मौन अवधिमा चलखेल

धरान,मंसिर १९ । मंसिर २१ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारमा सोमबार राती अबेरसम्म दलका नेता र उम्मेदवारहरु दौडधुपमा ब्यस्त देखिन्थे । निर्वाचन आचारसंहिताअनुसार सोमबार मध्यराती मौन अवधि शुरु भएयता राजनीतिक दलको प्रचारप्रसार एवं घरदैलो कार्यक्रमहरु स्थगित छ ।
अब उम्मेदवारले व्यत्तिगतरुपमा मतदाता भेटर भोट माग्न पनि पाउदैनन् । आचारसंहिताले यस्तो भनेपनि उम्मेदवार, दलका नेता र कार्यकर्ताहरु गोप्यरुपमा मतदाताहरुलाई आफ्नो पक्षमा आकर्षित गर्न ब्यस्त छन् । आफु गोप्यरुपमा मतदातालाई भेट्न सक्रिय भइरहेकै बेला उम्मेदवार र तिनका कार्यकर्ताहरु विपक्षीको गतिविधिलाई पनि निगरानी गरिरहेका छन् । निर्वाचनको ७२ घण्टा अघिबाट मौनअवधि शुरु हुन्छ । यो समयमा उम्मेदवार र राजनीतिक दलहरुले प्रचारप्रचार गर्न वा मतदातालाई प्रभावित पार्ने कुनै पनि किसिमको गवितिधिहरु गर्न पाउदैनन् । ‘भन्नलाई चै मौन अवधि भनिन्छ, तर यति बेला नै भित्रभित्रै धेरै चलखेल हुन्छ,’राजनीतिलाई नजिकबाट बुझेका शिक्षासेवी कमल पोख्रेल भन्छन्,‘यो बेला कन्भिन्स गरेर मतदातालाई तान्ने होइन कि जे सुकै उपाय प्रयोग गरे भएपनि मत तान्ने ध्यान हुन्छ । यही बेला पैसाको खेल हुन्छ ।’
पोख्रेलका अनुसार यो समयमा उम्मेदवार र दलहरुले २ किसिमले मतदातालाई प्रभावित पार्छन् । कसैले व्यक्तिगतरुपमा पैसा दिएर मत आफ्नो पक्षमा तान्छन् भने कसैले सामुहिकरुपमा टोल वा वस्तीको आवश्यकता बुझेर सामग्री(सामान) उपलब्ध गराउछन् । ‘टोलमा खानेपानीको पाइप, पानी टंकी, विजुली पोल आवश्यक छ भने एकमुष्ट ५,६ लाख दिन्छन् । कसैले व्यक्तिगतरुपमा पैसा दिएर मत किन्छन्,’पोख्रेलले भने,‘बजार एरियामा यस्तो हुदैन, तर दुर्गम गाउँवस्तीमा हुन्छ ।’ धरान उपमहागनरपालिकाको २० वडा, बराह नगरपालिकाको १, २, ३, ४ र ५ वडा र रामधुनी नगरपालिकाको ६ र ७ वडा रहेको सुनसरी निर्वाचन क्षेत्र नं १ मा आर्थिक चलखेलको उनी आशंका गर्छन् ।
पोख्रेलको आशंका सही भएको बताउछन्, नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय महासचिव कुमार कार्की । धरानका सुकुम्बासी वस्तीमा राजनीतिक दलका उम्मेदवार, कार्यकर्ताहरु विभिन्न प्रलोभन लिएर मौन अवधिमा चलखेल गरिरहेको उनी बताउछन् । ‘मौन अवधिको दुरुपयोग भइरहेको छ, २ दिन जनतालाई स्वतन्त्ररुपमा मत हाल्ने अधिकार देउ भन्दैछांै,’सुकुम्बासी अधिकारका अभियन्ता कार्की भन्छन्,‘तर, चुनावी मैदानमा उत्रिएका दलहरु अनेक प्रलोभन लिएर सुकुम्बासी बस्तीहरमा पुगिरहेका छन् ।’ विगतमा एकढिक्का हुने सुकुम्बासी मत यसपाली केही यता उता हुने सम्भावना उनी देख्छन् । धरान प्रदेश नं १ कै सबैभन्दा बढी सुकुम्बासी मतदाता भएको शहर पनि हो । धरानमा मात्र १८ हजार ९ सय सुकुम्बासी मतदाताहरु छन् । जुन संख्या निर्वाचन क्षेत्र नं १ को निर्णायक मानिदै आएको छ ।
दल निकट नेताहरु पनि मौनअवधिमा आर्थिक चलखेल नै नभएपनि मतदाताहरुलाई भेटघाट भने भइरहेको स्वीकार गर्छन् । एक नेताले भने,‘चुप लागेर बस्ने कुरा त भएन । सबैले भेटघाट गरिरहेकै हुन्छ, एउटा दलले मात्र नगरेर के गर्नु ?’ सुनसरी १ का निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार मंगलबार जिल्लाको ४ निर्वाचन क्षेत्रका अधिकृत, सबै उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षा प्रमुखसहितको बैठकमा मौन अवधिमा प्रचारप्रसार गर्न, मतदातालाई भेटेर भोट माग्न वा प्रभावित पार्ने कुनै पनि गतिविधि नगर्न कडा निर्देशन दिइएको छ । मौन अवधिमा मतदाताले आप्mनो प्रतिनिधि कसलाई छान्ने भनेर सोच्ने र २१ गते मतदानस्थल गएर मत खाल्ने अवधि भएको वाग्ले बताउँँछन् । ‘उम्मेदवारहरुले जति प्रचारप्रसार र मत माग्नुपर्ने थियो, समय सकियो । अब व्यक्तिगतरुपमा भेटेर पनि भोट माग्न पाइदैन,’उनले भने,‘त्यस्तो कतैबाट सुचना आयो भने र प्रमाणित भए कारबाही हुन्छ ।’ सुनसरी १ मा ४० मतदान स्थलमा १ सय २६ मतदान केन्द्र छन् । यहाँ कुल १ लाख २२ हजार ६ सय ९१ मतदाताहरु छन् ।
............................................................................................................................................

                              परिचयपत्र वितरण अव्यवस्थित

नयाँ मतदाता परिचय पत्र विरतण कार्य ज्यादै अव्यवस्थित भएको भन्दै मतदाताहरुले गुनासो गरेका छन् । धरान १५ , शिक्षा सदन उच्चमाविमा मंगलबार बिहान साढे १० बजे परिचयपत्र लिन पुगेका मनिष तामाङले दिउँसो पौने ३ बजेसम्म पनि परिचय पत्र पाएका थिएनन् । कर्मचारीले नभेटेपछि आफै परिचयपत्र खोज्न हलभित्र पसेका उनीसहित अन्यलाई प्रहरीले हप्कीदप्की गर्दे बाहिर निकालेपछि केहीबेर तनावसमेत सृर्जना भएको थियो । ‘साढे १० बजे आइपुगेको, अहिलेसम्म पाएको छैन । आफै खोज्नुपर्यो भनेर भित्र गएको पुलिसले दुव्र्यवहार पो गर्यो,’आक्रोश पोख्दै उनले भने ।
परिचयपत्र वितरण व्यवस्थित नहुदा घण्टौं पर्खनु पर्दाको पिडा पोख्ने उनी एक्ला थिएनन् । खटिएका कर्मचारीहरुको लापरवाहीले जनताले दुःख पाएको अर्का युवा प्रसिद्ध राईले बताए । उनले भने,‘हामीसँग अर्धकट्टी छ, तर कार्ड छैन जिल्ला सदरमुकाम जानुभन्छ । यतिबेला कहाँ जानु ? यो त एकदमै लापरवाही हो ।’ सुरक्षामा खटिएका प्रहरी निरीक्षक राजेन्द्र पराजुलीका अनुसार गत स्थानीय चुनाव अघि परिचय पत्र नलिएको र नयाँ फोटो खिचाएकाहरुको एकै ठाउँमा वितरण हुदा समस्या भएको बताए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे