समाजसेवामा भूपू लाहुरेहरु


धरान ८ का ७३ बर्षीय रमेश राई पुर्व ब्रिटिश लाहुरे हुन् । बेलायती सेनामा भर्ती भएर उनले १८ बर्षभन्दा बढी सेवा गरे । पल्टनमा सार्जेन्टसम्म भएका उनी सन् १९८३ मा अवकाश पाएपछि भने स्वदेशमै रमाएका छन् । प्रकृतिप्रेमी उनी बिहानै घर नजिकको यलम्बर सामुदायिक वनमा बोटविरुवा स्याहार्न पुग्छन् । यो वन समुह स्थापना गर्न उनको महत्वपुर्ण भुमिका छ । खाना खाएपछि उनी दिउँसो धरान १० स्थित सैनिक भवन, भानुचौकस्थित गोर्खा कम्प्लेक्समा महत्वपुर्ण भेटघाट, छलफल एवं वैठकतिर सहभागी हुन्छन् ।
धरानबाट करिब ९ किलोमिटर पश्चिम उत्तरमा अवस्थित छ, विष्णुपादुकाको माछामारा डाँडा । साविक विष्णुपादुका गाविस भएपनि अहिले यो धरान २० मा पर्छ । त्यहाँ ब्रिटिश गोर्खा स्मृति पार्क बन्दैछ । आफ्ना पुर्खाहरुको वीरताको गाथालाई जीवीत राख्न र सम्पुर्ण लाहुरे परिवारहरुको आस्थाको केन्द्र बनाउने महत्वकांक्षी योजनाले मुर्तरुप लिइरहेकोछ । यसको परिकल्पनाकार पनि उनै हुन् । सकेसम्म पैदल हिडेरै उनी त्यहाँसम्म पुग्छन् । उमेरले सात दशक कटेपनि उनको जोश,जाँगर र उत्साह भने युवाहरुको निम्ति प्रेरणादायी छ । ‘जवानी त विदेशको सेवामा समर्पण गरियो, बाँकी जीवन समाजलाई दिऊँ भनेर बसेको छुँ । विदेशमा देखेको, भोगेको कुरा आफ्नै देशमा लगाउदैछुँ’–फरसाइलो स्वाभावका राई भन्छन्–‘अहिले पनि अति नै ब्यस्त जीवन यापन गरिरहेको छुँ ।’

सन् २००९ मा भूपू गोर्खा परिवारलाई आवासिय भिषा उपलब्ध गराउने निर्णय गरेपछि भूपू लाहुरेहरुलाई बेलायतको मोहले तान्यो । धमाधम धेरैजसो भूपू लाहुरेहरु आफ्नो परिवारसहित बेलायततिर लागे । पल्टने दौतरीहरु धमाधम बेलायत गइरहदा पनि लाष्ट कर्पोरलबाट अवकाश पाएका ६७ बर्षीय दानबहादुर राई भने अपवाद बने । आफ्ना दौतरीहरुको आग्रहलाई पनि उनले स्वीकारेनन् । ‘त्यही देशको नोकरी गरेर आए, फेरि हजुरिया गर्न जान मन भएन’–गोरखा सैनिक भवनस्थित कार्यालयमा भेटिएका उनले भने–‘बाँकी रहेका साथीहरुसँग संघसंस्थामा जुट्ने, के कसरी काम गर्ने भनेर छलफल गर्दै दिन बित्छ ।’ उनी आफ्नै सामुदाय(भूपू लाहुरे)को हकहित, सामाजिक काममा ब्यस्त छन् । धरान २० माछामारा डाँडास्थित निर्माणाधिन ब्रिटिश गोर्खा स्मृति पार्क समितिका अध्यक्ष छन् भने सरस्वती बालआश्रमका उपाध्यक्ष पनि हुन् ।
आवासिय भिषालाई माया मारेका अर्का भूपू स्टाफ सार्जेन्ट हुन् ५९ बर्षीय गजेन्द्र इस्वो । उनी त धराने भूपू लाहुरेहरुका मियो नै हुन् । समाजमा भूपू लाहुरेहरुको पहिचान स्थापित गर्न मात्र नभई उनको नेतृत्वमा विकास निर्माण, आर्थिक तथा राजनैतिक रुपान्तरणमा पनि भूपू सैनिक एवं परिवारहरु सक्रिय छन् । बेलायती सेनामा गोर्खाली र बेलायती नागरिकबीच सेवा सुविधामा भएको भेदाभावविरुद्ध विगतमा भएको आन्दोलनलाई पुर्वबाट उनले लामो समय नेतृत्व गरेका थिए । ‘पहिला बेरोजगारीले भनौं वा जे कारणले भनौं, बाध्यताले अर्काको देशमा नोकरी गर्न गयौं । अवकाश लिएको मान्छे, फेरी त्यहाँ गएर के गर्ने ? त्यो त पलायन हुनु हो’–इस्वोले भने–‘पहिला जे जति कमाए त्यसैमा सुन्तुुष्टी माने । हामीले त्यसको लागि आन्दोलन गरेका पनि थिएनौं ।’ आन्दोलनको मुख्य माग बेलायती नागरिक सरह समान पेन्सन, नाम कट्टामा परेका भूपूहरुलाई क्षतिपुर्तिसहित पेन्सन, विधुवा महिलाहरुलाई बेलायती महिलासरह सेवासुविधालगायत थियो ।
धरानमा १० हजार घरधुरी भुपु लाहुरेको बसोबास भएको अनुमान छ । ती मध्ये ५० प्रतिशत बेलायत गइसकेका छन् । बाँकी २५ प्रतिशत हङकङ, ब्रुनईलगायत मुलुकतिर छन् भने २५ प्रतिशत भुपु लाहुरेहरु धरानमै छन् । उनीहरु आफ्नै ठाउँमा बस्न रमाएका मात्र छैनन्, समाजको विकास निर्माणमा पनि अहोरात्र जुटेका छन् । लाहुरेहरु पैसा र सुखको पछि मात्र दौडन्छन् भन्ने समाजको सोचलाई वदल्न उनीहरु तल्लिन छन् । भूपू सैनिकका श्रीमतिहरु पनि भूपू सैनिक महिला समितिमा आवद्ध भएर नेतृत्व विकास, सामाजिक गतिविधिहरुमा सक्रिय छन् । पार्क समितिकी सचिवमा लाहुरे परिवारकी चन्द्रमाया लिम्बु छिन् ।

..................................................................

                        सहकारी, कम्प्लेक्स र स्मृति पार्क निर्माण


भूपू गोर्खा सैनिकहरुको लगानी र सञ्चालनमा रहेको गोरखा वचन तथा ऋण सहकारी संस्था जिल्लाकै नमुना सहकारीमा गनिन्छ । २०५८ जेठ १ गतेदेखि सञ्चालनमा आएको यो सहकारीले बार्षिक २५ देखि ३० करोडको कारोबार गरिरहेको छ । राम्रो मुनाफा कमाएर बर्षेनी सेयर सदस्यहरुलाई लाभांष पनि वितरण गर्छ । शुरुवातमा भूपू लाहुरे र परिवार सदस्यहरु मात्र सेयर सदस्य थिए । अहिले सर्वसाधरण पनि सेयर सदस्य बनेर लाभ पाएका छन् । ‘भूपू लाहुरेहरुले चलाएको सहकारी भनेर चिनिन्छ, जिल्लाकै नमुना बनेको छ हाम्रो सहकारी’–दश बर्षसम्म अध्यक्ष रहेर भर्खर नेतृत्व हस्तान्तरण गरेका गजेन्द्र इस्वो भन्छन् । यो सहकारीलाई जिल्ला सहकारी संघले उत्कृष्ट सहकारी र आन्तरिक राजश्व कार्यालय धरानले सबैभन्दा बढी आयकर बुझाउने सहकारीकोरुपमा सम्मान गरिसकेको छ । अहिले सहकारीको अध्यक्षमा पुर्व गोर्खा लाहुरे मानबहादुर राई छन् ।
यस्तै, भूपू लाहुरेहरुकै एउटा समुहले ३ बर्षअघिदेखि धरान २० मा किरातेश्वर कृर्षि सहकारी संस्था सञ्चालनमा ल्याएका छन् । करिब ९ बिघा जग्गा लिजमा लिएको यो संस्थाले बंगुरपालन, बेसार खेतीसँगै विभिन्न प्रजातिका रुखविरुवा रोपेका छन् । साथै, धरान १० मुनाल चोकमा वंगुर र कुखुराको मासु बिक्री केन्द्र पनि खोलेका छन् । ‘अग्र्यानिक हरियो तरकारी खेती पनि शुरु गर्दैछौं, उत्पादन भएको तरकारीको पनि चाडै बिक्री केन्द्र रहन्छ’–संस्थाका अध्यक्ष एवं पुर्व ब्रिटिश गोर्खा स्टाफ सर्जेन्ट पुष्यबहादुर राईले भने । उनका अनुसार संस्थामा ६१ जना सेयर सदस्यमध्ये ५ जना भारतीय भूपू लाहुरे र १० जना जति मात्र सामान्य नागरिक छन् । अरु बेलायतको भिषा त्यागेका भूपू लाहुरे तथा तिनका परिवारहरु नै हुन् । संस्थाको उपाध्यक्षमा भूपू लाहुरे गमबहादुर राई, कोषाध्यक्षमा सुर्यधन राई छन् ।
धरानको भानुचौकमा घण्टाघरको सामुन्ने(पुर्वतर्फ) ५ तले अग्लो भवन छ, गोर्खा कम्प्लेक्स । करिब साढे ५ करोड लागतमा निर्माण भएको यो व्यावसायिक भवन भूपू परिवारलाई पनि व्यापार, व्यावसायमा उन्मुख गराउने उद्देश्यले बनाइएको हो । यो भवन सञ्चालन गर्न छुट्टै गोर्खा भूपू सैनिक परिवार पब्लिक लिमिटेड दर्ता छ । यसमा ४ सयको हाराहारीमा सेयर सदस्य छन् । त्यही भवनको तेस्रो तलामा गोरखा सहकारीको कार्यालय राखिएको छ । करिब ५ बर्ष समय लगाएर तयार परिएको कम्प्लेक्सको अरु सबै कोठाहरु भाडामा लगाइएको छ ।
गोर्खा कम्प्लेक्स बनाउन प्रालिसँगै २०६४ बैशाखमा भूपू लाहुरेहरुले ब्रिटिश गोर्खा स्मृति पार्क पनि दर्ता गरेका थिए । पार्कको नाममा कुल १२ बिघा जग्गा छ । अहिले धरानका भूपू लाहुरेहरु यही महत्वकांक्षी योजनालाई पुरा गर्न अहोरात्र खटिएका छन् । आफ्ना पितृ,पुर्खाहरुको वीरताको गाथा र इतिहासलाई जोगाइराख्न पार्क निर्माणको उद्देश्य रहेको परिकल्पनाकार राई बताउछन् । ‘विदेशमा गोर्खाहरु धेरै सम्मानित छ, तर आफ्नै देशमा पहिचान गुमाउने अवस्थामा पुगेको छ । सबै बेलायत गइरहने हो भने भविष्यमा धरानमा लाहुरेहरु बस्थे रे भन्ने दिन आउन सक्छ’–उनले भने–‘त्यसैले पुर्खाहरु र हाम्रो इतिहास ताजा राख्नलाई यो पार्कको परिकल्पना भएको हो । गोर्खाहरुको पवित्रस्थल बनाउने योजना छ ।’ पार्क निर्माण थालेदेखि माछामारा डाँडामा पर्यटकहरुको चहलपहल पनि बढेको छ ।
धरान १८ स्थित डिपोट उच्चमावि भूपू लाहुरेहरुले सञ्चालन गरेको नमुना शैक्षिक संस्था हो । यो स्कुलको शुरुवात आफ्ना छोराछोरी पढाउन एक दिनको तलब काटेर ब्रिटिश लाहुरेहरुको लगानीबाट भएको थियो । अहिले पुर्व गोर्खा मेजर श्रवणकुमार लिम्बु सञ्चालक समितिका अध्यक्ष छन् भने पुर्व गोर्खा क्याप्टेन नन्दबहादुर राई उपाध्यक्ष छन् । भूपू लाहुरे चन्द्र खापुङ जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् भने उनी व्यावसायमा पनि जमेका छन् । २०६२÷०६३ को जनआन्दोलनमा भूपू सैनिकहरुले आफ्नै ब्यानरमा लोकतन्त्रको लागि धरानको सडकमा पनि निस्किएका थिए ।
......................................

                                   लाहुरेले बनाएको नमुना शहर


धरान बस्न लायक सुन्दर र नमुना शहरकोरुपमा परिचित छ । धरानको यो परिचन बन्नुमा पनि भुपु लाहरेहरुको ठुलो योगदान छ । एक दशक अघिसम्म धरान र लाहुरे शब्द पर्यायवाची झै थियो । आवकाश पाएपछि धरानलाई बसोबासको केन्द्र बनाउन थालेका भूपू लाहुरेहरुले नमुना आवासिय शहर मात्रै बनाएनन्, आधुनिकीकरणको बाटोमा पनि डो¥याए ।
२०४६ सालको राजनैतिक परिवर्तन पछि नगरपालिकामा निवार्चित नेतृत्वले विकास निर्माणमा जनसहभागीताको नीति लिदा भूपू लाहुरेहरुले साथ दिए । धरानको विकासले तीब्रता पायो । २०४५ सालको भुकम्पले सबैभन्दा धेरै क्षति पुगेको धरानले मृत शहरको उपमा पाएको थियो । तर, जनसहभागीताको लहर उर्लिएपछि धरानको मृत शहरको उपमा स्वत हराएर जनसहभागीताको नमुना शहर भयो । चिटिक्कको घर, सुन्दर फुलबारीको बगैचा, घर अगाडि व्यवस्थित ढलसँगै सफा र चौडा पक्की सडक धरानको पहिचान अनि गौरव बन्यो । भूपू लाहुरेका अगुवा गजेन्द्र इस्वोका अनुसार २०४६ देखि २०५६ सालको बीचमा धरानमा लाहुरेहरुको बसोबास सघन भइसकेको थियो ।
नगरपालिकाले आफ्नो ६० प्रतिशत र जनताको ४० प्रतिशत लगानीमा विकासनिर्माणको नीति लिएको थियो । यो नीतिलाई कार्वान्वयन गर्न भूपू लाहुरेहरुले टोल टोलमा नेतृत्व लिएका थिए । उनीहरुले सडक, ढल निर्माणमा पैसा लगानी मात्रै गरेनन्, अमानतमा जिम्मा लिएर आफै निःशुल्क खटिन्थे, पल्टनको सिप र ज्ञान उपयोग गर्थे । सडक र ढलको लागि आफ्नो घरको कम्पाउण्ड वाल भत्काएर जग्गा पनि दिए । पक्की सडक बनेपछि हप्तैपिच्छे टोल टोलमा सफाई अभियान पनि चलाए । ‘डेड सिटि धरान त्यतिकै नमुना बनेको होइन, हामी ब्रिटिश र भारतीय भूपूहरुको ठुलो योगदान छ । नगरपालिकाले ४० प्रतिशत जनताको लगानीको नीति लिएको थियो, तर हाम्रो श्रम, पैसा,छोडेको जग्गा पनि हिसाब गर्ने हो भने त अत्यधिक छ’–इस्वोले भने ।
आवासिय भिषा पाएपछि बेलायत जाने लहरले धरानको परिचय लाहुरेविनाको शहर होला कि भन्नेमा इस्वो चिन्तित छन् । भूपू लाहुरेहरु बेलायत भासिदा धरानको व्यापार व्यावसाय(अर्थतन्त्र) मात्र खस्किएको छैन, भूपूहरुको पहिचान र अस्तित्व नै नामेट हुन लागेको उनको बुझाई छ । ‘दुःखको साथ भन्नुपर्छ, जुन सन्तानको लागि भनेर बेलायत गएका छन् । भोली ती सन्तानहरुको नेपालमा नागरिकता हुदैन । बेलायतमै बसेपछि वंशावलीको हाँगा नै छुटिन्छ र उनीहरु उतै हराउछन्’–चिन्तित हुदै उनी भन्छन् ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे