दुई करोडमा सात्विक खाद्य उद्योग



धरान । सात्विक भोजन मात्र ग्रहण गर्ने व्यक्तिहरुलाई लक्षित गरेर धरान १६ मा खाद्य उद्योग स्थापना भएको छ । करिब २ करोड लगातमा सात्विक फुड्स प्रालि स्थापना भएको हो । प्रालिले यसै सातामा उत्पादन शुरु गर्ने लगानीकर्ताहरुले बताएका छन् । प्रालिमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्रआवद्ध स्थानीय ११ जना ब्रम्हकुमारहरुले लगानी गरेका हुन् ।
प्रालिले परीक्षणकोरुपमा नमुना उत्पादन गरिसकेको छ । केहीदिन भित्रै औपचारिकरुपमा उत्पादन गरेर प्रोडक्ट बजारमा पुर्याउने सञ्चालकमध्येका एक विनोद श्रेष्ठले बताए । उनका अनुसार ब्रम्हकुमारी राजयोग अभ्यास गर्ने ब्रह्मकुमार÷ब्रह्मकुमारीहरुलाई लक्षित गरेर प्रालि स्थापना गरिए पनि त्यहाँको उत्पादन सबैको लागि उपभोग्य हुनेछ । राजयोग अभ्यास गर्नेहरु सात्विक अर्थात साकाहारीमा पनि अण्डा, प्याज, लसुनसमेत नचलाउने भएकोले उनीहरुलाई लक्षित गरेर उद्योग स्थापना भएको हो ।
‘साकाहारीमा पनि सात्विक भोजन गर्नेहरुको लागि प्रोडक्ट हुनेछ । अण्डा, प्याज, लसुन केही पनि नमिसाइने भएकोले ब्रतको बेला जो कोहीले पनि यहाँको प्रोडक्ट भोजन गर्न सक्छन्’–श्रेष्ठले भने । प्रालिमा विनोद श्रेष्ठसँगै सुनिल अग्रवाल, केदार थापा, भवानी सुवेदी, सकुराज राई, अशोक अग्रवाल, त्रिलोकचन्द्र अग्रवाल, अमित कर्ण, विक्की अग्रवाल र सुन्दर अग्रवालको लगानी छ । श्रेष्ठका अनुसार राजयोग अभ्यास गर्नेहरु यात्राको क्रममा होटलमा पकाएका खानेकुरा नखाने भएकोले समस्यामा हुन्छन् । उनीहरुकै समस्या हल गर्ने उद्देश्यले प्रालिको अवधारणा जन्मिएका थियो । उनीहरुले उद्योग स्थापना गर्नुअघि पश्चिम वंगालको रायगञ्ज गएर सात्विक बेकरी उद्योगको अध्ययन गरेका थिए, र लगातार ४ महिनाको प्रयासमा उद्योग स्थापना गर्न सफल भएका छन् ।
उद्योगले ४० जना स्थानीयलाई रोजगार दिने पक्का भइसकेको छ । उनीहरुलाई छनौट गरेर प्रालिले हाल राजयोग कोर्ष गराइरहेको छ । उत्पादन शुद्ध र गुणस्तरीय बनाउन सात्विक भोजन मात्र ग्रहण एवं अभ्यास गर्ने सर्तमा कामदारहरु लिइएको सञ्चालकहरुको भनाई छ । ‘हरेक दिन काम गर्नुअघि पनि थोरै समय मुरली सुन्ने, योग गर्ने र मात्रै काममा लाग्ने व्यवस्था हुन्छ । हरेक एक घण्टामा रिफ्रेस गराउन काम रोकेर धुन बजाइन्छ’–श्रेष्ठले भने ।
तीन कट्ठा क्षेत्रमा स्थापना भएको उद्योगले शुरुमा कुकिज, बिस्कुट, टिफिन केक, टोष्ट, बेकरी आइटम उत्पादन गर्नेछ । बजार लिदै गएपछि अन्य प्लान्ट थपेर प्रोडक्टहरु पनि बृद्धि गर्ने सञ्चालकहरुले बताए । हालको प्लान्टबाट एक सिफ्टमा ८ सय कार्टुन उत्पादनको क्षमता छ । शुद्ध एवं गुणस्तरीय उत्पादन गरिने भएकोले ब्रह्मकुमारी राजयोगका अनुयायीसँगै अन्य सर्वसाधारणहरुको पनि चाडै विश्वास जित्ने प्रालिको अपेक्षा छ । पुर्वमा मात्रै ४२ वटा राजयोग केन्द्र छ भने देशभर हजार बढी केन्द्र रहेको अनुमान छ । देशभर राजयोग अभ्यास गर्ने(ब्रह्मकुमार÷ब्रह्मकुमारी)हरुको संख्या एकलाख माथि छ ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे