धरानमा ट्रि हाउससहितको रिसोर्ट खुल्दै


धरान,मंसिर २८ । एम्स एकेडेमी, धरानकी निर्देशक ओमु राई सानै उमेरदेखि टिभिमा कार्टुन खुब हेर्थिन् । कार्टुनका पात्रहरु प्रकृतिसँग घुलमिल गरेको देखेर उनी पनि प्रकृति प्रेमी भएकी थिइन् । कार्टुनमा देखेको जस्तै संसारमा पुग्ने रहर पलाउथ्यो ।
संयोगले उनी गत बर्ष साथीहरुसँग धरानको शिवजट्टा जाने बाटो मास्तिरको डाँडामा पुगिन् । चारैतिर हरियाली भएको डाँडामा पहिला सिन सिटि नामको रेष्टुरेष्ट खुलेको थियो । त्यहाँ पुग्नासाथ उनको आँखामा तिनै दृष्यहरु नाच्न थाल्यो, जुन उनले सानैदेखि कल्पना गर्थिन् । केही नयाँ काम गर्ने सोच बनाएर उनले त्यो डाँडासहित १ बिघा क्षेत्रफल जग्गा लिजमा लिइन्, र पर्यटनको क्षेत्रमा नौलोपन दिने योजनाअनुसार ट्रि हाउस एण्ड लज, रक क्लाम्बिङ, वाटर रेष्टुरेष्टको धमाधम तयारी भइरहेको छ । पर्यटनको चर्चा मात्र बढी हुने धरानमा राईले शुभगन्तव्य रिसोर्ट प्रालि दर्ता गरेर केही नयाँपन दिने कोसिस गरिरहेकी छिन् । यो उनको ड्रिम प्रोजेक्ट हो । उनी भन्छिन्,‘क्रिएटिभ काम गरौं भन्ने सोच थियो, यो ठाउँमा आएपछि आफुले खोजेजस्तै पाए । त्यसैले टुरिज्ममा केही नयाँ काम गरौं भनेर लगानी गरेको छुँ ।’
अंग्रेजी नयाँ बर्ष २०१८ मा औपचारिक शुरुवात गर्ने लक्ष्यका साथ रिसोर्टको काम धमाधम भइरहेको छ । शुरुवात नहुदै उनको ट्रि हाउस एण्ड लजले पाएको चर्चाबाट उनी दंग छिन् । निर्माणको क्रममा नै धरानेहरु उनको रिसोर्ट पुग्छन्, र फोटो खिच्छन् । रिसोर्टको संरचनाहरु औपचारिक शुरुवात गरेपछि मात्र सार्वजनिक गर्ने भनेर शुरुमा त फोटो खिच्न निषेध गरिएको थियो । तर, अचम्म मान्दै ट्रि लज हेर्न आउनेहरुको भिड थाम्न मुश्किल परेपछि खुला गर्नुपरेको उनले बताइन् । ‘अहिल्यै फोटो घुम्न आउने, फोटो खिच्न आउनेहरुको भिड लाग्छ, कहिले कही त काम गर्नलाई नै समस्या हुन्छ,’उनले भनिन् । यो रिसोर्टमा हालसम्म ४० लाख लगानी भइसकेको छ । अझै पुरा हुदासम्म १ करोड भन्दा बढी खर्च लाग्ने अनुमान छ । रिसोर्टसम्म पुग्न कच्ची बाटो मात्र भएकोले अब भरपर्दो सडक बनाउने प्रालिले जनाएको छ ।

                                     के के हुन्छ रिसोर्टमा ?

अहिलेसम्म २ वटा रुखमा ३ वटा पारिवारिक ट्रि लज तयार छ । पछि, ट्रि लज थप हुने प्रालिले जनाएको छ । ट्रि लज बनाउन संखुवासभाबाट दक्ष जनशक्ति ल्याउनु परेको थियो । ट्रि लजमा परिवारसहितको पर्यटकलाई मात्र बस्न दिइनेछ । एउटा भिआइपी कोठा निर्माणाधिन छ । यो कोठाभित्र नै किचन, बेडरुमलगायत आवश्यकीय सबै सेवा पर्यटकलाई उपलब्ध हुन्छ । एउटा सेमिनार हल पनि बन्दैछ ।
प्रालिले साहसिक पर्यटकहरुलाई लक्षित गरेर रक क्लाम्बिङको पनि तयारी गरेको छ । यसको तयारी गर्न आवश्यक मान्छेहरु बोलाइसकेको सञ्चालिका राईले बताइन् । अंग्रेजी नयाँ बर्षमा शुरुवात हुदा पर्यटकहरुले रक क्लाम्बिङको सेवा पनि पाउनेछन् । यस्तै, वाटर रेष्टुरेष्ट बनाउने पनि प्रालिको योजना छ । ‘झरना कृत्रिम बनाए पनि प्राकृत्तिक नै देखिन्छ । पानी जम्मा गछौं, र २ स्टेपको हुन्छ । जाडो महिनामा पनि तातो पानी हुन्छ,’प्रालिका सहयोगी सुरेन्द्र राईले भने । प्रालिको पर्याप्त जग्गा भएकोले भविष्यमा चिल्ड्रेन पार्क पनि बनाउने योजना छ । यस्तै, वरीपरी साइकल ट्रयाक पनि हुनेछ, जसमा एटिबि बाइक राइडिङ गर्न मिल्नेछ । ‘यो मेरो ड्रिम प्रोजेक्ट हो । पर्यटनको क्षेत्रमा केही नयाँ काम गरौं भनेर लगानी गरेको हुँ । यसले मलाई मात्र व्यक्तिगत फाइदा हुदैन, धरानको पर्यटनलाई पनि फाइदा पुग्छ भन्ने आशा गरेको छुँ,’सञ्चालिका राईले भनिन् ।

                                 कसरी पुग्ने ?

धरान १३ शिवधारास्थित पेट्रोल पम्मको पछाडिबाट ऐतिहासिक पर्यटकीय गन्तव्य शिवजट्टा जाने नयाँ बाटो खुलेको छ । त्यही बाटोबाट जादा शिवजट्टा जाने पहिलो घुम्तीमा नयाँ रेष्टुरेष्ट खुलेको छ । त्यही पहिलो घुम्तीको रेष्टुरेष्टको आगनबाट माथिल्लो डाडा र शिवजट्टा जाने चल्तीको बाटो छुटिन्छ । शिवजट्टा जाने चल्तीको बाटो छोडेर मास्तिर डाँडा चढ्ने बाटो समातेर पैदल हिड्दा करिब ८ मिनेटमा पुगिन्छ, ट्रि लज भएको निर्माणाधिन शुभगन्तव्य रिसोर्ट । मोटरसाइलक वा स्कुटर भए ३ मिनेट समय पनि लाग्दैन । 





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे