२ लाखको अक्षय कोष स्थापना

धरान । बालबालिकाप्रति लगाव एवं समाजसेवाप्रति रुचि राख्ने स्वर्गीय मञ्जिला लुम्फुङ्वा साँवाको स्मृतिमा उनको परिवारजनले छात्रवृत्ति पुरस्कार स्थापना गरेका छन् । धरान १९ स्थित पर्वत सेकेण्डरी बोडिङ स्कुलमा परिवारजनले २ लाख अक्षय कोषसहित स्वर्गीय मञ्जिला स्मृति छात्रवृत्ति पुरस्कार स्थापना गरेका हुन् ।
विद्यालयमा आयोजित बार्षिकोत्सवमा परिवारकातर्फबाट स्वर्गीय साँवाका ससुरा हस्तवीर लिम्बु र विद्यालयकी प्रिन्सिपल भिष्मा चेम्जोङले छात्रवृत्ति स्थापना एवं सञ्चालन बिषयमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । पर्वत स्कुल निजीस्तरमा सञ्चालित भएपनि त्यसक्षेत्रका गरिब, सकुम्बासी परिवारका बच्चाहरु पनि अध्ययन गर्न आउछन् । सोही कारणले उनीहरुलाई नै लक्षित गरेर छात्रवृत्ति पुरस्कार स्थापना गरिएको स्वर्गीय मञ्जिलाका श्रीमान् विजय लिम्बुले बताए । ‘झट्ट सुन्दा बोर्डिङ स्कुलमा अक्षय कोष किन स्थापना गरेको भन्ने लाग्छ, तर यहाँ यो क्षेत्रको गरिब परिवार, सुकुम्बासी परिवारका थुप्रै बालबालिकाहरु अध्ययन गर्न आउछन्’–उनले भने–‘तिनै गरिब तर जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनमा प्रोत्साहन मिलोस् भनेर छात्रवृत्ति पुरस्कार स्थापना गरेका हौं ।’
अक्षय कोषमा रहेको २ लाखबाट प्राप्त हुने ब्याजको ८० प्रतिशत रकम मात्र बार्षिकरुपमा पुरस्कार स्वरुप वितरण गरिने दुवै पक्षको सहमति छ । यो छात्रवृत्ति पुरस्कार शैक्षिक सत्र २०७४ बाट विद्यालयको बार्षिक कार्यक्रममा वितरण हुने सम्झौता छ । ‘दाताले प्रदान गरेको छात्रवृत्ति शैक्षिक सत्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरु मध्येबाट एक छात्र र एक छात्रालाई प्रदान गर्नुपर्नेछ’–सम्झौता पत्रमा उल्लेख छ । छात्रवृत्ति दाताले स्कुल छात्रवृत्ति सञ्चालक समितिमा एक जना प्रतिनिधि सहभागी गराउनुपर्ने पनि सर्त छ । स्कुलकी प्रिन्सिपल चेम्जोङले छात्रवृत्ति पुरस्कार स्थापना गर्नु ज्यादै सह्रानीय भएको उल्लेख गर्दै गरिब र जेहेन्दार विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षामा योगदान पुग्ने बताइन् ।
मञ्जिला लुम्फुङ्वाको गत भदौ १९ गते ३८ बर्षको उमेरमा असामयिक निधन भएको थियो । उनी स्कुल रहेको वडा(क्षेत्र)कै स्थानीयबासी पनि हुन् । उनकी जेठी छोरी नेहा लुम्फुङ्वाले सोही स्कुलबाटै २०७० सालमा एस.एल.सी. उर्तीण गरेकी थिइन् भने दुई छोरी नियाजा र नुनाम लुम्फुङ्वा पनि सोही स्कुलमा अध्ययनरत छन् ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे