स्थानीय निर्वाचनमा धरानमा कस्ले पाउला टिकट ? उम्मेद्वार छान्न पार्टीलाई सकस

धरान । करिब दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनले राजनीति दलका नेता, कार्यकर्ताहरुमा चुनावी सरगर्मी बढाएको छ । आगामी बैशाख ३१ गते हुने भनिएको निर्वाचनले स्थानीयदेखि जिल्लासम्मका नेताहरुलाई उम्मेद्वारको आकांक्षी बनाएको छ भने कार्यकर्ताहरु को नेताले बाजी मार्ला भनेर चासोका साथ हेरिरहेका छन् ।
सुनसरी जिल्लाको दुई उपमहानगरपालिकामध्ये धरानमा प्रमुख दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरु मेयर, उपमेयरको उम्मेद्वार बन्न आन्तरिक लविङ र दौडधुपमा छन् । संसदमा चौथो ठुलो दल राप्रपा र निर्वाचन बहिष्कार गरेको मधेशी मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरम नेपाल पनि धरानमा आन्तरिकरुपमा निर्वाचनको तयारीमा जुटेको छ । तर, मेयरमा जति आकांक्षीहरु दौडधुपमा छन्, उपमेयरमा भने त्यस्तो छैन । यसअघि २०४८ र २०५४ सालको स्थानीय निर्वाचनमा धरानमा दुवै पटक मेयर, उपमेयरमा एमाले विजयी भएको थियो । त्यसबेला कांग्रेसका उम्मेद्वार निकटतम प्रतिद्धन्दी थिए । यसपटक पनि एमाले, कांग्रेस र माओवादी केन्द्रबीच त्रिपक्षीय चुनावी प्रतिस्र्धा हुने अनुमान गरिएको छ ।
धरानमा एमाले, कांग्रेस, एमाले र माओवादी केन्द्रमा उम्मेद्वारका आकांक्षीहरु धेरै देखिएका छन् । कुनै पनि पार्टीले उम्मेद्वार तय नगरेपनि ती पार्टीका आकांक्षी नेताहरु कार्यकर्ता भेटघाटमा ब्यस्त रहेको ती पार्टीका स्थानीय नेताहरु बताउछन् । धरानमा कांग्रेसबाट मेयरमा ५ जना उम्मेद्वारको आकांक्षी देखिएका छन् भने उपमेयरमा पनि उतिकै संख्यामा नाम चर्चामा छ । मेयरको आकांक्षीमा कांग्रेसका पुर्व नगरसभापति एवं एन्फा केन्द्रीय उपाध्यक्ष किसोर राई, वर्तमान सभापति तिलक राईसँगै कांग्रेस जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र गोले तामाङ, महासमिति सदस्य पर्वत राई र सन्दीप श्रेष्ठ आकांक्षी छन् । पुर्वनगर समापति राई कांग्रेस सभापति देउवा पक्षधर र विगतमा १४ बर्षसम्म धरानमा नेतृत्व हाँकेकाले वलियो आकांक्षी मानिएको छ । यस्तै, अन्य आकांक्षीहरु नेता रामचन्द्र पौडेल खेमाका हुन् । उनीहरुको पनि दौडधुपमा छन् । यस्तै, उपमेयरमा मिना पुलामी, श्यामा रेग्मी, उर्मिला प्रधानसँगै शिला ब्रजचार्य र हिमाल राईको पनि नाम चर्चामा छ । तर, उनीहरु मेयरका आकांक्षी जस्तो दौडधुपमा भने छैनन् ।
धरानमा संगठन विस्तारको हिसाबले एमाले वलियो पार्टी मानिन्छ । यसअघिको दुई स्थानीय निर्वाचनमा एमालेले मेयर, उपमेयर जितेको थियो । एमालेका नगरअध्यक्ष तारा सुब्बासँगै जिल्ला कमिटि सदस्य एवं धरान नगर सहइञ्चार्ज जयकुमार राई, जिल्ला उपाध्यक्ष रमेश बस्नेतको नाम पनि मेयरमा उम्मेद्वारका आकांक्षीकोरुपमा चर्चा छ । तर, धरानमा दोस्रो पटक एमाले अध्यक्षको नेतृत्व सम्हालिरहेका सुब्बालाई उम्मेद्वारको वलियो आकांक्षी मानिएको छ । उपमेयरमा सावित्री श्रेष्ठ, वेणु काफ्ले, मञ्जु भण्डारी र निर्मला राईको नाम चर्चामा छ । श्रेष्ठलाई यसअघिको दुवै संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेद्वार बनाएपनि सभासदमा नपारिएकोले उपमेयर उम्मेद्वार बनाउनुपर्ने भन्ने मत पनि छ । नेतृ काफ्ले जिल्ला कमिटि सदस्यसँगै अनेमसंघकी जिल्ला कार्यवाहक अध्यक्ष भएपनि सरकारी स्कुलकी शिक्षिका भएकोले उम्मेद्वार बन्ने सम्भावना कम छ । एमाले जिल्ला सदस्य नेतृ भण्डारीलाई उपमेयर बनाए पार्टी गुटको समायोजन पनि हुने भएकोले उनको सम्भावना बढी छ । उनी पार्टी अध्यक्ष ओली पक्षधर उनको स्थायी कमिटिका नेताहरुसँग पनि राम्रो सम्पर्क छ । मेयरका आकांक्षीकोरुपमा चर्चामा रहेका एमाले जिल्ला उपाध्यक्ष रमेश बस्नेत भने व्यक्तिगत आकांक्ष भन्दा पनि पार्टीको निर्णय महत्वपुर्ण हुने बताउछन् । ‘को उम्मेदवार भन्दा पनि पार्टी, संगठनको काममा नै बढी केन्द्रीत छौं, व्यक्तिगत आकांक्षको कुरा होइन, पार्टीले निर्णय गर्छ’–उनी भन्छन् ।
स्थानीय निर्वाचनलाई लक्षित गरेर माओवादी केन्द्र पनि संंगठन विस्तार र कार्यकर्ता भेटघाटमा ब्यस्त छ । माओवादीमा नगर संयोजक चोत्लुङ, सहसंयोजक राम आङबुहाङसँगै सह इञ्चार्ज अशोक राई, दिलबहादुर रामदाम, भुमिका चौलागाई र केन्द्रीय सदस्य तथा जिल्ला कार्यालय सदस्य अइन्द्र बेघा पनि मेयरका आकांक्षी छन् । उपमेयरमा कमला राई, चेतना श्रेङ, उमिता बराइलीसँगै दिपेश श्रेष्ठ र रमेश राईको पनि नाम चर्चामा छ । ‘व्यक्तिगतरुपमा लविङ गर्दै हिडेको छैनौं’–बेघाले भने–‘चैत २१ को आसपासमा उम्मेद्वार नाम फाइनल गछौं ।’
प्रमुख तीन पार्टी कांग्रेस, एमाले र माओवादी केन्द्र चुनावी अभियान तीब्र पारिरहदा राप्रपाले पनि वडा वडामा राप्रपा अभियान लिएर चुनावी तयारीमा जुटेको छ । राप्रपामा पनि पुर्व जिल्ला उपाध्यक्ष एं केन्द्रीय पार्षद हरिकृष्ण श्रेष्ठ, धरान उपमहानगर अध्यक्ष जुद्ध लोहनीसँगै उपाध्यक्ष प्रकाश राई पनि आकांक्षी छन् । यस्तै, उपमेयरमा अञ्जली आचार्य र ज्योति बिकको नाम चर्चामा छ । ‘अहिले पार्टी चुनावी अभियानमा छौं, उम्मेद्वारको नाम पनि चाडै तय गछौं’–नगरअध्यक्ष लोहनीले भने ।
संविधान संशोधनको माग लिएर आन्दोलनरत मधेशी मोर्चाको घटक संघीय समाजवादी फोरमले पनि भित्रभित्रै चुनावी तयारी गरिरहेको छ । फोरमले धरानमा चैत १९ गतेदेखि वडा भेला शुरु गर्दैछ । यसको उद्देश्य संगठन विस्तारसँगै आकांक्षीहरुको नाम ल्याएर पार्टीमा छलफल गर्ने हो । अहिले फोरममा नगर अध्यक्ष पारस काङमाङसँगै लिम्बुवान प्रदेश कमिटि सदस्य गजेन्द्र इस्वो, विजय लिम्बु, किरात प्रदेश कमिटि सदस्य मानभगत चाम्लिङ, पुर्व जिल्ला सचिव एवं हालका सदस्य ताजुब लिम्बु र क्षेत्रीय अध्यक्ष राम राईको नाम चर्चामा छ ।  यी मध्ये अध्यक्ष काङमाङ वलियो आकांक्षी मानिन्छ । यस्तै, उपमेयरमा एइसा सुनुवार, विना पुमा, सुमित्रा राई र रिता काङमाङको नाम चर्चामा छ । ‘आन्दोलनसँगै निर्वाचनको आन्तरिक तयारीमा जुटेका छांै, वडा भेला त्यसैको लागि हो’–फोरम जिल्ला सदस्य ताजुब लिम्बुले भने ।
साविक पाँचकन्या गाविस र विष्णुपादुका गाविस समायोजन भएपछि धरान उपमहानगरको कुल जनसंख्या १ लाख ३७ हजार ७ सय ५ छ । ती मध्ये ७४ हजार ५ सय ४५ मतदाता रहेको तथ्यांक छ । पुर्नसंरचना आयोगको प्रतिवेदनको आधारमा धरानमा हाल २० वटा वडा कायम भएको छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे