सुर्य इष्टर्नमा भुवन च्याम्पियन(फोटोफिचर)

धरान । नेपालका नम्वर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठलाई एक स्ट्रोकले पछि पार्दै भुवन नगरकोटी(उमेश)ले सुर्य नेपाल इष्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । पार ७० को निर्वाणा कन्ट्री क्लबको गल्फ कोर्षमा शुक्रबार ३ अण्डर ६७ को स्कोर खेलेका उनले कुल ४ अण्डर २०६ स्कोरका साथ उपाधि चुमेका हुन् ।
पहिलो दिन एक अण्डर ६९ स्कोर गर्दै उनी तेस्रो स्थानमा थिए भने दोस्रो दिन इभन पार ७० स्कोर खेल्दै उनी तेस्रो स्थानमा थिए । एक स्ट्रोकले पछि परेका शिवराम कुल ३ अण्डर १३८ स्कोरका साथ दोस्रो स्थानमा चित्त बुझाए । नगरकोटीले च्याम्पियन ट्रफीसँगै नगद एक लाख हात पारे । सन् २००१ देखि प्रो टर्न भएका भुवनको खेल जीवनमा यो दोस्रो उपाधि हो । यसअघि उनले गत बर्ष पोखरामा सुर्य नेपाल वेष्टर्न ओपन जितेका थिए ।

तेस्रो दिन सुखद शुरुवात गर्ने क्रमममा फ्रन्ट नाइनमा पहिलो, दोस्रो, पाँचौ, सातौं र आठौं होलमा बर्डी गर्दै स्ट्रोक जोगाए भने तेस्रो, चौथो र नवौ होलमा बुगी खेप्दै २ अण्डर ३३ को कार्ड बनाए । ब्याक नाइन एक अण्डर ३४ खेल्ने क्रममा १४ औं, १६ औं र १८ औं होलमा बर्डी गरे भने ११ औं र १३ औं होलमा बुगी खेपेका थिए । १७ औं होलसम्म भुवन र शिवरामको समान ३ अण्डरको स्कोर थियो । खेलको निर्णय अन्तिम तथा १८ औं होलमा भएको थियो । बंकरमा बसेको वललाई दोस्रो सटमा भुवनले होल नजिक पुर्याए, र एक स्ट्रोक जोगाउदै खेलको अन्त्य गरे भने शिवरामले पार खेलेका थिए । ‘आज छोटो पट मिस गरे, तरपनि धैर्य गरेर राम्रो खेले । अन्तिम होलमा बंकर सट त्यति राम्रो होला भन्ने सोचेकै थिइन्, त्यही सटले नै जितायो’–खुशी हुदै भुवनले भने । सन् ००१ देखि व्यावसायिक खेलाडी बनेका भुवनले करिब ९ बर्ष गल्फ नखेलेको बताए । सन् २०१० बाट उनले गल्फ खेलमा पुनरागमन जनाएका हुन् ।
एक स्ट्रोकले पछि परेका शिवरामले लगातार तेस्रो दिन पनि एक अण्डर ६९ को स्कोर गर्दै कुल ३ अण्डर २०७ स्कोरसँगै दोस्रो भए । उनले नगद ६३ हजारमा चित्त बुझाउनुपर्यो । उनले पहिलो र दोस्रो दिन पनि समान एक अण्डर ६९ स्कोर खेलेका थिए । शुक्रबार पनि उनले एक अण्डर ६९ खेल्ने क्रममा फ्रन्ट नाइनमा दोस्रो, तेस्रो र चौथो होलमा बर्डी गर्दै स्ट्रोक जोगाए पनि पहिलो र नवौ होलमा बुगी खेलेका थिए । यस्तै, ब्याक नाईन इभन पार खेल्ने क्रममा १० औं होलमा स्ट्रोक जोगाए पनि १५ औ होलमा खेर फालेका थिए ।
दोस्रो दिन व्यावसायिक खेलाडीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएका स्थानीय शिवकुमार माझीले कुल २ अण्डर २०८ स्कोरसहित एमेच्योरतर्फको उपाधि जितेका छन् । पहिलो र दोस्रो दिन समान २ अण्डर ६८ को स्कोर गरेका उनले अन्तिम दिन भने २ ओभर ७२ स्कोर खेले । यस्तै, कुल ८ ओभर २१८ स्कोरका साथ स्थानीय शुक्रबहादुर राई एमेच्योरतर्फको उपविजेता बने । उनले पहिलो दिन एक अण्डर ६९, दोस्रो दिन ४ ओभर ७४ र तेस्रो दिन ५ ओभर ७५ स्कोर गरेका थिए ।
प्रतियोगिताका साविक विजेता सञ्जय लामा इभन पार २१० स्कोरका साथ तेस्रो स्थानमा रहे । पहिलो दिन ३ अण्डर ६७ स्कोर खेल्दै शीर्षस्थानमा रहेका उनी दोस्रो दिन ३ ओभर ७३ को खराब प्रर्दशन गर्दै चौथो स्थानमा झरेका थिए । अन्तिम दिन इभन पार ७० स्कोर खेलका उनले तेस्रो पुरस्कार नगद ४५ हजार थापे । स्थानीय गल्फर बलभद्र राई(मणी) कुल ३ ओभर २१३ स्कोरका साथ चौथो हुदै नगद ३८ हजार थापे भने स्थानीय थामबहादुर राई कुल ५ ओभर २१५ स्कोरका साथ पाँचौं हुदै नगद ३३ हजार ५ सय थापे । कुल ६ ओभर २१६ स्कोरका साथ छैटौं स्थानमा रहदै पुुर्ण शर्माले नगद ३० हजार ५ सय, कुल ७ ओभर २१७ स्कोरका साथ सातौ स्थानमा रहदै धनबहादुर थापाले नगद २७ हजार थापे भने कुल १२ ओभर २२२ स्कोर गर्दै आठौं स्थानमा रहेका रामकृष्ण श्रेष्ठले नगद २४ हजार ५ सय हात पारे ।
कुल १३ ओभर २२३ स्कोरका साथ संयुक्तरुपमा नवौ स्थानमा रहेका रमेश अधिकारी र रवि खड्काले जनही २० हजार २ सय ५० रुपैया बाडे । कुल १४ ओभर २२४ स्कोरका साथ संयुक्त ११ औं स्थानमा रहेका रामे मगर र दिनेश प्रजापतिले जनही १६ हजार ५ सय थापे । कुल ५० खेलाडीमध्ये पाँच एमेच्योरसहित २८ खेलाडीहरु अन्तिम दिनको लागि छनौट भएका थिए । तेस्रो दिन २३ व्यावसायिक खेलाडीहरुले पोजिशन अनुसार नगद पुरस्कार पाए । विजेता खेलाडीहरुलाई प्रमुख अतिथि एवं बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा.बिक्रम श्रेष्ठ, नेपाल गल्फ एशोसिएशनका उपाध्यक्ष पुर्णबहादुर राई, जिल्ला गल्फ संघका अध्यक्ष डि.बि.राई, सचिव तिलक राई, सुर्य नेपालका रजत थापा, खेलकुद पत्रकार मञ्चका जिल्ला अध्यक्ष रत्नप्रसाद आचार्यलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताअन्र्तगत शनिबार प्रो एम म्याच हुने आयोजक नेपाल प्रोफेस्नल गल्फर्स एशोसिएशनले जनाएको छ ।














Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे