स्थानीय निर्वाचन २०७४: पार्टीहरु भेला र संगठन विस्तारमा ब्यस्त

धरान । दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा राजनीति दलका नेता, कार्यकर्ताहरुको सक्रियता ह्वातै बढाएको छ । आगामी बैशाख ३१ गते हुने भनिएको निर्वाचनको लागि आकांक्षीहरु धेरै भएर उम्मेद्वार चयन गर्न नसके पनि नेता, कार्यकर्ताहरु नगर, वडादेखि टोल भेलाहरुमा ब्यस्त छन् । आगामी निर्वाचनमा आफ्नो पार्टी विजयी गराउन स्थानीय नेता, कार्यकर्ताहरु मतादाताहरुको घरसम्म पुग्न थालेका छन् भने सामाजिक सञ्जालहरुलाई पनि भरपुर उपयोग गरिरहेका छन् ।
दुई संविधानसभाको निर्वाचन बाहेक यसअघि पार्टीको अधिवेशनहरुमा मात्र नेता, कार्यकर्ताहरुको चहलपहल बढ्थ्यो । चुनावी सरगर्मी यति बढेको छ कि स्थानीय निर्वाचनमा स्थानीय मात्र होइन, जिल्ला र केन्द्रीय नेताहरुलाई पनि उम्मेद्वारको आकांक्षी बनाएको छ । कार्यकर्ता र मतदाताहरु पनि मेयर, उपमेयरको उम्मेद्वारमा को नेताले बाजी मार्ला भनेर अत्यन्तै चासोका साथ हेरिरहेका छन् । आफ्नो दैनिक कामकाज, विकास र आवश्यकताहरुसँग जोडिने स्थानीय तहको निर्वाचन भएकोले पनि मतदाताहरुमा बढी नै चासो छ ।
धरान उपमहानगरपालिकामा प्रमुख दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरु वडा, टोल कमिटिको भेला गर्दै आफ्नो संगठन मजबुत पार्दैछन् । संसदमा चौथो ठुलो दल राप्रपा र मधेशी मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरम नेपाल पनि भित्रभित्रै निर्वाचनको तयारीमा जुटेको छ ।
धरानमा एमाले मजबुत संगठन भएको पार्टी मानिन्छ । उम्मेदवारको टुंगो भने लागिसकेको छैन, तरपनि वडा र टोल कमिटिको भेलाहरु निरन्तर आयोजना गरिरहेको अध्यक्ष तारा सुब्बा बताउछन् । ‘वडा र टोल कमिटिको भेला गरेर संगठनलाई अझ मजबुत बनाउदैछौं, जनसंगठन र घटक संगठनहरु अपडेट र क्रियासिल छन् । कार्यकर्ताहरु उत्साहपुर्वक परिचालन भएकोछ’–उपमहानगर अध्यक्ष सुब्बाले भने–‘बुद्धिजिवि परिषदको अगुवाईमा घोषण पत्रको मस्यौदा तयारी पनि भइरहेको छ । धरान क्षेत्रमा एमाले जहिल्यै पनि बलियो, मजबुत छ ।’ उनका अनुसार अबको एकसाताभित्र मेयर, उपमेयरसहित सबै उम्मेद्वारको नाम तय गरेर जिल्ला कमिटिमा सिफारिश गरिनेछ । धरानमा ५ हजारको हाराहारीमा एमालेका संगठित सदस्यहरु रहेको उनको दाबी छ ।
धेरै उम्मेद्वार देखिए पनि कांग्रेस कस्लाई चयन गर्ने भनेर त्यसमै अल्मलिएको भने छैन । कांग्रेसले पनि संगठन विस्तार, बुथअन्र्तगतको टोल समिति विस्तारलाई तीब्रता दिदै मतदाताहरुमाझ पुगिरहेको छ । नगर सभापति तिलक राई यसअघि संगठन नभएको विष्णुपादुका र कमजोर अवस्था रहेको पाँचकन्या क्षेत्रमा समेत संगठन मजबुत बनाएको दाबी गर्छन् । ‘पार्टी संगठन विस्तर गरेर मजबुत गरेका छौं, वर्गीय संगठनहरुलाई पनि सक्रिय बनाएका छौं’–उनले भने । कांग्रेसले यसअघिको स्थानीय, संसदीय वा संविधानसभाको निर्वाचनमा धरान(सनसरी क्षेत्र १)मा जितको खुशी मनाउन पाएको छैन । ती निर्वाचनहरुमा हार्नुको मुख्य कारणमा अन्र्तघात हुनु मुख्य कारण भएको कांग्रेस स्वयमको ठहर छ । ‘यो पटक त्यस्तो अन्र्तघाट हुनेछैन, जो उम्मेद्वार भएपनि कांग्रेसको हुनेछ । अन्र्तघात गर्नेलाई स्थानीय तहबाटै वहिष्कार गछौं भनेर वडा भेलाहरुमा आवाज उठिरहेको छ’–कांग्रेस जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र तामाङ भन्छन् । वडा, नगर र क्षेत्रबाट सिफारिश भएअनुसार अध्ययन गरेर जिल्ला कमिटिले उम्मेद्वार निर्णय गर्ने उनले बताए ।
स्थानीय निर्वाचनलाई लक्षित गरेर माओवादी केन्द्र भने धरानमा वडा सम्मेलन र भेला सम्पन्न गरेर उम्मेद्वार छनौट र सिफारिश प्रक्रियामा उक्त पार्टी अघि बढेको छ । यो प्रक्रियासँगै आप्mना कार्यकर्ता र मतदाता भेटघाटको क्रमलाई तीब्रता दिइरहेको छ । ‘हामीले १२ वटा वडा कमिटिको सम्मेलन र बाँकीको भेला सम्पन्न गरिसकेका छौं । निर्वाचन परिचालन कमिटि पनि गठन भएको छ’–माओवादी केन्द्रका संयोजक चोत्लुङले भने–‘वडाको उम्मेद्वार छनौट र सिफारिशको प्रक्रियामा छौं । नामहरु एकीकृत गरेर जिल्लामा पठाउछौं । यो निर्वाचन जित्ने र जनताको सेवा गर्ने अभियानमा छांै ।’ प्रमुख तीन पार्टीसँगै राप्रपाले पनि ‘वडा वडामा राप्रपा’ कार्यक्रम लिएर चुनावी तयारीमा जुटेको छ । राप्रपाले पनि उम्मेद्वारको नाम टुंगो लगाइसकेको छैन । ‘अहिले पार्टी चुनावी अभियानमा छौं, वडा भेला गर्दै पार्टीको लागि भोट पनि माग्दैछौं’–नगरअध्यक्ष जुद्ध लोहनीले भने ।
संविधान संशोधनको माग लिएर आन्दोलनरत मधेशी मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरमले पनि आन्तरिकरुपमा चुनावको तयारी गरिरहेको छ । फोरमले धरानमा वडा, टोल भेला गर्दै कमिटि गठन र पुर्नगठन अभियान शुरु गरिसकेको छ भने जनवर्गीय संगठनहरुको पनि भेला गरिरहेको छ । ‘पार्टी आन्दोलनमा भएपनि चाडै सहमतिमा पुग्छ भनेर चुनावी तयारीमा छौं । वडा, टोल भेला गरेर कमिटि गठन र पुर्नगठन गर्दैछौं’–फोरम नगर अध्यक्ष पारस काङमाङले भने–‘जनवर्गीय संगठन, युवा, महिला र विद्यार्थीहरुको भेला पनि गर्दैछौं ।’ राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष विवेक राई पनि चुनावको तयारी गर्न पार्टीको विभिन्न तह र निकायको बैठक र छलफल भइरहेको बताउछन् ।
साविक पाँचकन्या गाविस र विष्णुपादुका गाविस समायोजन भएपछि धरान उपमहानगरको कुल जनसंख्यामधये ७८ हजार १ सय ४ मतदाता रहेको जिल्ला निर्वाचन आयोगले जनाएको छ । पुर्नसंरचना आयोगको प्रतिवेदनको आधारमा धरानमा हाल २० वटा वडा कायम भएको छ । यसअघि २०४८ र २०५४ सालको स्थानीय निर्वाचनमा धरानमा दुवै पटक मेयर, उपमेयरमा एमाले विजयी भएको थियो । त्यसबेला कांग्रेसका उम्मेद्वार निकटतम प्रतिद्धन्दी थिए । यसपटक पनि एमाले, कांग्रेस र माओवादी केन्द्रबीच त्रिपक्षीय चुनावी प्रतिस्र्धा हुने आँकलन गरिएको छ । धरानमा २०४६ साल यताको चुनावी इतिहासमा सधै वामपन्थीको जित हुदै आएको छ । त्यसमा पनि २०६४ सालको पहिलो संविधानसभा चुनावमा तत्कालीन एमाओवादी विजयी भएबाहेक अन्य चुनावहरुमा एमाले विजयी हुदै आएको छ ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे