बाम गठबन्धनका नेताहरुले भने,‘कांग्रेसलाई देशैबाट विदा गछौं’(फोटोफिचर)

धरान,मंसिर १८ । मंसिर २१ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै सुनसरी क्षेत्र नं १ मा संयुक्त बाम गठबन्धनले अन्तिम चुनावी सभा गर्दै सोमबार धरानमा आफ्नो शक्ति प्रर्दशन गरेको छ । विशाल जनप्रर्दशनसहित आयोजित आमसभाका वक्ताहरुले बाम गठबन्धनप्रति देशैभर जनलहर आएको बताउदै देशबाटै शेरबहादुर देउवा नेतृत्वको पार्टी नेपाली कांग्रेस विदा हुने दाबी गरे ।
आम सभाका प्रमुख अतिथि रहेका एमाले पार्टी सचिव एवं सुनसरी क्षेत्र १ प्रदेशसभा ख का उम्मेदवार भिम आचार्यले देउवा नेतृत्वको कांग्रेसले लोकतन्त्र, राष्ट्रिय स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्न नसक्ने भएकोले जनताले बाम गठबन्धनलाई अत्यधिक बहुमत दिलाएर विजयी गराउने बताए । विगतमा कांग्रेसलाई जनताले बहुमत दिदा देउवा प्रधानमन्त्री हुदा नै २०५९ सालमा प्रजातन्त्र राजा ज्ञानेन्द्रलाई बुझाएको स्मरण गराउदै नेता आचार्यले अहिले बामपन्थीहरु मिल्दा लोकतन्त्र खतरामा पर्यो भन्दै देउवा कराउनुको कुनै औचित्य नभएको बताए । ‘देउवाले नै बहुदलीय प्रजातन्त्र ज्ञानेन्द्रको पाउमा चढाएको होइन ? अब पनि गणतन्त्र, धर्मनिरपेक्ष, समावेशिता र मौलिक अधिकारहरुलाई कुनै पनि क्षण उनले कुनै शक्तिको सामु झुकाउन सक्छन्, कुनै विदेशी सामु वा कुनै तन्त्र बिउताएर नेपाली जनताको शिर माथि डण्डा बर्साउनसक्छ,’आचार्यले भने,‘त्यसैले पहिलो चरणको निर्वाचनमा ९० प्रतिशत सिटमा बाम गठबन्धनको अग्रता छ, मत गन्न मात्र बाँकी छ । २१ गतेको चुनावबाट पनि हामी दुई तिहाईले जित्छौं, र कांग्रेसलाई विदा गछांै ।’
सबैको भावना, पहिचानलाई समेटेर समावेशी, नेपालमा उन्नत र लोकतान्त्रिक संविधान ल्याएको जिकिर गर्दै उनले नेपालीको एजेण्डा भए थप संशोधन गर्न एमाले तयार भएपनि कुनै विदेशीको भारी बोकेर आएको दलको दबाब र धम्कीको भरमा संशोधन नगर्ने पनि प्रष्ट पारे । संशोधनको नाममा हिमाल, पहाड र तराईलाई अलग गरेर जनताको सुमधुर सम्बन्धमा खलल पुर्याउन खोजेको भन्दै उनले आलोचना पनि गरे । ‘अबको मुख्य कार्यभार भनेको विकास र समृद्धिको अभियान हो, राजनीतिक स्थिरता हो । यसको लागि ठिक नेतृत्व चयन र बहुमतको सरकार आवश्यक छ,’उनले भने,‘यो सब देउवा नेतृत्वको कांग्रेसबाट सम्भव छैन, बाम गठबन्धनबाट मात्र सम्भव छ ।’
सोही सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य मुक्साहाङ मेन्याङ्बोले पनि यो निर्वाचनबाट कांग्रेस १५ सिटमा खुम्चने दाबी गर्दै सदाको लागि कांग्रेस विदा हुने बताए । देश र जनताको लागि कांग्रेस आवश्यक नभएको जिकिर गदै उनले भने,‘नेपाली जनताले शक्तिशाली कम्युनिष्ट पार्टी खोजेका छन् । राजतन्त्रलाई विदा गरेर नागार्जुनमा पुरयायांै, अब कांग्रेसलाई पनि त्यसरी नै जनतको मत लिएर विदा गछौं ।’
ज्नताले बाम गठबन्धनलाई दुई तिहाई बहुमत दिएपछि प्रदेश र केन्द्रमा सरकार बनेर ५ बर्षभित्र भ्रष्टचार अन्त्य गर्ने, आर्थिक सामाजिक विकासबाट देश र जनता समृद्ध बनाएपछि अर्को चुनावमा कांग्रेसले कही कतै पनि उम्मेदवार नपाउने बताए । सुनसरी १ मा प्रतिनिधिसभामा कांग्रेसले उम्मेदवार नउठाएको प्रसंग झिक्दै उनले भने,‘यो पटक प्रतिनिधिसभामा मात्र उम्मेदवार पाएन, अर्को पटक प्रदेशसभामा पनि पाउदैन, कही कतै पाउनेछैन र काग्रेस स्वत विदा भएर जान्छ ।’ समाजवादी लोकतन्त्र स्थापना गरेर बाम गठबन्धनले जनताको चाहनाअनुसार देशलाई समृद्ध बनाउने उनले बताए ।
एमालेका केन्द्रीय सचिव योगेश भटराईले पनि २ ठुला कम्युनिष्ट पार्टी मिल्दा प्रतिक्रियावादीहरुको सपना चकनाचुर भएको उल्लेख गर्दै कुनै पनि विदेशी शक्तिको सामु नझुक्ने बामपन्थीहरुको स्थिर सरकार बनाउने बताए । बर्षेनी प्रधानमन्त्री फेरिएर भारत भ्रमणमा जाने प्रवृत्तिको अन्त्य गर्ने उद्घोष गर्दे नेता भटराईले भने,‘मोदी जी, अब ५ बर्षमा १ पटक मात्र नेपालको प्रधानमन्त्रीलाई स्वागत गर्न पाउनेछौं, तिम्रा फुलमाला धेरै बिक्नेछैन, ५ बर्षसम्म स्थिर सरकार बन्नेछ ।’ नेपाल सधै दक्षिणतिर ढल्किएको भन्दै उनले अब उत्तर दक्षिण कतै पनि नढल्कीने र नझुक्ने स्वधिन, स्वतन्त्र राष्ट्र बामपन्थीहरुले बनाउने पनि नेता भटराईले बताए । आफु उम्मेदवारहरुलाई जितको लागि ताप्लेजुङबाट पाथीभारा माताको आर्शिवाद लिएर आएको भन्दै भीम आचार्यलाई मुख्यमन्त्रीकोरुपमा उनले प्रस्तुत गरेका थिए ।
सुनसरी १ का प्रतिनिधि सभा उम्मेदवार जयकुमार राईले नेपाली जनतालाई गरिबि, पछौटेपनबाट मुक्ति दिलाउन नै बाम गठबन्धन भएको बताए । नेपाली जनताको संविधान जलाउनेहरु, भारतले नाकाबन्दी लगाएर जनतालाई पीडा दिइरहेको बेला नाकाबन्दी छैन भन्नेहरु भोट माग्न आएको भन्दै जनता पेट्रोल, डिजेल, ग्यास नपाएर छटपटिरहदा खुशी हुने कांग्रेस र फोरमका उम्मेदवारलाई भोट नदिन मतदातासँग आग्रह गरे । धरानसँगै सुनसरी १ को विकासको योजनाहरु बामपन्थीहरुसँग मात्र भएको र विगतमा पनि धेरै विकासका कामहरु गरेकोले पुनः बाम गठबन्धनले जनताको विश्वास पाउने उनको भनाई थियो । प्रदेशसभा क का उम्मेदवार प्रदिप भण्डारीले पनि संगठन निर्माणको क्रममा जनताले कम्युनिष्ट पार्टीहरु धेरै भएको गुनासो गरेको खुलाउदै जनताको चाहनाअनुसार नै देशको विकास, समृद्धिको लागि एउटा कम्युनिष्ट पार्टी भएर आएको बताए ।
लोकतान्त्रिक गठबन्धनसँग विकासको कुनै एजेण्डा नभएको दाबी गर्दै उनले सुनसरी १ लाई शैक्षिक, पर्यटकीय, खेलकुद, स्वास्थ्य, प्रदेशको राजधानी बनाउने बताए । ‘हामी धराने जनताको शिर झुक्ने कुनै काम गर्ने छैनौं, तपाईहरुको मान राख्दै शिर माथि राखेर काम गर्नेछौं,’उनले भने । धरान उपमहानगरका प्रमुख तारा सुब्बाले धरानलाई सुकुम्बासीविहिन नगर बनाउने लक्ष्यका साथ स्थानीय सरकारले घर नम्बर वितरण थालेपनि केही व्यक्तिहरुले झुक्याएको भन्दै भ्रमको खेती गरेकोमा रोष प्रकट गरे । उनले भने,‘स्थानीय सरकारको निर्णय आधिकारिक हो कि झुटको खेती गर्ने व्यक्ति ? सुकुम्बासीहरुलाई अधिकारसम्पन्न बनाउन र अन्य नगरबासी सरह बनाउन हामी अघि बढेका छौं । म स्थानीय सरकार प्रमुखको हैसियतले त्यस्ता गलत कुरामा विश्वास नगर्न आग्रह गर्छु ।’ जनता आवासको नाममा सुकुम्बासी, दलित र निम्न वर्गका जनतालाई कांग्रेसले झुटो आश्वासन बाडेर फारम भरिरहेको भन्दै उनले स्थानीय सरकारको स्वीकृति विना त्यस्ता कार्यक्रम लागु नहुने भएकोले जनतालाई भ्रममा नपर्न आग्रह गरे ।
सभामा माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवार चेतना श्रेङ, उमिता बराईली(रिमा), एमालेबाट समानुपातिक उम्मेदवार सावित्री श्रेष्ठ, श्यामनारायण राजधामीले पनि मन्तव्य राख्दै समानुपातिकतर्पm आस्था अनुसार सुर्य र गोलाकारभित्र हसिया हथौडामा मत दिन आग्रह गरेका थिए । माओवादी केन्द्रका सल्लाहकार हिमालधन राई, निर्वाचन परिचालन मुल कमिटिका माओवादीतर्पmका संयोजक अइन्द्रबिक्रम बेघा, एमालेतर्फका संयोजक प्रकाश राईले पनि मन्तव्य राखेको सभामा नेपाली कांग्रेस, राप्रपा, समाजवादी पार्टी फोरमलगायत विभिन्न पार्टी परित्याग गरेकाहरुलाई एमालेमा स्वागत गरिएको थियो ।
कार्यक्रममा जनसाँस्कृतिक मञ्चका कलाकारहरुले बाम गठबन्धनको गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए भने चर्चित गायिका सत्यकलाई राई, जनगायक किसोर थुलुङले पनि गाएका थिए । सभा शुरु हुनुअघि पब्लिक उच्चमाविको मैदानबाट विशाल र्याली शुरु भएको थियो । हजारौंको संख्यामा शुरु भएको र्यालीको समयमा चतरालाइन, छाताचोकदेखि भानुचोकसम्मको सडकमा मानव सागरले कब्जा जमाएको थियो ।




















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे