पर्यटन तथा सँस्कृति मन्त्रीले राजेन्द्र महतोलाई भेटेर स्वास्थ्यलाभको कामना गरे

धरान । सँस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री आनन्दप्रसाद पोख्रेलले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराईरहेका नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।
बुधबार धरान १८ स्थित नेपाल बौद्ध गुम्बा पुर्वाञ्चलको रजत महोत्सवमा सहभागी हुन आएका मन्त्री पोख्रेलले प्रतिष्ठानको पेइङ वार्डको वेड नम्बर ४ मा पुगेर नेता महतोलाई सीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । त्यसक्रममा उनले महतोलाई संवैधानिक प्रक्रियामा आएर नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुन पनि आग्रह गरे । फलफुल बोकेर महतोलाई भेट्न पुगेका मन्त्री पोख्रेलले सञ्चो विसञ्चो सोध्दै शरीरमा भएको चोटसमेत हेरेका थिए । स्वास्थ्यको कारण भन्दै महतोले मन्त्री पोख्रेलसँग दोहोरो संवाद भने गरेनन् ।
‘सञ्चो विसञ्चो सोधे, चाडै निको भएर प्रजातान्त्रिक आन्दोलनमा सरिक हुन आग्रह गरे’–महतोसँगको भेटपछि मन्त्री पोख्रेलले भने–‘लोकतन्त्रको लागि लडेको मान्छे हो उहाँ, हामी एउटै समितिमा पनि रहेर काम गरेका थियौं । संवैधानिक प्रक्रियाको बाटोमा आउनुस् भने ।’ मन्त्री पोख्रेलले नेता महतोलाई दाई भनेर सम्बोधन गरेका थिए । महतोले स्वास्थ्यमा सुधार भइरहेको पनि बताएको मन्त्री पोख्रेलले भने ।
गुम्बाको रजत महोत्सवबाट तेह्रथुम जान हत्तारिएका मन्त्रीलाई स्थानीय नेता, कार्यकर्ताहरुले प्रस्तावित एयरपोर्टको जग्गा अवलोकन गर्न लगेका थिए । जग्गा अवलोकन गरेपछि मन्त्री पोख्रेलले त्यसै पनि ढिलो भइसकेको भन्दै ‘राजेन्द्र महतो दाई’लाई भेट्न जाने इच्छा व्यक्त गरेपछि स्थानीय नेताहरुले प्रतिष्ठान पुर्याएका थिए । गएको शनिबार विराटनगरको जोगवनी नाका ठप्प पार्न धर्नामा बस्दा प्रहरीसँगको झडपमा नेता महतो घाइते भएका थिए । विराटनगरको गोल्डेन अस्पतालमा उपचार गराइरहेका नेता महतो आइतबार मध्यराति एम्बुलेन्समा प्रतिष्ठान आएका थिए ।
......................

 किन अस्पतालमा छन् महतो ?

विराटनगरको गोल्डेन अस्पतालमा उपचार गराईरहेका नेता महतो मध्यराति बीपी प्रतिष्ठान आएपछि सामाजिक सञ्जालहरुमा अनेक टिकाटिप्पणी एवं चर्चा भइरहेको छ । कसै कसैले अस्पतालले डिस्चार्ज दिइसके पनि उनी जर्बजस्ती अस्पतालमा बसेर कार्यकर्ताहरु उकासेर आन्दोलन चर्काउने योजना बनाएको जस्ता टिप्पणी पनि भइरहेको छ । तर महतोको उपचारमा संलग्न चिकित्सक भने महतो आफै घर जान चाहिरहे पनि स्वास्थ्यको कारणले थप उपचार आवश्यक रहेकोले डिस्चार्ज नदिइएको बताउछन् । ‘उहाँ आफै यहाँ बस्न चाहिरहनुभएको छैन, तर सबै कुरा सामान्य नभएसम्म चिकित्सकको निगरानीमा नै उपचार गराउनु उपयुक्त हुन्छ’–महतोको उपचार नेतृत्व गरिरहेका हाडजोर्नी बिशेषज्ञ डाक्टर पशुपति चौधरीले भने–‘उहाँले रिंगटा लागेको कम्प्लेन गरिरहनु भएको छ, टाउकोमा चोट लागेकोले पनि हुनसक्छ । ब्लड प्रेसर र सुगर नियन्त्रणमा आइहालेको छैन, तलमाथि हुदा पनि रिंगटा लागेको हुनसक्छ ।’
चिकित्सक चौधरीका अनुसार प्रेसर र सुगर नियन्त्रणमा ल्याउन फिजिसिजनको सल्लाह वमोजिम महतोले औषधी सेवन गरिरहेका छन् । प्रेसर र सुगर नियन्त्रणमा नआएसम्म अस्पतालमा राख्नुपर्ने उनको भनाई छ । यद्यपी, स्वास्थ्यमा भने खतरा नभएको उनले खुलाए । महतोको टाउकोको छाला(स्काइभ)मा चोट लागेर रगत जमेको भएपनि भित्र ब्रेनमा चोट देखिएको छैन । देब्रे हातको साहिली औला थोरै क्र्याक देखिएको छ भने दाहिने खुट्टाको तीघ्रामा स सानो २ वटा घाउ भएको चिकित्सकको भनाई छ । यस्तै, देब्रे खुट्टामा ४ सेन्टिमिटर जति घाउ छ ।
............................................

महतो बीपी आउनुको कारण

महतो गोल्डेन अस्पतालबाट बीपीमा उपचार गर्न आउनुमा यहाँका पदाधिकारीसँग उनको निकटता हो । प्रतिष्ठानका मुख्य चार पदाधिकारीमध्ये उपकुलपति डाक्टर बीपी दास, अस्पताल निर्देशक डाक्टर अरविन्दकुमार सिन्हा र शिक्षाध्यक्ष डाक्टर बिक्रम श्रेष्ठ महतो स्वास्थ्यमन्त्री हुदा नियुक्त भएका हुन् । सहकुलपति समेत हुने स्वास्थ्यमन्त्रीको सिफारिशमा उपकुलपति नियुक्ती हुन्छ भने उपकुलपतिको सिफारिशमा स्वास्थ्यमन्त्रीले अस्पताल निर्देशक र शिक्षाध्यक्ष नियुक्त हुन्छन् । रजिष्टार मात्रै एमालेका मन्त्री खगराज अधिकारी हुदा नियुक्त भएका हुन् । उपकुलपति दास र अस्पताल निर्देशक सिन्हा महतो निकाट मानिन्छन् ।
प्रतिष्ठानका केही पदाधिकारी मधेश आन्दोलनको पक्षमा रहेको आरोप पनि लाग्दै आउको छ । संविधानसभाबाट संविधान जारी भएको रात प्रतिष्ठानभित्र विद्यार्थी र कर्मचारीहरुले संविधान जलाएका थिए । उक्त घटनाप्रति प्रतिष्ठानले मौन रहेको थियो । मधेश आन्दोलनको क्रममा प्रहरीको गोली लागेर घाइते भएकाहरुलाई उपचारको लागि बीपी प्रतिष्ठान ल्याइएको थियो । त्यति बेला प्रतिष्ठानले उपचाररत घाइतेहरुको निःशुल्क उपचार भइरहेको भन्दै विज्ञप्ती निकालेपछि सामाजिक सञ्जालमा निक्कै आलोचित बनेको थियो । मधेश आन्दोलनका घाइतेहरुलाई सरकारले नै निःशुल्क उपचार गर्ने निर्णय गरिसकेको थियो । यसअघिका विभिन्न आन्दोलनहरुमा घाइते भएकाहरु प्रतिष्ठानमा उपचार गरिए पनि विज्ञप्ती नै निकालेर निःशुल्क उपचारको व्यवस्था गरेको घोषणा गरेको थिएन ।  प्रतिष्ठानका उपकुलपतिकै पहलमा नेता महतोलाई धरान ल्याएको भनिएपनि उपकुलपति बलभद्रप्रसाद दासले भने अस्वीकार गरे । महतो विराटनगरबाट आफै मध्यराती एम्बुलेन्समा प्रतिष्ठान आएकोले भर्ना गरेर उपचार गरेको उनको भनाई थियो ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे