प्रदेश १ मुख्यमन्त्रीमा भीम आचार्य कि शेरधन राई ?

धरान,मंसिर २७ । मंसिर १० र २१ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतपरिणामको अन्तिम नतिजा धमाधम आउदै गर्दा बाम गठबन्धनले स्पष्ट बहमत पाउने देखिएपछि अब प्रदेशको मुख्यमन्त्री को होला भन्ने सर्वत्र चासो हुन थालेको छ ।
हालसम्मको मतपरिणामले २ नम्बर प्रदेशबाहेक अन्य ६ वटा प्रदेशमा बाम गठबन्धनको बहमुत आउने निश्चित भइसकेको छ । ती मध्ये ५ नम्बर प्रदेशमा एमाले स्थायी कमिटि सदस्य शंकर पोखरेलको चुनाव अघि नै मुख्य मन्त्री बन्ने लगभग निश्चित भइसकेको थियो । जित पछि उनी मुख्यमन्त्रीको तयारीमा छन् भने अन्य प्रदेशको मुख्यमन्त्री को होलान् भनेर आम मतदाता र नेताहरुमा पनि चासो छ । पुर्वको १४ जिल्ला समेटिएको प्रदेश नं १ मा पनि बाम गठबन्धनको बहुमत आएपछि मतदाताहरुमा मुख्यमन्त्री को बन्लान् भन्ने अत्यधिक चासो बढेको छ भने प्रदेशसभामा जित हासिल गरेका प्रभावशाली नेताहरुले मुख्यमन्त्री बन्ने दौड शुरु गरिसकेका छन् ।
प्रदेश नं १ को मुख्यमन्त्रीमा एमाले सचिव तथा प्रदेश नं १ संयोजक भीम आचार्य र एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य तथा प्रदेश सहसंयोजक शेरधन राईको नाम सर्वाधिक चर्चामा छ । गृहजिल्ला सुनसरी भएका आचार्य पुर्व सँस्कृति तथा पर्यटन मन्त्री हुन् भने भोजपुर गृहजिल्ला भएका राई पनि सुचना तथा सञ्चारमन्त्री भइसकेका छन् । दुवैले आआफ्नो क्षेत्रबाट प्रदेशसभा निर्वाचनमा जित हासिल गरेका छन् । आचार्यले सुनसरी निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा ख बाट चुनाव जितेका छन् भने राईले भोजपुर निर्वाचन क्षेत्र १ प्रदेशसभा ख बाट चुनाव जितेका छन् । यद्यपी, आचार्यले औपचारिकरुपमा मुख्यमन्त्रीको दाबी गरेको अभिव्यक्ति दिएका छैनन् । तर, राईले भने चुनाव अघिदेखि नै सञ्चारमाध्यमबाट आफुलाई मुख्यमन्त्रीको दाबेबारकोरुपमा प्रस्तुत गरिसकेका छन् । उनका समर्थकहरुले पनि समाजिक सञ्जालमा मुख्यमन्त्री बनाउनुपर्ने माग उठाइरहेका छन् ।
बाम गठबन्धनमा भएको माओवादी केन्द्रले पनि प्रदेशको मुख्यमन्त्री एमालेबाटै हुने स्पष्ट पारिसकेको छ । प्रदेशसभा सदस्यमा एमालेको बढी उम्मेदवारको जितले पनि मुख्यमन्त्रीमा माओवादी केन्द्रको दाबी छैन । माओवादीका पोलिटब्युरो सदस्य मुक्साहाङ मेन्याङबो आफ्नो पार्टीमा मुख्यमन्त्रीबारे छलफल नचलेको बताउछन् । बाम तालमेल गर्दा नै प्रदेश १ मा एमालेको मुख्यमन्त्री भन्ने आन्तरिक सहमति भएको उनले प्रष्ट्याए । ‘तालमेल गर्दा नै एमालेको मुख्यमन्त्री भन्ने हो, मतपरिणामले पनि त्यही देखायो । त्यसैले हाम्रोमा को मुख्यमन्त्री भन्ने छलफल चलेको छैन, एमालेमा चलिराखेको छ,’उनले भने,‘अहिले पार्टी एकता भएको छैन, त्यसैले को बन्ने भनेर धारणा राख्नु उचित हुदैन । हाम्रोबाट प्रदेश सरकारमा सहभागीता रहन्छ ।’
एमाले सचिव आचार्यले मुख्यमन्त्रीको बिषयमा बोल्न चाहेनन् । समय आएपछि आफै स्पष्ट हुने आचार्यको भनाई छ । ‘समय आएपछि आफै स्पष्ट हुन्छ, अहिल्यै किन बोल्नु पर्यो ?’आचार्यका एक सहयोगीले उनको भनाई उदृत गर्दै भने । आचार्यले मुख्यमन्त्रीको आकांक्षाबारे बोल्न नचाहेपछि चुनाव अघिदेखि नै उनको चर्चा छ । सुनसरीबाट २ पटक संविधानसभा निर्वाचनमा जित पाएर मन्त्री बनिसकेका केन्द्रीय नेता मुख्यमन्त्रीकै लागि प्रदेशसभामा उम्मेदवार बनेको आँकलन छ । मंसिर १८ गते धरानको भानुचोकमा आयोजित बाम गठबन्धनको अन्तिम चुनावी आमसभामा पनि अर्का एमाले सचिव योगेश भटराईले आचार्यलाई प्रदेश १ को भावी मुख्यमन्त्रीकोरुपमा सम्बोधन गरेका थिए । पार्टी सचिव र प्रदेश नं १ को संयोजक भएकोले आचार्य मुख्यमन्त्रीको प्रवल दाबेदार हुन् ।
उता, बैकल्पिक पोलिटब्युरो सदस्य राई पार्टी अध्यक्ष केपी ओलीका खास मान्छे भएकोले उनले पनि मुख्यमन्त्रीमा बाजी मार्नसक्ने एमालेका नेताहरु बताउछन् । स्वयम राई पनि आफु मुख्यमन्त्रीको दाबेदार भएको बताउछन् । ‘मुख्यमन्त्रीमा मेरो दाबेदारी हो, प्रदेशसभामा जितेका सबैले दाबी गर्ने अधिकार हो । तर, अन्तिममा हुने त एक जना हो,’राईले मोवाइल सम्पर्कमा भने,‘पार्टीको निर्णय र प्रक्रियाबाट टुंगो लाग्छ ।’ एमालेका एक नेताले नाम नखुलाउने सर्तमा मुख्यमन्त्रीमा आचार्य र राई दुवैको समान सम्भावना रहेको बताए । ती नेता भन्छन्,‘मुख्यमन्त्री भिम आचार्य र शेरधनमध्ये एक हुने हो । वरिष्ठताको हिसाबले भिम कमरेड हुन्छन्, क्लष्टर मिलाउदा कमरेड शेरधन हुन सक्छन् ।’






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे