श्रमिकको घरमा युवा र सञ्चारकर्मीहरुको श्रमदान

धरान,मंसिर २२ । ऐतिहासिक प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको भोलीपल्ट शुक्रबार बिहानै एक हुल युवायुवतीहरु धरान १७ स्थित रिसोर्ट लाइनमा भेला भए । उनीहरुसँगै धरानका सञ्चारकर्मीहरु पनि मिसिए ।
देशले निर्वाचनको मतपरिणामको ब्यग्र प्रतिक्षा गरिरहदा युवायुवतीहरुको जमघटले पनि रिसोर्टलाइनका स्थानीयबासीहरुलाई थप कौतुहालता जगाएको थियो । युवायुवतीहरुको जमघट किन ? स्थानीयबासीले यो प्रश्न सोध्न नपाउदै बिहान ७ बजे ती २ दुर्जन युवायुवती र सञ्चारकर्मीहरुको टोलीले बाटोमा भएको ढुंगा ओसार्न शुरु गर्यो । खासमा ती युवाहरु युवा संघ नेपाल धरानसम्बद्ध रहेछन् । उनीहरु विगत १७ बर्षदेखि पत्रिका बेचेर परिवार गुजारा गरिरहेका श्रमिक(हकर) ज्ञानबहादुर माझीको घर निर्माणमा श्रमदान गर्न आएका रहेछन् । धरानका सञ्चारकर्मीहरुको पहलमा निम्न आर्थिक अवस्था र शारीरिकरुपमा अशक्त माझीको नयाँ घर निर्माण हुदैछ ।
देशविदेशबाट आर्थिक, भौतिक सहयोग जुटेपछि घर निर्माणमा सघाउन युवा संघका सचिव धिरेन लिम्बूको नेतृत्वमा करिब दुई दर्जन युवायुवतीहरु श्रमदान गर्न पुगेका थिए । युवाहरु राजनीतिकरुपमा नेताको पछि मात्र हिड्दैनन्, गरिब दुःखीहरुको घाउमा महलम पनि लागाउछन् भन्ने सन्देश दिन श्रमदान गरिएको सचिव लिम्बूको भनाई छ । ‘माझी दाईको आर्थिक अवस्था कमजोर रहेछ, शारीरिकरुपमा पनि अशक्त रहेको पत्रपत्रिकाहरुबाट थाह पायौं, त्यसैले उनको मुहारमा खुशी ल्याउन सहयोग गर्न पुग्यांै,’सचिव लिम्बूले भने,‘हामी युवाहरु कहिल्यै थाक्दैनौं । हिजो बिहिबार दिनभरि चुनावमा खटियौं, आज बिहानै माझी दाईको घर बनाउन आयौं ।’
पत्रिका बेचेर परिवार पालिरहेका माझीको लडेर हात पनि भाचिएको थाह पाएपछि गत तिहारमा पत्रकारहरुको एक टोलीले नयाँ घर बनाउन देउसी खेलेका थिए । उनको दुवै हात र खुट्टा राम्रोसँग चल्दैन । अग्रज पत्रकार जनकऋर्षि राईको नेतृत्वमा माझीको घर बनाउन पत्रकारहरुले देउसी खेलेको बारे सामाजिक सञ्जालबाट जानकारी पाएपछि देशविदेशबाट आर्थिक, भौतिक सहयोग जुटिरहेको छ । ‘एक अशक्त श्रमजिविको घर बनाउन पत्रकार मित्रहरुले सह्रानीय कदम चालिरहनुभएको छ, त्यसमाथि आज युवाहरुले श्रमदान गरेका छन् । यसले समाजमा सकरात्मकताको सञ्चार गराउछ । सबै मिलेर देशको विकास र निर्माण गर्न सकिन्छ,’नेपाल स्वतन्त्र यातयात मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिम राई ज्वालाले भने ।
शुक्रबार युवाहरुले घरको भुई सोलिङ गर्न ढुंगा ओसारेका थिए भने कसैले गैती, झम्पल र बेल्चा लिएर पिलर तथा पार्टेशनको लागि जमिन खनेका थिए । बिहान ७ बजेदेखि शुरु भएको यो क्रम साढे ११ बजेसम्म जारी रह्यो । अब घरको वाल उठाउने, प्लष्टर गर्ने र टिनको छाना लगाउने काम बाँकी रहेको घर निर्माणका पहलकर्ता जनकऋर्षिले बताए । ‘माझी दाईको घर बासको भाटाले बारेको थियो । हामीले देउसी खेलेर जस्ताले बारीदिने सोचेका थियौं, तर इटा, बालुवा, ढुंगा सहयोग जुटेपछि पक्की गाह्रो नै उठ्ने भयो,’उनले भने ।





Comments

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे