एसएसली लेटरग्रेडिङप्रति निजी विद्यालयको असन्तुष्टी

धरान । सरकारले लागु गरेको एसएसली नतिजाको लेटरग्रेडिङ प्रणालीप्रति निजी विद्यालय सञ्चालकहरुले तीब्र असन्तुष्टी जनाएका छन् । सरकारले हुचवाको भरमा लेटर ग्रेडिङ प्रणाली शुरु गरेर विश्वव्यापी मान्यता र अभ्यासको खिल्ली उडाएको उनीहरुको आरोप छ । ‘हामी गुणस्तरीय, परिणाममुखी लेटर ग्रेडिङको पक्षमा छौं, विद्यार्थीले पढे पनि नपढे पनि सबै पास हुने गरी अहिले सरकारले लागु गरेको लेटर ग्रेडिङको पक्षमा छैनांै’–एन प्याब्सन सुनसरीको आठौं जिल्ला सम्मेलनलाई शनिबार धरानमा सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष कर्णबहादुर शाहीले भने–‘विद्यार्थीको ३६५ दिनको गतिविधि, मेहनत हेरेर ग्रेडिङ गर्ने हो, एक दिनको मुल्यांकन गरेर हुदैन ।’
सरकारले लेटर ग्रेडिङ प्रणाली नबुझीनै लागु गरेर दुरुपयोग गरेको उनको आरोप छ । कर्मचारीतन्त्रले हचुवाको भरमा लागु भएको लेटर ग्रेडिङप्रति विद्यार्थी र शिक्षकहरु नै अनभिज्ञ रहेको उनले सुनाए । शिक्षामन्त्रीलाई संस्थागतरुपमा सुझाव दिइसकेको भन्दै अध्यक्ष शाहीले चाडै लेटर ग्रेडिङको भ्रम चिर्न एन प्याब्सनले अभियान चलाउने पनि उद्घोष गरे । ‘लेटर ग्रेडिङको मिसयुज गर्ने काम भएको छ, यसबारे शिक्षामन्त्रीलाई भनिसकेका छौं । अब भ्रम चिर्न अभियान पनि चलाउदैछौं’–शाहीले भने । सरकारले निःशुल्क शिक्षाको रटान लगाएर मुलुकमा काम नलाग्ने जनशक्ति उत्पादन गर्न प्रोत्साहित गरिरहेको उनको भनाई थियो । ‘सरकारले निःशुल्क शिक्षा भनिरहेको छ । निःशुल्क भनेपछि जिम्मेवारी, जवाफदेहीता केही पनि हुदैन । त्यसले काम नलाग्ने जनशक्ति उत्पादन हुन्छ अनि युवा शक्ति र देशको भविष्य कता जान्छ ?’–शाहीले प्रश्न गरे–‘सरकारले सबै आफै गर्छु भनेर हुदैन, सहजीकरण गरिदिनुपर्छ । यो संसारकै ट्रेण्ड हो । निजीमा केयरिङ हुन्छ, टिचर र विद्यार्थीको हार्डवर्क हुन्छ र रिजल्ट राम्रो हुन्छ । त्यसवापत अभिभावकहरुले सेवा शुल्क बुझाउछन् । अबको लगानी, लेटर ग्रेडिङ र शिक्षाको गुणस्तरबारे गम्भीर भएर बहस गर्नुजरुरी छ ।’
एन ब्याप्सनका पुर्वमहासचिव रितराज सापकोटाले विदेशी दातृ निकायको चाहनाले हतारमा सरकारले लेटर ग्रेडिङ प्रणाली लागु गरेको आरोप लगाए । कम्तीमा ६० प्रतिशत आन्तरिक मुल्यांकन गर्ने व्यवस्था भएमात्र ग्रेडिङ हुने भन्दै उनले परीक्षाको नम्बर अनुसार हुने ग्रेडिङ विश्वमा कही नभएको बताए । ‘हामीले त पहिल्यै ग्रेडिङ सिस्टमको अभ्यास गरेकै छौं । विद्यार्थीको आन्तरिक मुल्यांकन ६० प्रतिशत हुनुपर्छ तब मात्रै ग्रेडिङ हुन्छ’–उनले भने–‘अहिले नम्बरमा जाच्ने र यतिदेखि यति आउने यो ग्रेड भनेर स्टाम्फ हान्ने प्रणाली लागु हुदैछ, के यो ग्रेडिङ हो ?’ विद्यार्थीहरुलाई आफ्नो ग्रेडिङ सुधार्न अर्को परीक्षाको व्यवस्था हुनुपर्नेमा पनि उनले जोडदिए । ‘विद्यार्थीलाई अझ राम्रो ग्रेडमा पर्नसक्छु भन्ने लाग्छ भने सुधार्ने मौका दिन अर्को परीक्षाको व्यवस्था गरिदिनुपर्छ । यो संसारकै अभ्यास हो’–उनले थपे ।
...

एन प्याब्सनको नयाँ कार्यसमिति

एन प्याब्सन सुनसरीको आठौं जिल्ला सम्मेलनले गणेश राईको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
धरान ८ स्थित लांघाली वन समुहको हलमा सम्पन्न सम्मेलनले अध्यक्षमा राईलाई पुनः निरन्तरता दिदा उपाध्यक्षमा नारायण सञ्जेल, बलराम बिक्रम शाह र रमेशबहादुर कार्कीलाई चयन गरेको छ । यस्तै, सचिवमा गणेश कोइराला, सहसचिवमा सागर खड्का र गुणराज सुवेदी, कोषाध्यक्षमा प्रभाष राजवंशी, सह कोषाध्यक्षमा विष्णु प्रधान र दुर्गा पौडेल छन् । सदस्यहरुमा वसन्त राई, दिप राना, पेम्बा शेर्पा, सुमन जवेगु, आलोक श्रेष्ठ, चुडामणि घिमिरे, संजय कुमार मेहता, मुकेशकुमार राय, सन्दिप क्षेत्री पृथ्वी राईका मगर, श्यामकुमार यादव, सन्तोष शाह र थरेन्द्रप्रसाद अधिकारी छन् ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे