धरानमा पनि फुटसल शुरु

धरान । फुटबल खेलप्रति स्थानीयको लगावले मिनि ब्राजिलको उपनाम पाएको धरानमा फुटबलको सानो रुप फुटसल पनि भित्रिएको छ । खेल मैदानको अभावसँगै पछिल्लो समय शहरीय युवाहरुमा लोकप्रिय बन्दै गएको फुटसलको सोमबार धरानमा औपचारिक शुरुवात भएको छ ।
धरान १९ स्थित शिवमार्गमा तीन युवाहरुले लगानी गरेर बुढासुब्बा फुटसल शुरु गरेका हुन् । उक्त फुटसलको एक समारोहबीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले उद्घाटन गरेका थिए । दक्षिण अमेरिकाबाट सन् १९३० को दशकमा फुटसल शुरु भएको मानिन्छ । इन्डोर खेलिने यो खेल काठमाण्डौ, पोखरा र पुर्वको विराटनगरमा पनि सञ्चालन भइरहेको थियो । फुटसलमा दुई टिम पाँच पाँच जना खेलाडीको टिम बनाएर खेलिन्छ । बिहान, दिउसो र बेलुकाको सिफ्टमा चल्ने फुटसलमा तोकिएको शुल्क तिरेर दुई टिमले एक एक घण्टा खेल्न पाउनेछ ।
धरानमा युवाहरु मानबहादुर मगर, सन्तोष बिक र दिपक थापा मगरले बुढासुब्बा फुटसल शुरु गरेका हुन् । सञ्चालकहरुका अनुसार ६५ लाख बढी लगानी भएको छ । धरान खेलकुद र खेलाडीहरुको शहर भएकोले फुटसल सञ्चालनमा ल्याएको लगानीकर्तामध्येका दिपक थापा मगरले बताए । फुटसलबाट खेल पर्यटन विकासको सम्भावना पनि रहेको उनले बताए । बिशेष भेट्रानहरुको लागि स्वास्थ्य एवं फिटनेशको लागि फुटसल उपयुक्त भएको सञ्चालकहरुको भनाई छ । फुटसलमा चमेना गृह, चेन्जिङरुम, र ब्याडमिन्टन कोर्टको पनि सुविधा छ ।
........................

खेलकुदलाई जीवनशैली बनाउः सदस्य सचिव

राखेपका सदस्य सचिव केशव विष्टले खेलकुदलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । खेलकुदलाई जीवनशैली बनाउनुपर्ने उनको धारणा थियो । अघिल्लो पुस्तालाई खेलकुदलाई मनोरञ्जनको साधन मात्रै ठानेको उल्लेख गरे । साथै, बीचको पुस्ताले राष्ट्रको गौरव, नैतिकता, पर्यटन र सँस्कृति आदनपदान तथा एकताको प्रतिकको भावना विकास गरेको उनको भनाई थियो । ‘अब यतिले मात्रै पुग्दैन, खेलकुदलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न जरुरी छ । खेलकुद हाम्रो जीवनशैली बन्नुपर्छ । खेलाडीको लक्ष्य पदक जित्नु मात्रै हुनुहुदैन, खेलकुदलाई जीवनशैलीमा ढाल्नुपर्छ’–उनले भने ।
  धरानबासीको खेलप्रतिको सर्मपण र इतिहासलाई नयाँ पुस्ताले नयाँ ढंगबाट निरन्तरता दिएको भन्दै उनले फुटसल सञ्चालकहरुको प्रसंसा पनि गरे । फुटसलले खेलाडी उत्पादनसँगै खेलकुदलाई व्यावसायिकरण गर्न मद्दत पुर्याउने उनको भनाई थियो । फुटसल उद्घाटन अवसरमा आयोजित बुढासुब्बा खुल्ला फुटसल प्रतियोगितासमेत आयोजना गरिएको थियो । सोमबार सम्पन्न फाइनलमा आयोजकले केटिएम सेक्युरिटी टिमलाई टाइब्रेकरमा हराउदै नगद ३० हजार र ट्रफी हात पार्यो भने उपविजेता टिमले नगद १५ हजारमा चित्त बुझायो । खेलाडीहरुलाई सदस्य सचिव विष्ट, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीलगायतले पुरस्कार वितरण गरेका थिए ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे