पुर्नस्थापना केन्द्र बन्द नगर्न द्धन्दपीडितको माग
धरान,पुष १२ । विद्रोहीलाई खाना खुवाएको आरोपमा उदयपुर गाइघाटका भवानीप्रसाद उप्रेतीलाई २०५८ माघ ११ मा राज्य पक्षले पक्रेर लग्यो । उनी ६५ दिन हिरासतमा बस्दा चरम यातना पाए भने खुट्टा पनि भाँचियो ।
लामो समय उपचारविहिन भएका उनी गएको जेठ महिनामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित पुर्नस्थापना केन्द्रमा आएका थिए । सशस्त्र द्धन्दको क्रममा राज्य वा विद्रोही पक्षबाट घाइते वा अंगभंग भएका पीडितहरुलाई निःशुल्क उपचार गराउन नेपाल सरकारले केन्द्र स्थापना गरेको थियो । सशस्त्र द्धन्द अन्त्य भएपछि राज्यले द्धन्दपीडितहरुलाई वेवास्ता गरेको गुनासो बोकिरहेका उप्रेतीले ढिलो भएपनि केन्द्रमा पाएको उपचारबाट खुशी नै थिए । तर, यही पुष १५ गतेदेखि यो केन्द्रबाट सेवा बन्द हुने खबरले भने अहिले उनी चिन्तित बनेका छन् । उपचारको फ्लोअपमा धरान आएका उनी भन्छन्,‘पुर्नस्थापना केन्द्र खोलेर सरकारले पीडितहरुको घाउमा महलम लगायो भन्ने लागेको थियो, तर यो त पुष १५ मा बन्द पो हुने सुन्दैछु । यो बन्द नहोस्, यसको जनतालाई आवश्यकता छ ।’
उप्रेती मात्र होइन, यतिबेला केन्द्रमा उपचार गराएका र निरन्तर फ्लोअपमा रहेका द्धन्दपीडितहरु केन्द्रको सेवा बन्द हुने खबरले असन्तुष्ट छन् । भविष्यमा पनि केन्द्रको सेवा आवश्यक भएको जिकिर गर्दै उनीहरुले सेवा बन्द नगर्न भन्दै हस्ताक्षर अभियान नै चलाए । उनीहरुले बीपी प्रतिष्ठानको व्यवस्थापन, हाडजोर्नी विभागलाई पनि केन्द्रको सेवा निरन्तर हुनुपर्ने माग राखिसकेका छन् । तर, दातृ निकायको सहयोगमा दुई चरण गरी २६ महिनासम्म पीडितहरुलाई निःशुल्क सेवा दिएको केन्द्रको भविष्यबारे विभाग मात्र होइन, प्रतिष्ठान व्यवस्थापनले पनि ठोस निर्णय गर्न सकेको छैन । केन्द्रको भवन निर्माण र सेवा सञ्चालन हुनुअघि दाताको ‘प्रोजेक्ट’ सकिएपछि प्रतिष्ठान आपैmले निरन्तरता दिने समझदारी थियो । केन्द्रको सञ्चालनमा लाग्ने करोडौं खर्च प्रतिष्ठानले व्यवस्थापन गर्न सम्भव छैन । तर, द्धन्दपीडितहरु भने पुर्नस्थापना केन्द्र द्धन्दपीडितलाई मात्र नभई सबैलाई आवश्यक भएकोले नेपाल सरकारले बजेट उपलब्ध गराएर भएपनि निरन्तरता दिनुपर्ने बताउछन् । ‘अझै कति द्धन्दपीडितहरु उपचारबाट बञ्चित होलान्, उपचार पाएकोले पनि फलोअप गर्नुपर्ने हुन्छ । द्धन्दपीडित मात्र होइन, अरुलाई पनि केन्द्रबाट सेवा पाउनुपर्ने छ,’खोटाङ दिक्तेलका रविन्द्रकुमार राईले भने,‘म आएको ६ दिन मात्र भयो, उपचार शुरु नभई केन्द्र बन्द हुन्छ । यतिकै घर फर्कनु ?’
सशस्त्र द्धन्दका क्रममा घाइते वा अंगभंग भएका पीडितहरुलाई पुर्नस्थापना गर्ने बिषय विस्तृत शान्ति सम्झौतामा उल्लेख थियो । तथापी लामो समय यो बिषयले प्राथमिकता पाउन नसक्दा पीडितहरु शारीरिक र मानसिकरुपमा पीडा बोकेर बस्न बाध्य थिए । धरानस्थित प्रतिष्ठानमा दातृ निकायको सहयोगमा शान्ति तथा पुननिर्माण मन्त्रालयको शान्ति कोष सचिवालयले केन्द्रको भवन बनाएर ढिला गरी २०७२ फागुनदेखि मात्र सेवा सञ्चालनमा ल्याएको थियो । यो केन्द्रमा पुर्वाञ्चलका १६ जिल्लाका द्धन्दपीडितहरुलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने लक्ष्य राखिएको थियो । पाँचै विकास क्षेत्रमा केन्द्र स्थापना गर्ने भनिएपनि पुर्वाञ्चलमा मात्र भवन बनेर केन्द्र व्यवस्थितरुपमा सञ्चालन आएको हो । केन्द्रले घाइते वा अंगभंग भएका द्धन्दपीडितहरुलाई बिशेषज्ञ सेवासहितको उपचार, बाटो खर्च र खाना पनि निःशुल्क उपलब्ध गराएको छ । दाताको सहयोगमा पहिलो चरणमा १९ महिनासम्म चलेको केन्द्रको सेवा थप ७ महिना विस्तार भएको थियो । त्यो समय पनि पुष १५ गते सकिदैछ । त्यसपछि केन्द्र सञ्चालनमा आउने कि नआउने ? वा निरन्तर फ्लोअपमा आउनुपर्ने पीडितहरुले उपचार सेवा कहाँ पाउने ? यही अन्यौलताले द्धन्द पीडितहरु चिन्तित छन् ।

...............................................................
चिकित्सक भन्छन्, ‘केन्द्रको सेवा आवश्यक छ ’


Comments
Post a Comment