जलाधार कब्जा गर्ने भुमाफियाको ध्यान खानेपानी मुहानमा

धरान,पुष १२ । सर्दु जलाधार क्षेत्रको सरकारी जग्गा कब्जा गरेर प्लटिङ गरेको भुमाफिया गिरोहले सरकारी निकायसँगको मिलेमतोमा धरानबासीले उपभोग गरिरहेको खानेपानीको स्रोत(मुहान) पनि कब्जा गर्न लागेका छन् । प्लटिङ गरेको जग्गाको भाउ बढाउन र घडेरी बिक्री गरी बस्ती बसाउने योजना अनुसार गिरोहले पाँचकन्या डुम्रे शिखरबास खानेपानी तथा सरसफाई व्यवस्थापन समिति गठन गरी खर्दुको मुहानबाट खानेपानी लैजान लागेका हुन् ।
समितिले जोरधारे खानेपानी मुहान भनेर आयोजना स्वीकृत गराएपनि त्यो मुहान धरानबासीले उपभोग गरिरहेको खर्दु मुहानको मुख्य स्रोतको सिर हो । सर्दुमा खर्दु खोलाको पानी नै आउछ । समितिले त्यो क्षेत्रबाट खानेपानी लगेमा भविष्यमा आफुहरुले पानीको संकट व्यहोर्नुपर्ने भन्दै वडा १३ का बासिन्दाहरुले चर्को विरोध गरिरहेका छन् । उनीहरुले जलाधार क्षेत्रको जग्गा कब्जा गरेका भुमाफियाहरुले नै खर्दुको मुहानमा पनि कब्जा गर्न लागेपनि जनप्रतिनिधिहरु मौन बसेको भन्दै असन्तुष्टी जनाइरहेका छन् । वडाबासीले खर्दु जोरधारे मुहान खानेपानी सरोकार समिति गठन गरेर मुहान संरक्षणको अभियान थालेका छन् । ‘जुन समुहले जालाधारको जग्गा कब्जा गर्यो, छोटीमोरङ डाँडा दलका नेताहरुसँग मिलेर बाँडफाट गर्यो, त्यही समुहले अहिले जनता देखाएर आफ्नो प्लटिङमा पानी पुर्याउने खेल हो,’नाम उल्लेख नगर्ने सर्तमा धरान १३ का एक बासिन्दाले भने,‘प्लटिङमा पनि सबै दलका नेताहरुकै मिलेमतो भएकोले भुमाफियाले पेलेर काम गरिरहेको छ । जनता विरोधमा उठ्दा पनि जनप्रतिनिधिले पनि रोक्न सकेको छैन ।’
खानेपानी संस्थानले हाल सर्दु र खर्दु मुहानको स्रोतबाट सतहगत पानी धरानबासीहरुलाई वितरण गरिरहेको छ । अहिले नयाँ समितिले संस्थानको इन्टेकभन्दा माथिको मुख्य सिरबाट नै पानी लैजान पाइपलाइन विछ्याउने र इनकेट निर्माण गर्ने तयारी गरेको छ । समितिलाई गोर्खा वेल्फेयर स्किमको ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रमले पाइप उपलब्ध गराउने सहमति छ । त्यसबापत समितिले पनि वेल्फेयरलाई १ इञ्ज पाइप खानेपानी उपलब्ध गराउने गोप्य सहमति भएको वडा नं १३ का बासिन्दाहरुले बताएका छन् । ‘यो सबै काम भुमाफियाहरुको हो, डाँडाकाडा प्लटिङ गर्नको लागि खानेपानी लैजाने खेल हो । डुम्रै शिखरबासमा अहिले पनि चौबिसैघण्टा धारामा पानी आउछ, फेरी कहाँको लागि चाहियो ?’समाजसेवी तथा निर्माण व्यावसायी जनसेवक भण्डारीले भने,‘१ इञ्च पानी दिने सहमतिमा वेल्फेयरले पनि पाइप दिने सहमति छ ।’
आफ्नो वडाका बासिन्दाहरुलाई भविष्यमा आइपर्ने संकटप्रति गम्भीर हुन आफुले वडा १३ का अध्यक्षलाई आग्रह गरेपनि जनप्रतिनिधिले चासो नदिएको उनले बताए । भुमाफियाहरुले गुण्डा प्रयोग गरेर विरोधमा उत्रने वडाबासीहरुलाई हातोत्साहित गर्न खोजेको भन्दै आक्रोश पनि पोखे । पुर्ववडाअध्यक्ष हरिहर प्यारा श्रेष्ठले पनि जलाधार घोषणा भइसकेको क्षेत्रबाट जथाभावी संरचना र पाइप विछ्याउदै पानीको मुहान बाड्नु उचित नभएको धारणा राखे । खानेपानी समितिलाई सिफारिश भएको विभिन्न पत्रको ढाचा हेर्दा धेरै ढाटछल गरिएको भन्दै उनले धरानबासीले उपभोग गरिरहेको खर्दु मुहानलाई नै नाम परिवर्तन गरेर जोरधारे बनाइएको पनि श्रेष्ठले बताए । ‘सिफारिशको पत्रहरु हेर्दा पनि धेरै ढाटेर, छलेर काम भएको प्रष्ट छ, यो क्षेत्र जालधार पनि हो । यसरी जथाभावी संरचना बनाउन पानी बाड्न वा लैजान दिन हुदैन,’पुर्वअध्यक्ष श्रेष्ठले भने । पुर्वउपमेयर तथा जनसरोकार मञ्चका संयोजक कृष्णनारायण पलिखेले खर्दु मुहान मात्र नभई भुमाफियाबाट समग्र जलाधार क्षेत्र संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए ।
पाँचकन्या डुम्रे शिखरबास खानेपानी तथा सरसफाई व्यवस्थापन समिति २०७४ भदौ २१ गते मात्र जिल्ला जलस्रोत समितिमा दर्ता भएको छ । तर, यो समितिलाई धरान उपमहानगरपालिकाले २०७१ साल भदौ महिनामा नै जोरधारे मुहानबाट पानी ल्याउन सिफारिश गरेको र सेक्टर वन कार्यालयले पनि २०७१ असोज १२ गते पाइप लाइन विछ्याउन स्वीकृत दिएको पत्र भेटिएको छ । पछि पुनः २०७२ पुष ३० गते उपमहानगरपालिकाले खानेपानी योजना सञ्चालन गर्न स्वीकृति माग भएको भन्दै स्वीकृति दिएको पाइएको छ । तर, इटहरीस्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले २०७३ चैत ७ गते गोर्खा वेल्फेयर स्किमलाई लेखेको पत्रमा भने भालुखोला मुहान र निशाने खोलाबाट सञ्चालित आयोजनाहरु जीर्ण भएकोले पुननिर्माणको लागि सिफारिश  गरिएको उल्लेख छ । यस्तै,  १३ नं वडा कार्यालयले पनि चुङबाङ खोल्सामा पाइपलाइन खन्नको लागि २०७४ भदौ ११ गते सहमति दिएको थियो । ‘यो पत्रहरुले पनि के प्रष्ट हुन्छ भने धेरै ढाटछल गरिएको छ । जनप्रतिनिधिहरु गम्भीर नहुने हो भने वडा १३ का बासिन्दा मात्र होइन, वडा १४ र अन्य वडाका बासिन्दाहरुले पनि भविष्यमा खानेपानीबाट बञ्चित हुनुपर्छ,’ खर्दु जोरधारे मुहान खानेपानी सराकार समितिका सदस्य महेन्द्र प्रधानले भने ।
वडाअध्यक्ष नेत्र काफ्लेले भने २०७१ सालतिर नै सर्वदलीय संयन्त्रले निर्णय गरेर स्वीकृति दिएको भन्दै विवाद देखिएपछि उपमेयरको नेतृत्वमा स्थलगत निरीक्षण गरेर मेयरलाई जानकारी गराएको बताए । उनले विकासको नाममा विनाश गर्न नदिन र वडाबासीलाई मर्कामा पर्ने गरी कुनैपनि काम नगर्नेतर्फ आफु सचेत रहेको जिकिर गरे । 

                                      खानेपानी अभाव हुन्छः संस्थान

भुगिमत र सतहगत स्रोतको पानी संकलन गरेर धरानबासीलाई वितरण गरिरहेको नेपाल खानेपानी संस्थान धरान शाखाले जोरधारे मुहान भन्दै नयाँ खानेपानी समितिलाई उपभोग गर्न दिएमा भविष्यमा स्रोत घट्ने र धरानको वडा १३, १४ क्षेत्रहरुमा खानेपानी प्रयोग गर्नबाट बञ्चित हुने जनाएको छ । संस्थानले गत मंसिर २५ गते धरान उपमहानगरपालिकालाई एक पत्र लेखेर संस्थानलाईसमेत जानकारी नदिई संस्थानले प्रयोग गरिरहेको स्रोत लैजाने कार्यले सिंगो धरानबासी उपभोक्ताहरुलाई प्रत्यक्ष असर पर्ने भन्दै पाइपलाइन विछ्याउने र इनटेक बनाउने कार्य तत्काल रोकेर छलफल गराउन पनि अनुरोध गरेको थियो ।
संस्थान कार्यालय प्रमुख रामकुमार श्रेष्ठले उपमहानगरलाई लेखेको पत्रमा भनिएको छ,‘जोरधारे मुहान भन्ने खानेपानीको स्रोत भनेको नै खर्दु मुहानको मुख्य श्रोतको सिर भएको हुदा उक्त खानेपानी लैजान लागेको यस संस्थानको निरिक्षणबाट पनि देखिन आएको हुदा यसरी समुह, समुह मिलि खानेपानीको मुहानबाट पानी लैजाने हो भने भोलीका दिनमा श्रोत घट्दै जाने हुदा उक्त श्रोतबाट धरान १३ र १४ क्षेत्रहरुमा खानेपानी प्रयोग गर्नबाट आवश्यक पनि समस्या हुने देखिन्छ ।’ संस्थानको सतहतग श्रोतको मुख्य मुहान भनेको सर्दु र खर्दु खोला हो । सुख्खा याममा मात्र संस्थानले यी श्रोतको पानी अपुग भएपछि जंगलको भुमिगत पानीको श्रोत प्रयोगमा ल्याउने गर्छ । एडिबिको सहयोगमा जारी खानेपानी आयोजनाले पनि यी वडाहरुमा सर्दु र खर्दु मुहानकै पानी वितरण गर्ने गरी डिजाइन गरेको छ ।
            .........................

              प्राविधिक अध्ययन समिति गठन 

खर्दु खानेपानी मुहानको बिषयमा विवाद बढेपछि उपमहानगरपालिकाले मंगलबार ५ सदस्यीय प्राविधिक अध्ययन समिति गठन गरेको छ । उपमहानगरको शहरी पुर्वाधार विकास महाशाखा प्रमुख एवं वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठका अनुसार पुर्वाञ्चल इञ्जिनियरीङ क्याम्पसका प्रोफेसर प्रवेज आलमको संयोजकत्वमा समिति गठन भएको हो । समितिलाई एक साताभित्र रिपोर्ट दिने गरि जिम्मेवारी दिइएको पनि उनले खुलाए ।
समितिको सदस्यमा नरेन्द्र डागी, अलंकार काफ्ले, निर्मलकृष्ण श्रेष्ठ छन् भने सदस्य सचिवमा वन वातावरण तथा विपद व्यवस्थापन महाशाखा प्रमुख भेषराज घिमिरे छन् । प्लटिङको लागि पानी लैजाने लागेको आरोप छ नि भन्ने प्रश्नमा पुर्वाधार विकास महाशाखा प्रमुख श्रेष्ठले भने,‘मेयर ज्युले समिति गठन गर्नभएको हो । पानी कहाँ लाने, के गर्ने भनेर समितिले नै यथार्थ ल्याउछ ।’






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे