फोरम नेता अशोक राई दोब्बर मतान्तरले पराजित

धरान,मंसिर २५ । सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा कांग्रेसको समर्थनमा संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले उम्मेदवारी दर्ता गराएपछि यो निर्वाचन क्षेत्र चर्चाको केन्द्र बनिरह्यो ।
अध्ययनको क्रममा धरान बस्दा भुमिगत राजनीतिमा लागेको र आफैले संगठन गरेर हुर्काएको एमाले गढमा फोरम नेता राईको उम्मेदवारीले बाम गठबन्धनलाई परास्त गर्ने कांग्रेस र समाजवादी फोरमको अपेक्षा थियो । राष्ट्रिय राजनीतिमा परिचित, केन्द्रमा पहुँच भएको, पहिचानवादी नेता भन्दै आदिबासी जनजातिको सघन बसोबास क्षेत्रमा समर्थकहरुले प्रचार गरेका थिए । बाम गठबन्धनका उम्मेदवार जयकुमार राई जिल्ला तहका मात्र नेता भएको र एमालेकै पार्टी उपाध्यक्षसमेत भइसकेकोले तुलना गर्दै कांग्रेस र फोरमले एमालेको मत पनि पाउने आशा गरेको थियो ।
गठबन्धन भएपनि सुनसरी १ मा माओवादीको भागमा एउटा पनि सिट नपाउदाको असन्तुष्टीको कारण नेता राईको जित हुनेमा लोकतान्त्रिक गठबन्धन ढुक्क थियो । कतिसम्म भने पहिलो चरण(मंसिर १०)को चुनाव सकेको खोटाङ, भोजपुर,ओखलढुंगा,पाँचथरलगायत पहाडी जिल्लाका थुप्रै नेताहरु उम्मेदवार बनेको आफ्ना वरिष्ठ नेता राईलाई जिताउन धरान झरेका थिए भने चर्चित गायक राजेश पायल राईले धरानको भानुचोकमा कन्सर्ट गर्दै अशोक राईलाई भोट मागिदिएका थिए । पहाडी जिल्लाबाट आएका नेताहरुले आफ्नो जिल्लाका बासिन्दा, नातेदारहरुलाई भेटेर अशोक राईको पक्षमा भोट मागेका थिए ।
मंसिर २१ गतेको मतदानको सुनसरी १ को अन्तिम मतपरिणाम आइतबार राती करिब साढे १० बजे घोषित हुदा फोरम नेता राई बाम गठबन्धनका साझा उम्मेदवार जयकुमार राईभन्दा दोब्बर बढी मतान्तरले पराजित हुन पुगे । एमालेका जिल्ला नेता एवं बाम उम्मेदवार राईले ४४ हजार ५ सय २८ मत ल्याएर विजयी हुदा एमालेकै पुर्वउपाध्यक्षसमेत रहेका फोरम वरिष्ठ नेता राईले २२ हजार १ सय २३ मत मात्र ल्याए । फोरम नेता राई २२ हजार ४ सय ५ मतान्तरले पराजित भए । जयकुमारको जितले सुनसरी १ कम्युनिष्ट गढ(लाल किल्ला)कोरुपमा निरन्रता मात्र पाएन, यो क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा बढी मतान्तरले विजयी हुने सांसद पनि बने । यो मतान्तर प्रदेश नं १ को झापा क्षेत्र नं ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली पछिको दोस्रो बढी मतान्तर पनि हो । ओलीले कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार २ सय ९७ मतान्तरले पराजित गरेका छन् । सुनसरी १ मा २०६४ सालको पहिलो संविधानसभा निर्वाचनबाहेक सबैमा एमाले विजयी हुदै आएको छ । २०६४ मा एमाओवादी विजयी भएको थियो ।
बाम गठबन्धनबाट विजयी जयकुमार राई भने आफुले अपेक्षा गरेअनुसार नै दोब्बर मतान्तरले जितेको बताउछन् । पार्टीले संविधान निर्माणमा खेलेको महत्वपुर्ण भुमिका र सुनसरी क्षेत्र नं १ मा जितेपछि भएको विकास निर्माणको कामहरुले पनि जनताले रुचाएको उनले बताए । ‘हामीले सधै राम्रो काम गर्दै आएका छौं, र त जनताले फेरी जितायो । हाम्रो संगठन पनि वलियो छ, फेरी बाम गठबन्धन भएपछि जित्छौं भन्ने पक्का थियो,’उनले भने,‘जितेर गएपछि फर्केर आएन भन्ने गुनासो नआउने गरी काम गर्छु । जे गर्छु भनेको छु, त्यो पुरा गर्छु ।’उनले आफ्नो क्षेत्रको विभिन्न खोलामा पुल, सडक सञ्जाल र पक्की सडक, पर्यटन विकास, सुकुम्बासीको उचित व्यवस्थापन, व्यापारिक केन्द्र बनाउने कामलाई प्राथमिकता दिने बताए । भोजपुरको बालाङ्खा(हाल आम्चोक गाउँपालिका)मा जन्मिएका राई स्कुल पढ्दादेखि नै अखिलको राजनीतिमा लागेका थिए । मावि तहको शिक्षा लिन २०४० सालतिर धरान झरेका उनी यहीको स्थायी बासिन्दा भएर राजनीतिमा जमे । उनी विद्यार्थी राजनीतिबाट धरान नगर कमिटिमा उपाध्यक्ष हुदै हाल जिल्ला कमिटि सदस्य एवं धरान उपमहानगर कमिटि सहइञ्चार्ज छन् ।
बाम गठबन्धनका नेताहरुलाई जयकुमारको जित स्वभाविक लागेपनि फोरमका नेताहरु भने अपेक्षा विपरीत परिणामले आश्चर्यमा छन् । आफुभन्दा वलियो ठानेर भर परेको नेपाली कांग्रेसको संगठन आधारभुत, जनस्तरमा चलायमान नहुनु र बाम गठबन्धनले इमान्दारिता देखाएको कारण पराजित भएको फोरमका जिल्ला उपाध्यक्ष ताजुब लिम्बू बताउछन् । ‘हामी सांगठनिकरुपमा कमजोर नै हौं, तर कांग्रेसको संगठन ठुलो र राम्रो भएपनि चलायमान रहेनछ,’उनले भने,‘बाम गठबन्धनमा इमान्दारिता देखियो, माओवादीले एमालेलाई भोट हाल्दैन भन्ने हाम्रो अनुमान लगत सावित भयो ।’
........................................................

  मुख्यमन्त्रीका दाबेदार प्रदेशमा विजयी

प्रदेश नं १ को मुख्यमन्त्रीका दाबेदार मानिएका एमालेका सचिव भिम आचार्य सुनसरी क्षेत्र नं १ ख बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन् । बाम गठबन्धनबाट उम्मेदवार बनेका आचार्यले कांग्रेसका बुद्धि कटवाललाई ७ हजार २ सय ४७ मतान्तरले पराजित गरे । आचार्यले २० हजार २ सय ११ मत पाएका थिए भने कटवालले १२ हजार ९ सय ६४ मत पाए । यसअघि दुवै संविधानसभा निर्वाचनमा विजयी बनेका नेता आचार्य मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेश सभामा उठेका हुन् । उनी पार्टी सचिवसँगै एमालेका प्रदेश नं १ संयोजकसमेत छन् ।
यस्तै, सुनसरी क्षेत्र नं १  प्रदेशसभा कमा बाम गठबन्धनका उम्मेदवार प्रदीप भण्डारी विजयी भएका छन् । आचार्यले कांग्रेसका वलियो उम्मेदवार मानिएका किसोर राईलाई ५ हजार ४ सय ७३ मतान्तरले हराए । भण्डारीले १९ हजार २ सय ४३ मत पाए भने राईले १३ हजार ७ सय ७० मत पाएका थिए । लामो समय शिक्षण पेशामा रहेका भण्डारी २ बर्षअघि मात्र अवकाश पाएका थिए । उनी एमालेको नगर सचिव हुदै हाल जिल्ला सचिवालय सदस्य तथा धरान इञ्चार्ज छन् ।
.............................................

धरानमा विजयी जुलुस

सुनसरी क्षेत्र नं १ को प्रतिनिधिसभा र दुवै प्रदेशसभा सदस्यमा जित हासिल गरेपछि सोमबार बाम गठबन्धनले धरानमा विजयी जुलुस गरेको छ ।
मंसिर २१ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सुनसरी १ को तीनै सिटमा बाम गठबन्धनको जित भएको छ । प्रतिनिधिसभामा जयकुमार राई, प्रदेशसभा क मा प्रदिप भण्डारी र ख मा भिम आचार्य विजयी भएका छन् । विजयी जुलुस अघि विजयी उम्मेदवारहरुले धरान १५ स्थित मनमोहन अधिकारीको सालिकमा माल्र्यापण गरेका थिए । त्यसपछि, धरानको छाताचोकबाट ठुलो संख्यामा भेला भएका नेता, कार्यकर्ता एवं शुभेच्छुकहरुसहित विजयी उम्मेदवारहरुको विजयी जुलुस शुरु भएको थियो ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे