आफ्नै श्रीमति हत्यारालाई कडा कारबाहीको माग, अफवाह फैलाएर मृतकलाई अन्याय गरेको गुनासो

धरान । आफ्नै श्रीमतिको निर्मम हत्या गरेर फरार भएका धरान १९ निवासी रेखराज राईले विभिन्न अफवाह फैलाएर बच्ने षडयन्त्र गरेको भन्दै मृतकका आफन्तहरुले कडा कानुनी कारबाही गर्न माग गरेका छन् । मृतक पविला राईको माइती र वाम्बुले राई समाजले आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै केही अनलाइन,सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट मृतकबारे भ्रम र अफवाह फैलिएको भन्दै मृतक र पीडितको परिवारलाई थप पीडा नदिन आग्रह समेत गरेको छ ।
गएको होलीको दिन दिउँसै ढोकाको आग्लोले प्रहार गरेर राईले श्रीमति पविला राईको निर्मम हत्या गरेर फरार थिए । उनलाई राजधानीमा पक्राउ गरेर प्रहरीले चैत १५ गते धरान ल्याएको थियो । उनी घटनाको १२ दिनअघि मात्र कतारबाट आएका थिए । घटनापछि केही अनलााइन सञ्चार माध्यममा पति रेखराजको भनाई राखेर आफुले विदेशबाट पठाएको २२ लाख रुपैया मोजमस्तीमा सकेको र थप ११ लाख रुपैया ऋण लगाएको भन्ने समाचार प्रकाशन गरेको थियो भने सोही समाचारको आधारमा सामाजिक सञ्जालहरुमा मृतक राईप्रति नकरात्मक टिकाटिप्पणीहरु भइरहेको थियो ।
अनाहकमा आफ्नो बहिनीको ज्यान गएर पीडा भइरहेको बेला पीडकले कानुनी कारबाहीबाट जोगिनको लागि आचारणबारे कपोलकल्पित आरोप लगाएको समाचार आउदा झनै पीडित बनेको मृतककी दिदी अम्बिका राईले बताइन् । झुटो वयान र आरोप लगाएकै भरमा बहिनीको हत्याराले उन्मुक्ति पाउन नहुने र कडा कानुनी कारबाही हुनुपर्ने उनले माग गरिन् । ‘मेरो बहिनीको ज्यान गएको छ । अहिले आफु बच्न मृत्यु भइसकेकी बहिनीलाई अनेक आरोप लगाउदैछ’–पत्रकार सम्मेलनमा उनले भनिन्–‘उसले भनेकै भरमा उन्मुक्ति नपाओस, कडा कानुनी कारबाही होस ।’ घटनाको भोलीपल्टै मृतककी दिदी(अम्बिका)ले इलाका प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएकी थिइन् ।
घरायसी विवाद भए आपसी समझदारीमा टुंग्याउन सकिने विकल्पहरु हुँदा हुदै हत्या जस्तो जघन्य अपराध गर्ने र उल्टै मृतक महिलाको चरित्र र आचरणबारे अर्नगल वयानबाजीले समाजमा भ्रम फैलिएर मृतआत्मा एवं उनका आफन्तजनलाई चोट पुगेको किरात राई यायोक्खाका केन्द्रीय सदस्य दोर्पध्वज राईले बताए । ‘उसले २२ लाख पठाएको भन्या छ, त्यो सत्य होइन । त्यसको आधार के हो ?  मान्छेले कमाएको सबै हिसाब गर्ने हो भने करोड पुग्न सक्छ तर खर्च भएको हिसाब राखिदैन । हिसाब भएन भन्दैमा उडाएर सक्यो भन्न मिल्छ ?’–उनले भने–‘परपुरुषसँगको सम्बन्धलाई कसरी पुष्टि गर्ने ? अनलाइन र सामाजिक सञ्जालहरुमा हत्या जस्तो जघन्य अपराध गर्नेलाई प्रोत्साहन र मृतक, आफन्तजनलाई अन्याय हुने गरि टिकाटिप्पणी भएको छ ।’
उनका अनुसार श्रीमान्ले उल्टै पैसा पठाउन छाडेपछि पविलाले बस्न र बाँच्नको लागि आफन्तहरुबाट सहयोग लिइरहेकी थिइन् । दुवैले सल्लाह गरेर पछि कमाएर तिर्ने गरि तीन बर्ष अघि धरान १९, प्रगति चोकमा ५ धुर घडेरी १० लाखमा किनेको र विदेश जादा लागेको डिपोजिट पनि हालसम्म नतिरेकोले ११ लाख ऋण भएकोबारे उनले प्रष्ट्याए । मृतक आफ्नै छेमाकी छोरी बहिनीसँग बसेको र उनको आचरण व्यावहारमा कसैले खोट लगाउने अवस्था नभएको पनि उनले बताए । मृतक राई वम्बुले समाजकी सहसचिव थिइन् भने एक सहकारीमा लेखा कर्मचारी थिइन् । इलाका प्रहरी कार्यालयका डिएसपी ढकेन्द्र खतिवडाले आरोपितलाई काठमाण्डौंमा पक्राउ गरेर ल्याएको र कर्तव्य ज्यानमा म्याद थप गरेर अनुसन्धान भइरहेको बताए । हत्या गरेकोले कानुनी कारबाहीबाट जोगिने प्रश्नै नआउने डिएसपी खतिवडाको भनाई छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे