'मंसिर २१ को चुनाव लोकतन्त्र र अधिनायकवादबीचको जनमत संग्रह':कांग्रेसका नेता


धरान,मंसिर १७ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले मंसिर २१ गते हुन लागेको चुनाव लोकतान्त्र कि अधिनायकवाद रोज्नेबीचको जनमत संग्रह भएको बताए ।
लोकतान्त्रिक गठबन्धनले आइतबार धरानको भानुचोकमा आयोजित सुनसरी निर्वाचन क्षेत्र नं १ को चुनावी सभामा प्रमुख वक्ताको रुपमा बोल्दै नेता केसीले एमाले–माओवादीको गठबन्धनले सर्वसत्तावाद ल्याउन प्रयास गरेको भन्दै लोकतन्त्र खतरामा परेकै कारण लोकतान्त्रिक गठबन्धन बनाउन आवश्यक भएको बताए । लोकतन्त्रको रक्षाको लागि गठबन्धन भएको जिकिर गर्दै उनले यो गठबन्धनले पराजय भोगेमा देशमा पुनः द्धन्द, हिंसा र अस्थीरताको सिलसिला शुरु हुने दाबी गरे । ‘लोकतन्त्र, शान्ति, समृद्धि र राष्ट्रिय एकतालाई सुदृढ गर्न लोकतान्त्रिक गठबन्धनलाई जिताउनुस्,’उनले भने,‘बाम गठबन्धनले जित्यो भने नेपाल फेरि अन्र्तराष्ट्रिय चलखेलको अखडा बन्नेछ ।’
बाम गठबन्धनप्रति आक्रामकरुपमा प्रस्तुत भएका नेता केसीले एमाले र माओवादीले नेपाललाई उत्तर कोरिया र क्युबा जस्तो बन्द राष्ट्र बनाउन लागेको आरोप पनि लगाए । उनले संसारबाट हराइसकेको कम्युनिज्मको प्रेतात्मा नेपालमा बाँच्न नसक्ने पनि बताए । संयुक्त राष्ट्रसंघका १ सय ९५ सदस्य राष्ट्र मध्ये ५ वटा मात्र साम्यवादी कम्युनिष्ट देश बचेको र ती मध्ये पनि चीन, भियतनाम र लाओस उदारवादी प्रजातन्त्रको बाटोमा हिडिसकेको उनले बताए । ‘बाम गठबन्धनको नाममा एमाले,माओवादीले बाउको मृत्यु भएपछि छोरा वा भाई राष्ट्रप्रमुख हुने उत्तर कोरिया र क्युबामा जस्तो कम्युनिज्म खोजेको हो ?’ नेता केसीले भने,‘संसारबाट लोप हुदै गएको कम्युनिज्मको प्रेतात्मा नेपालमा बिउताउन खोजिदैछ, तर त्यो आत्मा बस्न सक्दैन ।’
माओवादीले जस्तै एमालेले पनि विगतमा झापामा व्यक्ति हत्या गरेको स्मरण गराउदै नेता केसीले कांग्रेसले एमाले र माओवादी दुवैलाई शान्तिपुर्ण राजनीतिको बाटोमा ल्याएको दाबी गरे । ‘प्रजातान्त्रिक पद्दतीको बाटोमा यो दुवै पार्टीलाई कांग्रेसले ल्याएको हो, अहिले फेरी कम्युनिष्ट अधिनायकवादको बाटोमा दुवै पार्टी अघि बढेको छ,’उनले भने । धरान र सुनसरी क्षेत्र नं १ मा २६ बर्षदेखि बामपन्थीको परिक्षण भइसकेको र कुनै पनि उपलब्धी हासिल नभएकोले यसपाली जनताले लोकतान्त्रिक गठबन्धनलाई नै जिताउने विश्वास व्यक्त गरे ।
चुनावी सभामा प्रतिनिधिसभा उम्मेदवार फोरम वरिष्ठ नेता अशोक राई, प्रदेशसभा क उम्मेदवार किसोर राई र प्रदेशसभा ख उम्मेदवार बुद्धि कटवालले पनि बोल्दै बामपन्थीहरुले २६ बर्षसम्म जित्दा पनि केही काम गर्न नसकेको आरोप लगाए । प्रतिनिधिसभा उम्मेदवार अशोक राईले विगतमा जनप्रतिनिधिहरुले समस्या समाधान गर्न नचाहेकै कारण अहिलेसम्म खानेपानी, सुकुम्बासी, बसपार्क, एयरपोर्टलगायत महत्वपुर्ण समस्याहरुको समाधान हुन नसकेको बताए । लोकतान्त्रिक गठबन्धनको नेतृत्वमा इमान्दारपुर्वक यी समस्याहरु समाधान हुने उनले बताए । सबै जाति, धर्म, समुदायबीचको समानता नै पहिचानको मुद्दा भएको उल्लेख गर्दै उनले कांग्रेसले सही ढंगले पहिचानको बिषयलाई हल गर्न खोजेकोले कांग्रेससँग सहकार्य भएको बताए ।
प्रदेशसभा क का उम्मेदवार किसोर राईले आफुहरुले जितेमा सुकुम्बासीहरुलाई धनिपुर्जा दिलाउने, सर्दु र सेउतीमा तटबन्ध लगाउने, पर्यटनको विकास, भूपू सैनिकहरुलाई दोहोरो नागरिकताको व्यवस्था, धरानको पुनः नापी गराउने,बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै केन्द्रीय प्रविधि क्याम्पस र पुर्वाञ्चल इञ्जिनियरीङ क्याम्पसमा धराने विद्यार्थीलाई २५ प्रतिशत कोटा दिलाउने, प्रदेश र प्रतिनिधिसभाको पहिलो बैठकमा धरानलाई प्रदेशको राजधानी बनाउने एजेण्डा लैजाने प्रतिवद्धता जनाएका थिए ।
भानुचोकमा सभा हुनुअघि पब्लिक उच्चमाविबाट विशाल र्याली निस्केको थियो । सुनसरी १ मा कांग्रेस र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल छ । कांग्रेसले प्रतिनिधिसभामा फोरम नेता अशोक राईलाई समर्थन गरेको छ भने प्रदेश सभामा कांग्रेसका उम्मेदवार किसोर राई र बुद्धि कटवाललाई फोरमले समर्थन गरेको छ ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे