सर्दुमा पुल बन्ने पक्का,मन्त्रालयले छुट्यायो ३ करोड बजेट


धरान,मंसिर २८ । साविक विष्णुपादुका गाविस(हाल धरान २०)लाई धरान उपमहानगरसँग जोड्न भञ्याङ जाने बाटो र धरान ११ मा पर्ने सर्दु खोलामा पक्की पुल निर्माण हुने पक्का भएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले डिटेल प्रोजेक्ट रिपोर्ट(डिपिआर) भएअनुसार पुल निर्माण गर्न ३ करोड बजेट बिनियोजन गरेपछि सर्दुमा पुल बन्ने निश्चित भएको हो । मन्त्रालयले डोलिडार विभागअन्र्तगतको स्थानीय सडक पुल कार्यक्रम(एल.आर.बि.पि.)बाट पुल बनाउने निर्णय गरेको धरान उपमहानगरका शहरी पुर्वाधार विकास महाशाखा प्रमुख एवं वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले जानकारी दिए । ‘डोलिडार विभागबाट नै यो पुल बनाउने मन्त्रालयले निर्णय गरेको खबर पाएका छौं,’श्रेष्ठले भने,‘यो पुल क्रमागतरुपमा बन्छ, यो बर्ष ३ करोड बजेट छुटिएको छ ।’ मन्त्रालयले बजेट विनियोजन गरेपछि अब टेण्डर प्रक्रियाबाट पुल निर्माणको कार्य अघि बढ्नेछ ।
विष्णुपादुकाबासीहरुले विगत ३ दशकअघिदेखि सर्दुमा पुलको माग गर्दै आएका थिए । सर्दुमा पुल नहुदा बर्खायाममा धेरै सास्ती खेपिरहेका विष्णुपादुकाबासीहरु पनि पुल बन्ने खबरले औधी खुशी छन् । ‘पुल बन्ने खबरले ज्यादै खुशी लागेको छ । सर्दुमा पुल बन्यो भने विष्णुपादुकालाई मात्र होइन, धनकुटाले आहाले, बराहक्षेत्रबासीहरुलाई पनि राहत पुग्छ,’विष्णुपादुकाको भालढुंगा माविका शिक्षक ओम सुच्चा राईले भने । विष्णुपादुकालाई धरानसँग जोड्न मंगलबारे हुदै जाने बाटोमा पर्ने सर्दु खोलामाथि पक्की पुल बनाउन हरेक निर्वाचनमा विष्णुपादुकाबासीले उम्मेदवारहरुसँग माग गर्थे । तर, उनीहरुको माग कहिल्यै साकार हुन सकेको थिएन । गएको स्थानीय निर्वाचन र प्रदेश, प्रतिनिधिसभा निर्वाचनको बेला पनि स्थानीयहरुले यही माग दोहोर्याएका थिए ।
गत बर्ष २०७३ को फागुनमा स्थानीय विकास मन्त्रालयको डोलिडार विभागअन्र्तगतको स्थानीय सडक पुल कार्यक्रम(एल.आर.बि.पि.)ले सर्दुमा पुल बनाउन डिपिआर तयार गरेको थियो । उक्त डिपिआर अनुसार कुल १० करोड २६ लाख ५८ हजार ८ सय १४ बराबरको लागत स्टिमेट थियो । साथै, १ सय २१ मिटर लम्बाई र ११ मिटर चौडाईको डिपिआर थियो । यो पुलको आयु ८० देखि १ सय बर्षको हुने भनिएको छ । ‘डोलिडारलाई स्विस सरकारको प्राविधिक सहयोग छ, डिपिआर पछि स्वीस टोली आएको थियो । त्यो टिमले लोकेशन केही परिवर्तन गरेकोले त्यतिबेलाको लागतमा फेरवदल भएको हुनसक्छ,’ धरान उपमहानगरका इञ्जिनियर अरुणभक्त लवटले भने ।
विष्णुपादुका धरानमा गाभिनु अघि २०४६ सालको परिवर्तन भएदेखि नै स्थानीय जनताले सर्दुमा पक्की पुलको माग गरेका थिए । तर, केन्द्रमा राजनैतिक तथा प्रशासनिक पहुच नहुदा स्थानीयको आवाज राज्यले सुनवाई गरेको थिएन । साविक विष्णुपादुका गाविस धरान उपमहानगरपालिका भइसके पनि सर्दु खोलाको कारणले भौगोलिकरुपमा धरानमा समाहित हुन सकेको छैन । सर्दुमा पुल नहुदा भौतिक र भावनात्मकरुपमा पनि धरान र विष्णुपादुकाबीच दुरी कायमै छ । कृर्षि उत्पादनको बिक्री, खाद्यान्न किनमेल, उपचार, शिक्षालगायतमा धरानमा निर्भर विष्णुपादुकाको बर्षायाममा भने सम्बन्ध टुट्ने गर्छ । अत्यावश्यक कामको लागि विष्णुपादुका क्षेत्रका सर्वसाधारणहरु जोखिम मोलेरै सर्दु खोला तर्नुपर्छ । विष्णुपादुका कृर्षिको उर्बर भुमि हो । त्यहाँको कृर्षिजन्य उत्पादनको प्रमुख बजार धरान हो । हरेक मंगलबार र शुक्रबार धरान ११ स्थित मंगलबारे चोकमा बजार(हटिया) लाग्छ । तर, बर्खामा बाढी आउदा गाडी चल्दैन । स्थानीयले आफ्ना कृर्षि उत्पादन बिक्री गर्नसमेत पाउदैनन् । धरान ११ बाट विष्णुपादुका हुदै धनकुटाको आहाले जाने बाटो स्थानीयबासीले प्रयोग गर्ने प्रमुख र चल्तीको बाटो हो । यो बाटो हुदै विष्णुपादुका, बराहक्षेत्रका ३ वडा र धनकुटाको आहालेका किसानहरुले आफ्नो नगदेबाली धरान ल्याउने गर्छन् । ‘पुल बन्यो भने विष्णुपादुकाबासीको जीवनमा आमुल परिवर्तन हुन्छ, यो क्षेत्रले आर्थिक फड्को मार्छ,’धरान २०, विष्णुपादुकाका वडाअध्यक्ष मणीराम राईले भने,‘यो सडक धनकुटाको आहाले हुदै तमोर र भोजपुरको दक्षिणी क्षेत्र घोडेटार जोड्ने महत्वपुर्ण बन्छ ।’




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे