नयाँ बर्षमा भेडेटार आउनेलाई प्याकेज

धरान । अंग्रेजी नयाँ बर्षमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर पुुर्वको पर्यटकीयस्थल भेडेटारका पर्यटन व्यावसायीहरुले तीन दिने टुर प्याकेज घोषणा गरेका छन् । तीन दिने चौथो भेडेटार फुड फेष्टिवलको तयारीमा जुटेको होटल एशोसिएशन भेडेटारले पहिलो पटक पर्यटकलाई लक्षित गरेर टुर प्याकेज बनाएको हो । बैशाखको भुकम्प, मधेश आन्दोलन र भारतीय नाकाबन्दीले तहसनहस पारेको पर्यटनलाई टुर प्याकेजले उठाउने पर्यटनकर्मीहरुको अपेक्षा छ ।
भेडेटारमा पुष १६ देखि १८ गते(डिसेम्बर ३१ देखि जनवरी २)सम्म फुड फेष्टिवल आयोजना हुदैछ । ‘फेष्टिवलको अवसरमा भेडेटार आउने पर्यटकहरुलाई ३ दिनको प्याकेज तयार गरेका छौं, ट्राभल एजेन्सीसँगको सहकार्यमा इच्छुक पर्यटकहरुलाई ती गन्तव्यहरुमा घुम्ने सुविधा दिनेछांै’–एशोसिएशनका सचिव जितेन्द्र रुम्दालीले भने–‘यो प्याकेजले भेडेटारको पर्यटनलाई थप आयाम थप्ने र पर्यटकहरुको आगमनमा वृद्धि हुने अपेक्षा लिएका छांै ।’ पर्यटन व्यावसायीहरुका अनुसार मधेश आन्दोलनपछि पुर्वको पर्यटन व्यावसाय ९० प्रतिशतले गिरावट छ । भेडेटारलगायत पुर्वको पर्यटकीय गन्तव्यहरुमा सीमावर्ती भारतीय राज्य विहार, वेष्ट वंगाल, सिक्किमलगायतबाट उल्लेख्यरुपमा पर्यटकहरु घुम्न आउथे । मधेश आन्दोलनपछि भारतीय पर्यटकहरुको संख्या ह्वात्तै घटेको छ । अंग्रेजी नयाँ बर्षको अवसरमा ती पर्यटकहरुको आगमन हुने र प्याकेजबाट लाभान्वित हुने एशोसिएशनको भनाई छ ।
टुर प्याकेज अनुसार पहिलो दिन विराटनगर एयरपोर्टदेखि भेडेटारसम्मको एक दिनको प्याकेज छ । चाल्र्स प्वाइन्टस्थित भ्यु टावरबाट हिमाल र तराईको दृष्यावलोकन गर्ने, सिएनएनले घोषणा गरेको उत्कृट गाउँ नाम्जे बजार घुम्ने र मगर जातिको सँस्कृति हुर्रा नाचमा रमाउन सकिन्छ । रातमा होटल, होम स्टे वा क्याम्पिङ गर्ने प्याकेजले समेटेको छ । दोस्रो दिनको प्याकेज भेडेटारदेखि राजारानी बजारसम्मको प्याकेज छ । त्यहाँसम्म पर्यटकको इच्छा अनुससार २ घण्टाको गाडी यात्रा अथवा ५ घण्टाको ट्रेकिङबाट पुग्न सकिन्छ । राजारानीस्थित तालमा बोटिङ र फिसिङको मज्जा हुनेछ भने लिम्बु जातिको सँस्कृति ढोल नाच र धान नाचको मजा लिने व्यवस्था छ भने डाडाबजारस्थित ध्वजे डाँडाबाट सुर्योदयको मनोरम दृष्यावलोकनलाई पनि प्याकेजले समेटेको छ ।
तेस्रो दिनको प्याकेजले भेडेटार फर्केर सागुरीगढी, पाथीभारा मन्दिर, सिम्सुवा झरना, तमोर खोलालगायत गन्तव्यलाई समेटेको छ । ती गन्तव्यहरुमा गाडीबाट २ घण्टा र ट्रेकिङमा ५ घण्टामा घुम्न सकिन्छ । सागुरीगढीबाट तराई र हिमालको दृष्यावलोकन गर्न सकिने, झरनामा क्यानोनिङको मजा लिन सकिने प्याकेजले समेटेको छ भने तमोरमा र्याफ्टिङको मजा पनि पर्यटकले लिनसक्नेछ । साँझमा मगरको हुर्रा, लिम्बुको ढोल नाच र राई जातिको साकेला(चण्डी) नाच हेर्न र नाचेर पर्यटकले आनन्द लिनसक्ने एशोसिएशनका अध्यक्ष लिलाराज लावतीले जानकारी दिए । ‘यी त प्याकेजअन्र्तगतकै सुविधाहरु हुन्, त्यसबाहेक प्याराग्लाइडिङ, साइक्लिङ र हाइकिङको पनि छुट्टै आनन्द पर्यटकहरुले पाउनेछन्’–अध्यक्ष लावतीले भने । उनका अनुसार साइक्लिङको लागि भेडेटार आसपास र धरानसम्मको रुटमा धरानका साइक्लिष्टहरुसँग सहकार्य भएको छ भने भेडेटार बजारबाट सागुरीगढी, पाथीभारा मन्दिर हुदै पुनः फर्कने ५.२ किलोमिटरको हाइकिङ रुट तयार गरिएको छ । ‘भेडेटार आउने पर्यटकहरु एक दिनभन्दा धेरै घुम्ने ठाउँ भएन भन्ने गुनासो गर्थे, अब यो प्याकेजले ३ दिनसम्म भेडेटारमा बस्ने अवस्था बनाउनेछ र यहाँको पर्यटनलाई थप उचाई दिने अपेक्षा लिएका छौं’–लावतीले भने ।
................................................

                                फुड फेष्टिवलमा २० प्रतिशत छुट

अंग्रेजी नयाँ बर्षलाई लक्षित गरेर भेडेटार घुम्न आउने पर्यटकहरुले खाना र बस्नमा २० प्रतिशत छुट पाउने भएका छन् । होटल एशोसिएशन भेडेटारले पुष १६देखि १८ गतेसम्म आयोजना हुने फेष्टिवलमा घुम्न आउने पर्यटकहरुको लागि यो छुटको घोषणा गरेको हो । मंगलबार पत्रकार सम्मेलन गर्दै फेष्टिवल तयारी पुरा भएको जानकारी दिदै एशोसिएशनले आफुसँग आवद्ध होटल तथा लजहरुले २० प्रतिशत छुट दिने निर्णय गरेको जनाएको हो । एशोसिएशनसँग भेडेटारका ४० वटा ठुला तथा मझौला होटल एवं लजहरु आवद्ध छ । ‘यो छुट पेय पदार्थमा भने पाइनेछैन । खानाको परिकार र लजमा भने छुट पाउनेछन्’–अध्यक्ष लावतीले भने ।
फेष्टिवलमा प्रत्येक होटल रहेको घरअघि नै स्टल राखिने र त्यहाँ स्थानीय राई, लिम्बु, मगर र नेवारी जातीय खानाको परिकार उपलब्ध हुने आयोजकले जनाएको छ । साथै, भेडेटारको अग्र्यानिक खेतीबाट उत्पादन भएको तरकारी तथा फलफुलको प्रर्दशनी, हस्तकला, स्थानीय कृर्षि तथा घरेलु उत्पादनको प्रर्दशनी पनि राखिनेछ । मौलिक परम्परागत साँस्कृतिक झाँकी कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारहरुद्धारा साँस्कृृतिक कार्यक्रम प्रस्तुती पनि हुने आयोजकले जनाएको छ । ‘भुकम्प, मधेश आन्दोलन र नाकाबन्दीले पर्यटन व्यावसाय ठप्प छ, तर पनि हामी चुप लागेर बस्न सकेनौं । पर्यटनलाई चलायमान बनाउन फेष्टिवलले मद्दत गर्छ भन्ने विश्वास लिएर आयोजना गर्ने आँट गरेका हौं’–सचिव रुम्दालीले भने ।
एशोसिएशनले यस पटक २० लाख बराबारको आर्थिक कारोबार हुने र १० हजार बढी पर्यटक आउने अपेक्षा लिएको छ । गत बर्ष ३० हजार बढी पर्यटकहरु फेष्टिवलको अवसरमा आएको एशोसिएशनको भनाई छ । फेष्टिवलकै क्रममा जनवरी १ मा किरात इतिहासकार इमानसिं चेम्जोङको ११३ औं जन्मजयन्ती मनाइनेछ । जनवरी २ मा साँस्कृतिक फेशन शो पनि हुनेछ । फेष्टिवलको उद्घाटन भमिसुधार मन्त्री रामकुमार सुब्बाले उद्घाटन गर्नेछन् ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे