बौद्ध गुम्बा पुर्वाञ्चलको रजत जयन्ती एवं तमु ल्होछार सम्पन्न(फोटोफिचर)

धरान । नेपाल बौद्ध गुम्बा पुर्वाञ्चल(धरान १८)को स्थापनाको रजत जयन्ती महोत्सव एवं गुरुङ जातिको चाड ल्होछार बुधबार धरानमा भव्यरुपमा सम्पन्न भएको छ । धरान १८ स्थित गुम्बामा आयोजित कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमसँगै गुम्बा स्थापनामा योगदान पुर्याएका एवं रजत जयन्ती समारोहलाई सहयोग गर्ने बिषेश व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
समारोहका प्रमुख अतिथि नेपाल सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री आनन्दप्रसाद पोख्रेल थिए । आयोजककोतर्फबाट मन्त्री पोख्रेलले सम्मान पत्र प्रदान गरेका थिए । समारोहलाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले बुद्धको जन्म र बुद्धत्व प्राप्त गरेको स्थानबारे भारतीयहरुले धेरै भ्रम सृर्जना गरेकोमा आक्रोश पोख्दै सिदार्थ गौतमले जन्मिएकै बेला बुद्धत्व प्राप्त गरेको नयाँ अवधारणालाई अघिबढाउनुपर्ने बताए । उनले बौद्ध धर्म एवं दर्शनका गुरुहरुले बुद्ध जन्मिएकै बेला बुद्धत्व पाएकोबारे बहस र चर्चा गर्नुपर्ने पनि बताए ।
सिदार्थ गौतम लुम्बिनीमा जन्मिएलगत्तै सात पाइला हिडेर आफु पृथ्वीमा शान्ति र सद्भाव छर्न आएको भनेको हुनाले बुद्धले नेपालमा जन्म र बुद्धत्वसँगै पाएको नयाँ तर्क अघि सारे । ‘म बुद्ध जन्मेको देशका मन्त्री तर भर्खरै भारतमा बुद्धिष्टहरुको सम्मेलनमा जादा बुद्ध भारतमा जन्मेको भनेको सुन्दा पीडा भयो । पछि मैले बुद्ध र बुद्धत्व दुवै नेपालमै जन्मिएको भनिदिए’–मन्त्री पोख्रेलले भने–‘बुद्ध जतिबेला जन्मिए, उनी उठेर सात पाइला हिडे र यो पृथ्वीमा शान्ति, सद्भाव छर्न आएको हु, म फेरि कहिल्यै आउदिन भनेर पुनः आमाको काखमा गएका थिए । बुद्धले जन्मदा नै बुद्धत्व पाएका थिए । पछि गयामा गएर ध्यान गरे, दर्शन बाडे त्यो त उनको क्रियाकलापहरु थिए ।’
मन्त्री पोख्रेलले बुद्धत्वसँगै बुद्धको जन्म नेपालमा भएको थियो भन्ने बुद्धको जन्म र बुद्धत्व प्राप्त गरेकोबारेमा नयाँ अवधारणालाई सम्पुर्ण नेपालीहरुले अघि सार्न पनि आग्रह गरे । यो मान्यतालाई स्थापित गर्न आगामी जेठ ८ गते विश्वभरका बुद्धिष्टहरुलाई लुम्बिनीमा भेला गराउने तयारी भइरहेको पनि उनले खुलाए । ‘बुद्धको जन्ममात्रै नेपालमा होइन, बुद्धत्व पनि यही पाएका हुन् भनेर भन्दैछु, अब बुद्धत्व प्राप्त गरेको स्थानबारे पनि अरु कसैले दावा गर्न पाउदैन, सक्दैन’–उनले भने । आफ्नो अभियानलाई सम्पुर्ण नेपालीहरुले साथ दिन पनि उनले आह्वान गरे ।
नेपालको पर्यटनमा धार्मिक पर्यटनको ठुलो महत्व हुनसक्ने भन्दै उनले त्यसतर्फ पर्यटनकर्मीहरुको ध्यानाकषर्ण हुन आवश्यक रहेको बताए । विश्वभरका एक अरब बौद्धमार्गी, एक अरब हिन्दुधर्मावलम्बीहरुमध्ये एक प्रतिशत मात्रै नेपाल घुम्न आए धेरै लाभ पुग्ने मन्त्री पोख्रेलको भनाई थियो । यसको लागि पुर्वाधार निर्माण जरुरी भएकोमा जोडदिदै उनले सरोकारवाला निकायसँग समन्वय गरिरहेको पनि बताए । ‘नेपाल विश्वकै उत्कृष्ट गन्तव्य हो, पर्यटनको पुर्वाधार भने तयार गर्नुपर्छ । यसको लागि जुटेका छौं’–मन्त्री पोख्रेलले भने ।












Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे