एसइइ पछि अर्को परीक्षामा किसोरीहरु

धरान । एसएलसी परीक्षाको नयाँ रुप एसइइ परीक्षा दिएपछि के गर्ने होला ? अरु बेला भइदिए त धरान १० की १५ बर्षीय लिसरा थापा मगरलाई यही चिन्ताले सताउथ्यो होला । तर, गत चैत १३ गते परीक्षा दिइसकेपछि उनलाई भने यस्तो चिन्ता थिएन । यसको कारण हो विगत बर्षहरुदेखि हुदै आएको टेष्टी टेष्टी मिस एसएलसी(हाल एसइइ) ।
परीक्षा दिएर फुर्सदिला बनेका छात्राहरुको समय सदुपयोग गर्दै विभिन्न तालिमहरु दिलाएर आत्मविश्वास बढाउने र व्यावहारिक ज्ञान दिदै असल नागरिक बनाउने उद्देश्यले मिस एसईई २०१७ आयोजना भइरहेको छ । परीक्षा दिएपछि लिसरा अहिले त्यही कार्यक्रमकी ३३ प्रतिस्पर्धी मध्ये एक बनेकी छिन् । गत चैत २२ गतेको अडिशनबाट छनौट भएकी उनी अहिले विभिन्न तालिममा सहभागी हुदै ज्ञान हासिल गरिरहेकी छिन् । ‘परीक्षा सकेपछि के गर्ने भनेर चिन्ता थिएन, पहिला पनि मिस एसएलसी भइरहेकोले म पनि यसपाली भाग लिन्छु भन्ने सोचेको थिए’–सहभागी हुनुको कारण बताउदै उनले भनिन्–‘पहिलाको प्रतियोगीहरुमा शुरुवातमा र कार्यक्रम सकेपछि व्यक्तित्व विकास देखेर नै म पनि सहभागी भएकी हुँ ।’
मिस एसइइमा सहभागीहरुको लक्ष्य ताज पहिरिनु त छदैछ, त्यो भन्दा पनि महत्वपुर्ण कुरा प्रशिक्षण अवधिमा दिइने विभिन्न तालिमहरुबाट ज्ञान बटुल्ने र आत्मविश्वास बृद्धि गर्ने । हुुन पनि चैत २५ देखि प्रशिक्षण शुरुवात गरेको आयोजकले अहिलेसम्म झण्डै दर्जन तालिमहरुमा सहभागी गराइसकेको छ । जसले सहभागीहरुलाई समाजको अघि आफुलाई प्रस्तुत गर्ने आत्मविश्वास जगाइदिएको छ । ‘सोच जस्तो नै फाइदा भइरहेको छ । मास फेस कसरी गर्ने ? आफुलाई कसरी प्रस्तुत गर्ने ? कसरी बोल्ने भनेर आत्मविश्वास जागेको छ’–सत्य सिसु निकेतनकी छात्रा मगरले भनिन् ।
मगरसँगै सहभागी धरान १६ की निसम लिम्बु भविष्यमा समाजको सेवा गर्न चाहन्छिन् । आफ्नो त्यो लक्ष्यमा हिड्नको लागि मिस एसइइ सहयोगी भइरहेको उनले महसुस गरेकी छिन् । ‘म भविष्यमा समाज सेवा गर्ने चाहना छ, त्यसको लागि लिइरहेको तालिमहरु एकदमै सहयोगी हुने रहेछ’–विष्णु मेमोरियल उच्चमाविकी १६ बर्षीय छात्रा लिम्बुले भनिन्–‘पब्लिकसँग कसरी बोल्ने, अन्र्तक्रिया गर्ने भनेर आत्मविश्वास बढेको छ, पहिला जस्तो अब गाह्रो हुदैन ।’ आयोजकले सहभागीहरुलाई शनिबार अग्र्यानिक गाउँ वसन्तटारसम्म हाइकिङ लगेर अग्र्यानिक खेती र कृर्षि उत्पादनबारे ज्ञान अभिवृद्धि गराएको थियो भने आइतबार निसुङ्मा ब्युटिपार्लरमा आधारभुत मेकअप तालिम दिलाएको थियो । साथै, आइतबार नै सहभागीहरुको फोटोसुट पनि गरेको थियो ।
चौथो सिजनका क्रिएटिभ डाइरेक्टर मोहन श्रेष्ठका अनुसार सहभागीहरुलाई अहिलेसम्म उद्घोषण तालिम, प्रभावकारी भाषण कला, नेतृत्व विकास, आधारभुत पत्रकारिता, विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम, क्याटवक, अन्र्तवार्तालगायतको व्यावहारिक ज्ञान दिइएको छ । ‘अझै पनि समय व्यवस्थापन, जीवनपयोगी, आत्मरक्षा जस्ता ज्ञान दिलाउन बाँकी छ’–उनले भने–‘परीक्षा दिएपछि रिजल्ट नआएसम्मको समयलाई राम्रो व्यक्तित्व निर्माण र विकास गर्न जीवनमा चाहिने कला सिकाउदै राम्रो नागरिक बनाउने उद्देश्य हो ।’ आयोजक धरान जेसिजको अनुसार तालिम बैशाख १३ गतेसम्म सञ्चालन हुनेछ भने १५ गते धरान सभागृहमा ग्राण्ड फिनाले हुनेछ । विजेताले ताज, ट्रफीसँगै मिस एसइइको उपाधि जित्नेछन् भने धरान उच्चमाविमा कक्षा ११ र कक्षा १२ को पुर्णछात्रवृत्ति पनि पाउनेछ । यस्तै, फष्ट रनरअपले पनि ५० प्रतिशत र सेकेण्ड रनरअपले २५ प्रतिशत छात्रवृत्ति पाउने आयोजक धरान जेसिजका अध्यक्ष सन्दिप शाक्यले जानकारी दिए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे