साहित्यमा पहिचानको मुद्दाबारे बहस

धरान । २०६२/०६३ को जनआन्दोलन पछि नेपालको राजनीतिमा पहिचानको मुद्दाले ठाउँ लियो । पहिचानको राजनीति मुखरित भएसँगै नेपाली साहित्यमा पनि पहिचानमुखी कलमहरुले हस्तक्षेपकारी भुमिका खेल्न थाले ।
०६० दशकमा शुरु भएको पहिचानवादी साहित्यमा अर्को एउटा इँटा थपिएको छ, कवि पराजित पोमुद्धारा लिखित कविता संग्रह ‘लेप्पुहाङको डुङ्गा’। नेग्रादेन ७ ताप्लेजुङ घर भएपनि पोमु हाल दक्षिण कोरियामा छन् । विदेशी भुमिमा रहेर पनि उनको लेखनले मुलधारको भनिएको नेपाली साहित्यले समेट्न नसकेका मिथ, पात्र र विम्बहरुलाई टिपेर कवितमा अभिव्यक्त गरेका छन् । तिनै कविको कृतिमाथि शनिबार धरान १८ बुद्धचोकस्थित फुड स्टोरी क्याफेमा एक अन्र्तक्रिया सम्पन्न भयो । अन्र्तक्रियामा पनि पहिचानवादी साहित्य र लेखनबारे वृहत विमर्श भएको थियो ।
कृति र कविताबारे चर्चा गर्दै साहित्यकार एवं पत्रकार गोपाल देवानले कला र भाव पक्षलाई समिश्रण गर्न नसके कविता रमिता मात्रै हुने धारणा राखे । उनले सृर्जनशील अराजकता, रंगवाद, उत्तरवर्ती सोच जे भने पनि ६० को दशकपछि नेपाली भुमि र माटोमा टेकेर पहिचानवादी भाषा, साहित्यको धारले मुलधार भनिएको नेपाली साहित्यमा हस्तक्षेप गरेपछि मात्र फराकिलो हुदै गएको जिकिर गरे । ‘नेपाली साहित्यले सधै बहिष्कृत गरेको अरु भाषाभाषी, सँस्कृतिलाई पछिल्लो धारले सशक्तढंगबाट प्रस्तुत गर्दै आएको छ । यसरी नयाँ मिथ आउदा नेपाली साहित्य पनि समृद्ध हुदै गएको छ र विश्व साहित्यलाई पनि नयाँ कुरा दिइरहेका छौं’–देवानले भने–‘यो कृति पनि पहिचानको धारलाई पछ्याउदै आएको राम्रो कृति हो । कविताहरु राम्रो छन्, मिथभित्र वर्तमान राजनीतिलाई घुसाएर विम्ब प्रयोग गरिएको छ ।’
टिप्पणीकार देवानले कविता धेरै जटिल र अमुर्त भइदिदा आफुले बुझाउन खोजेको कुरा पाठकहरुले बुझ्न नसक्ने भन्दै सम्प्रेषणीयतामा ध्यान दिनुपर्ने सुझाव दिए । दिमाग र दिलमा स्पर्श हुने गरी सम्प्रेषण हुन सक्यो भने मात्र स्मरणीय हुने देवानको तर्क थियो । ‘कविताहरु ह्ृदयस्पर्शी भन्दा पनि मस्तिष्कस्पर्शी छन्, तर घनले हिर्काउने कविता हुनुहुदैन । फुलले हिर्काउने तर दुःखाई चै घनले नै ठोकेजस्तो होस’–उनले थपे–‘पहिचानवादी स्वर, विचारलाई नेपाली साहित्यमा घुसाउदा पनि कलात्मकढंगबाट हुनुपर्छ ।’ विश्वमा अहिले देश देशबीचमा वैचारिक युद्ध नभएर देशभित्रै पहिचानको लडाई मात्र भइरहेको उनको धारणा थियो ।
कविता संग्रहका श्रष्टा पोमुले आफु विदेशमा भएपनि आफ्नै थातथलो, परिवेशमा भिजेर कविताहरु सृर्जना गरेको बताए । कवितामा प्रयोग गरिएका मिथहरुको फुटनोट नराखिएको सहभागीहरुको टिप्पणीप्रति उनले भने–‘कविता सरलसँगै जटिल बिषय पनि हो । त्यो मिथबारे पाठकलाई जिज्ञासा भएर खोजी होला भन्ने मान्यता पनि हो ।’ कवितामा अधिकांश लिम्बु मिथका पात्र र विम्बहरुलाई उनले प्रयोग गरेका छन् । कविता संग्रहमा विभिन्न शिर्षकका ५० वटा कविताहरु संग्रहित छन् । कवि राज माङलकले सहजीकरण गरेको अन्र्तक्रियामा सहभागीहरुले पनि कविसँग कविता संग्रहबारे जिज्ञासा राखेका थिए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे