प्रविधि नहुदा हातले सुन्तलाको ग्रेडिङ

धरान । पुर्वी पहाडी जिल्लामा मनग्ये उत्पादन हुने सुन्तलालाई आवश्यक प्रविधि(मेशिन) अभावमा किसान एवं व्यापारीहरुले हातैले ‘ग्रेडिङ’ गर्नबाध्य छन् । मानिसले हातले गरिएको ग्रेडिङ भरपर्दो नहुदा किसान एवं व्यापारीहरुले सुन्तलाबाट लाभ पाउन सकेका छैनन् ।
सुन्तलालाई एकै साइज र गुणस्तरअनुसार छुट्याएर प्याकिङ गर्ने विधिलाई ग्रेडिङ भनिन्छ । अन्य मुलुकमा ग्रेडिङ गर्ने मेशिन उत्पादनस्थलमा नै हुने गरेपनि नेपालमा भने कही छैन । ‘ग्रेडिङ प्याकिङ’ गरिएपछि मात्रै सुन्तलाले राम्रो दाम पाउछ । पुर्वमा सुन्तला उत्पादक किसानहरुलाई ग्रेडिङ प्याकिङ र त्यसबाट हुने फाइदाबारे ज्ञान नहुदा उनीहरु लाभान्वित हुन सकेका छैनन् । किसानहरुले ग्रेडिङ नगरी नै सुन्तला बिक्री गर्दा न्युन मुल्य पाउछन् । ‘किसानहरुलाई ग्रेडिङ प्याकिङ गर्नेबारे थाहै छैन । अनि, किसानले कहाँबाट राम्रो मुल्य पाउनु ?’–धरान १३ स्थित कृर्षि उपज बजारस्थलका अध्यक्ष काजी गिरीले भने–‘राज्यले नीति, कार्यक्रम ल्याएर ग्रेडिङ प्याकिङको व्यवस्था गरिदिनुपर्छ, तबमात्रै किसानलाई फाइदा हुन्छ । अहिले त किसानहरु हामी कसरी मुल्य पाउछौं भन्ने थाहै छैन ।’
व्यापारीहरुका अनुसार किसानको बगानबाट सबै सुन्तला टिपेर ल्याइएको हुन्छ । त्यसलाई धरानस्थित बजारस्थलमा जनशक्ति खटाएर ग्रेडिङ प्याकिङ गरिन्छ । यसले जनशक्ति खर्च र समय बढाउछ । एक जनाले दिनमा १५ क्विन्टलजति ग्रेडिङ गर्न भ्याउने व्यापारी ज्ञानबहादुर बस्नेत बताउछन् । उनका अनुसार मेशिन भइदिए खर्च पनि कम हुने थियो भने समयको पनि वचत हुन्छ । ‘ग्रेडिङ मेशिन अति आवश्यक छ । सानो ठुलो र कुनै बिक्री नै नहुने सुन्तलाको दाना पनि त्यही हुन्छ, ग्रेडिङ नगरी हुदैन’–उनले भने ।
व्यापारीहरुका अनुसार किसानबाट ल्याएको सुन्तला ग्रेडिङ प्याकिङ गरेर छुट्याइसके पछि मात्र बिक्रीको लागि तयार गरिन्छ । ज्यादै सानो दानाहरु जुस उद्योगले खरीद गरेर लैजान्छ भने अन्य ग्रेडिङ गरिएको सुन्तलाको साइज हेरेर कम्तीमा २० रुपैयादेखि सय रुपैया प्रतिकिलोसम्म बिक्री हुन्छ । यसरी ग्रेडिङपछि व्यापारीले सुन्तलाको राम्रो मुल्य पाउछ । तर, किसानहरुले भने लाभ लिनबाट बञ्चित छन् । बजारस्थलमा पनि ग्रेडिङ मेशिन स्थापनाको पहल भएपनि सम्भव भएको छैन ।
गत बर्ष पुष ९ गते तत्कालीन कृर्षिमन्त्री हरि पराजुली बजारस्थलको अवलोकन गर्दा हातले ग्रेडिङ गरेको देख्दा अचम्मित भएका थिए । उनले प्रस्ताव लिएर मन्त्रालय आउन आश्वासन दिएको केही समयपछि राजिनामा दिनुपरेपछि त्यो आश्वासन पनि खेर गयो । ‘मन्त्रीले साथीहरु हो, यत्रो बेर लगाएर के गर्दै हुनुहुन्छ भने । हातले ग्रेडिङ गरे भनेपछि मन्त्री ज्यु छक्क पर्नुभएको थियो’–बजारस्थलका व्यावस्थापक लक्ष्मण भटराईले भने–‘रंग र साइज अनुसार ग्रेडिङ गर्ने मेशिन आइसकेको छ, प्रस्ताव लिएर आउनु, सहयोग गर्छु भनेपनि पछि पदै छोड्नुपर्यो ।’
व्यावस्थापक भटराईका अनुसार ग्रेडिङ गरिएको सुन्तलालाई उपभोक्ताहरुले पनि मुल्य लगाउछन् । त्यसैले ग्रेडिङ गर्नु गुणस्तर कायम गर्ने माध्यम पनि हो । मेशिन नभएकोले हातले ग्रेडिङ गरिदा मेशिनले जस्तो भने हुदैन । धनकुटाको खोकु क्षेत्रमा उत्पादन हुने सुन्तला एसियाकै मिठो(उत्कृष्ट) मानिने भएकोले ग्रेडिङ प्याकिङको व्यावस्था हुनसके विदेश निर्यात गरेर डलरको भाउमा बिक्री गर्न सकिने व्यावस्थापक भटराई बताउछन् । ‘किसानलाई टिप्ने, ग्रेडिङ र प्याकिङ गर्ने तरिका सिकाउनुपर्छ, मेशिन उपलब्ध गराउनुपर्छ’–उनले भने–‘एसियाकै राम्रो खोकुको सुन्तलालाई ब्राण्ड बनाएर युरोप, अमेरिका निर्यात गर्न सकिन्छ । यसले यहाँको किसान, व्यापारीलाई नै फाइदा पुग्छ ।’
.................................................

               नागपुरे सुन्तलाले बजार बिगार्यो

पुर्वी नेपालका उत्पादन हुने सुन्तला करिब ५ बर्षअघिसम्म भारत पनि निर्यात हुन्थ्यो । तर, क्यारिङमा नै प्रतिकिलो १० रुपैया अतिरिक्त भार लाग्ने र अनेक झञ्झट पनि हुन थालेपछि निर्यात ठप्प छ । अचले भारतको नागपुरमा उत्पादन भएको सुन्तलाले तराईको सिमावर्ती शहरहरुमा कब्जा जमाएको छ । सस्तो मुल्यमा पाइने भएकोले स्वदेशी सुन्तलाको बजार तहसनहस बनाइदिएको व्यापारीहरुको गुनासो छ ।
‘मिठो त यताकै सुन्तला हुन्छ, तर उपभोक्ता सस्तो र साइज हेर्छ’–व्यापारी बस्नेतले भने–‘नागपुरे सुन्तलाले बजार बिगारीदिएको छ ।’ व्यापारीहरुका अनुसार सिमावर्ती शहरमा नागपुरे सुन्तला प्रतिकिलो ४० रुपैयामा पाइन्छ । यही फलेको सुन्तला साइजअनुसार अहिले प्रतिकिलो ८० रुपैयासम्म पर्छ । बजारस्थलका अनुसार सबैभन्दा धेरै धनकुटा जिल्लाबाट उत्पादन भएको सुन्तला आउछ ।
...................................................................

                      कोल्डस्टोर नहुदा पनि मर्का

कृर्षिजन्य वस्तु एवं फलफुल कुहिएर नष्ट हुन नदिन कोल्डस्टोर अतिआवश्यक भएपनि बजारस्थलमा नहुदा किसान एवं व्यापारीहरु मर्कामा छन् । माग भन्दा बढी कृर्षिजन्य उत्पादन हुदा किसान तथा व्यापारीले खरीद गरेको सामान कुहिएर खेर जाने गरेको व्यापारीहरु बताउछन् । कोल्डस्टोर भइदिए बजारमा कृर्षिजन्य वस्तुको अभाव हुन नदिन र मुल्यमा स्थिरता कायम गराउन पनि महत्वपुर्ण भुमिका खेल्ने उनीहरुको भनाई छ ।
‘कोल्डस्टोर भयो भने बजारमा धेरै भएको सामान राख्न पाइन्छ र पछि अफ सिजनमा पनि बिक्री गर्न हुन्छ’–व्यापारी ज्ञानबहादुर बस्नेतले भने–‘सुन्तला, नासपति, टमटर, आलुजस्ता कृर्षिजन्य वस्तुलाई कोल्डस्टोर चाहिन्छ ।’ व्यापारीहरुका अनुसार किसानबाट धेरै उत्पादन भएको बस्तु भण्डारण गरी राख्ने र खुद्रा बजारमा आवश्यक पर्ने बित्तिकै बिक्री गर्दा अभाव हुदैन र मुल्य पनि बृद्धि हुदैन । यसले किसान, व्यापारी लाभान्वित हुन्छन् भने आमउपभोक्ताले पनि राहत पाउछन् ।
यहाँ कोल्डस्टोर बनाउन कृर्षि मन्त्रालयअन्र्तगतको कृर्षि व्यावसाय प्रर्वद्धन तथा बजार विकास निर्देशनालय एवं दात्तृ निकायले पनि धेरै अघिदेखि चासो दिएपनि मुर्तरुप लिनसकेको छैन । ठुलो क्षमताको कोल्डस्टोर निर्माणको पहल भइरहदा अहिले भने निर्देशनालयले नमुनाकोरुपमा मात्र २० टन क्षमताको कोल्डस्टोर राख्ने प्रक्रियामा रहेको व्यावस्थापक भटराईले बताए । ‘ठुलो क्षमताको निर्माणलाई सम्भाव्यता जारी राख्ने गरी सानो क्षमताको नमुनाको लागि राखौला भनि निर्णय पठाएका छौं’–उनले भने । ठुलो क्षमताको निर्माण गर्न करिब १२ करोड खर्च लाग्ने र बजारस्थलसँग स्रोत अभाव भएकोले नसकिने उनले बताए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे