जल र भुमाफियाको विरुद्धमा र्याली

धरान,पुष १४ । डाँडाकाडामा प्लटिङ गर्ने भुमाफियाको प्रभावमा परेर जलाधार क्षेत्र असर पर्ने गरी खर्दु मुहानबाट खानेपानी लैजान स्वीकृति दिएको भन्दै धरान उपमहानगर १३ का वडाबासीहरुले जनप्रतिनिधिहरुको विरोध गरेका छन् ।
भविष्यमा खानेपानी संकट पार्ने गरी भएको निर्णय वदर गरेर जनताप्रति उत्तरदायी बन्न आग्रह गर्दै वडाबासीहरुले बिहिबार विशाल दबाबमुलक र्याली निकाले । उनीहरुले जनप्रतिनिधिहरु जल र भुमाफियाको चंगुलमा नफस्न पनि चेतावनी दिएका छन् । वडाबासीहरु सर्दु जलाधार क्षेत्रको जग्गा कब्जा गरेका भुमाफियाहरुले नै खर्दुको मुहानमा पनि कब्जा गर्न लागेको तर जनप्रतिनिधिहरु मौन बसेको भन्दै असन्तुष्ट छन् । वडा १३ का बासिन्दाहरु गठन गरेको खर्दु जोरधारे मुहान खानेपानी सरोकार समितिको अगुवाईमा निकालेको र्याली बिहिबार खानेपानी संस्थान, उपमहानगरपालिकामा पुगेर मुहान जथाभावी बाड्न तत्काल रोक्नुपर्ने माग गरेका थिए ।
वडाबासीहरुले जनप्रतिनिधि उत्तरदायी वन, जलभाफिया र भुमाफिया होसियार जस्ता प्लेकार्ड बोक्नुका साथै नारासमेत लगाए । ‘डुम्रे शिखरबास खानेपानी योजनालाई खानेपानी डिभिजनले पुरानो योजना निसाने भालुखोला मुहानको मर्मत गरी ल्याउन मात्र स्वीकृति दिएको छ, तर काम भने हामीले पिउदै आएको खर्दु मुहानबाट पानी लैजान हुदैछ । त्यो समितिले पानी मुहानको स्वीकृति लिउको मिति पछि मात्र योजना दर्ता गरेको छ,’ज्ञापन पत्र बुझाउदै सरोकार समितिका सदस्य महेन्द्र प्रधानले भने,‘जनतालाई ढाटछल गरेर हुने यस्तो काम तत्काल बन्द गरियोस् ।’ पाँचकन्या डुम्रे शिखरबास खानेपानी तथा सरसफाई समितिको नाममा डाँडा प्लटिङ गरेर बिक्री गर्न आफुहरुले उपभोग गरिरहेको खर्दु मुहानबाट पानी लैजाने तयारी भएपछि वडा १३ का बासिन्दाहरु विरोधमा उत्रिएका हुन् । भुमाफिया गिरोहले सरकारी निकायसँगको मिलेमतोमा गलत कागजात तयार गरी खानेपानी मुहान कब्जा गर्न लागेको भन्दै केही दिन यता स्थानीयहरु विरोधमा छन् ।
समितिले जोरधारे मुहानबाट खानेपानी लैजान लागेको बताए पनि त्यो खर्दुको मुहानको शिर हो । धरानबासीलाई खानेपानी वितरण गर्ने खानेपानी संस्थानले खर्दु, सर्दु क्षेत्रको सतहगत पानी संकलन गरेर नै हाल धरानबासीलाई वितरण गरिरहेको छ । हाल सञ्चालनमा रहेको एडिबिको खानेपानी परियोजनाले पनि यी दुई वडामा भुमिगत स्रोतको पानी वितरण गर्ने गरि डिजाइन गरेको छैन । ती वडालाई सतहगत सर्दु र खर्दु मुहानकै पानी खुवाउनु पर्ने हुन्छ । अहिले नयाँ समितिले संस्थानको इन्टेकभन्दा माथिको मुख्य सिरबाट नै पानी लैजान पाइपलाइन विछ्याउने र इनकेट निर्माण गर्ने तयारी गरेको छ । गोर्खा वेल्फेयर स्किमको ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रमले यो समितिलाई पाइप उपलब्ध गराउने र त्यसवापत वेल्फेयरले १ इञ्ज पाइपमा खानेपानी उपलब्ध गराउने गोप्य सहमति भएको वडा नं १३ का बासिन्दाहरुले बताउदै आएका छन् ।
वडा १३ का समाजसेवी जनसेवक भण्डारीले उपभोक्ता समिति उपमहानगरपालिकामा दर्ता भएर मात्र योजना सञ्चालन गर्न पाउने भएपनि यो खानेपानी समिति दर्ता नै नभएकोले अवैध काम भइरहेको बताए । उनले २४ घण्टै पानी उपभोग गरिरहको क्षेत्रमा नै खर्दुको पानी लैजानुको कारण भुमाफियाहरुको प्लटिङको भाउ बढाउन र बिक्री गराउनु भएको भन्दै जनमतको वेवास्ता नगर्न पनि जनप्रतिनिधिलाई आग्रह गरे । ‘नगरपालिका आफैले कति घर धुरी छन्, कति पानी आवश्यक छ भनेर अध्ययन नगरी मुहान दिने ?’उनले भने,‘अवैध समिति खारेज होस्, जनमतको वेवास्ता नगरियोस् ।’ ज्ञापनपत्र बुझ्दै मेयर तारा सुब्बाले विज्ञ समिति गठन भएकोले सरोकारवालाहरुसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताए । साथै उनले निर्माण कार्य तत्काल रोक्न पनि निर्देशन दिएको प्रतिक्रिया दिए । ‘समितिले मुहानको अवस्था हेर्छ, सरोकारवालासँग पनि छलफल गर्छ । हामी न्यायोचित ढंगले निर्णय गछौं,’उनले भने । नयाँ गठित खानेपानी समितिका अध्यक्ष शेरबहादुर राईले भने खानेपानीबाट बञ्चित घरमा पानी उपलब्ध गराउन योजना अघि बढाइएको दाबी गरे । भुमाफियाको आरोप लगाएकोमा आपत्ति जनाउदै उनले भने,‘हामीले खानेपानी पनि नपाउनु ?’
२०७४ भदौ २१ गते मात्र जिल्ला जलस्रोत समितिमा दर्ता भएको पाँचकन्या डुम्रे शिखरबास खानेपानी तथा सरसफाई व्यवस्थापन समितिलाई उपमहानगरपालिकाले २०७१ साल भदौ महिनामा नै जोरधारे मुहानबाट पानी ल्याउन सिफारिश गरेको र सेक्टर वन कार्यालयले पनि २०७१ असोज १२ गते पाइप लाइन विछ्याउन स्वीकृत दिएको छ । पछि पुनः २०७२ पुष ३० गते उपमहानगरपालिकाले खानेपानी योजना सञ्चालन गर्न स्वीकृति माग भएको भन्दै स्वीकृति दिएको पाइएको छ । इटहरीस्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले २०७३ चैत ७ गते गोर्खा वेल्फेयर स्किमलाई लेखेको पत्रमा भने भालुखोला मुहान र निशाने खोलाबाट सञ्चालित आयोजनाहरु जीर्ण भएकोले पुननिर्माणको लागि सिफारिश  गरिएको उल्लेख छ ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे