होराइजन बास्केटवल च्याम्पियन(फोटोफिचर)

धरान,मंसिर २३ । प्रथम अशोक स्मृति बास्केटवल रनिङ कप २०७४ को उपाधि होराइजन क्लब धरान १७ ले जितेको छ । धरान १८, बीपी प्रतिष्ठानस्थित बास्केटवल कोर्टमा शनिबार भएको फाइनल खेलमा चिरप्रतिद्धन्दी स्ट्याग बास्केटवल क्लब धरान १९ लाई ७०–५८ स्कोरको अन्तरले हराउदै होराइजन प्रतियोगिताको च्याम्पियन बनेको हो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो क्वार्टरमा होराइजन र स्ट्याग दुवै टिमले समान १३–१३ स्कोर गरेको थियो । दोस्रो क्वार्टरमा होराइजनले २५–११ स्कोर गर्दै स्ट्यागलाई पछि पारेको थियो भने तेस्रो क्वार्टरमा स्ट्यागले १९–११ स्कोर गर्दै होराइजनसँग अंकको दुरी कम गरेको थियो । तर, अन्तिम चौथो क्वार्टरमा २१–१५ स्कोरमा स्ट्यागलाई रोक्न सफल भएपछि होराइजनले उपाधि उचाल्यो ।
विजेता होराइजनले नगद ५० हजारसँगै च्याम्पियन ट्रफी र खेलाडीहरुले मेडल, प्रमाणपत्र हात पारे । उपविजेता स्ट्यागले नगद २० हजार र उपविजेता ट्रफीमा चित्त बुझायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी होराइजनका हेमन राई घोषित भए । फाइनलमा मात्र ३३ स्कोर गरेका उनले नगद १० हजारसहित ट्रफी थापे । यस्तै, फाइनल खेलमा टिमको लागि १५ स्कोर गरेका स्ट्यागका सुमित राईले फाइनलको म्यान अफ दि म्याच हुदै नगद ३ हजार र ट्रफी थापे । यस्तै, उदयीमान खेलाडी पनि घोषित हुदै उनले एउटा वल पाए भने थ्री पोइन्ट विजेता हुदै स्ट्यागका साजन राईले नगद २ हजार पुरस्कार पाए ।
विजेता, उपविजेता टिमका खेलाडी तथा पुरस्कृत खेलाडीहरुलाई स्वर्गिय अशोक बास्फोरकी श्रीमति इन्द्रवती बास्फोर, प्रमुख अतिथि एवं धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदी, बिशेष अतिथि एवं नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिम राई ज्वाला, बीपी प्रतिष्ठानका एशोसिएट प्रोफेसर डा.प्रकाश पराजुलीलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता बीपी प्रतिष्ठानभित्र बसोबास गरिरहेका युवाहरुले स्थापना गरेको डायनामिक युथ क्लबले आयोजना गरेको हो । पुर्व फुटबल खेलाडी अशोक बास्फोरको स्मृतिमा उनको परिवारजनको सहयोगमा राजधानी बाहिर पहिलो पटक होम एन अवेको आधारमा प्रतियोगिता भएको हो । अशोक बास्फोर बास्केटवल खेलाडी रवि बास्फोरका बुबा हुन् । गत कार्तिक २८ गतेदेखि शुरु भएको प्रतियोगितामा जिल्लाको १० वटा क्लबहरुले सहभागिता जनाएको थियो ।















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे