पको शिकार भयो ।

धरानमा पर्ने दुई ठुलो खोलामध्ये सेउतीको शिर पनि शिवजट्टा हो । झरना पुग्ने बेला पुल हुदै तर्नु पर्छ । करिब दुई घण्टा अधिकांश तेरस्रो र थोरै उकालो बाटो हिडेपछि गन्तव्य आइपुगियो । झरना पुग्नुअघि मन्दिर टेकिन्छ । बाहिरैबाट दर्शन गरेर झरनातिर लम्कियौं । सङलो पानी झरिरहेछ । नजिकै पुगेर फोटो खिच्यौं, निक्कैबेर रमायौं । त्यसभन्दा माथि पनि अर्को झरना रहेछ । चटनमा गाडिएको फलाम समाउदै टेक्दै माथि चढेपछि अर्को झरनामा पुगिने । सानो गुफाजस्तो ठाउँमा रहेछ । यसैपाली थाह भयो । माथिल्लो झरनामा पानी अझ धेरै थियो । धरानमा ब्रिटिश क्याम्प रहदा गोराहरुले यहीबाट पाइलाइनमार्फत पानी लगेर उपभोग गरेका थिए । अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि उपभोग गरिरहेका छ । पानी त्यसरी नलग्ने हो भने यो झरना अझ कति ठुलो देखिन्थ्यो होला ?


खोलामा स्थानीयले सिम सागको खेती गरेका रहेछन् । ढुंगैढुंगामाथि पानी जमाएर साग उमारेका । सबैले तीस रुपैया मुठाको साग किनेर बोक्यौं । अझ तलतिर माछा मार्दै गरेको समुह भेट्यौ । त्यसलाई दुवाली छेकेको भनिदो रहेछ । ‘साउने खोला उर्लेर आउदा, माछा मार्नु दुवाली छेकेर..’ भन्ने गीत धेरै सुनेको । तर, पहिलो पटक दुवाली छेकेको दृष्य देखे, शिवजट्टा हाईकिङ यसअर्थमा पनि रमाइलो र फलदायी रह्यो ।
......................................
जमानवीर राई(७३), मन्दिरको जग्गादाता

...................
इन्द्रमान राई, मन्दिर पुजारी

Comments
Post a Comment